हिन्दू विवाहित नारीहरूले पति तथा सन्तानको सुख, शान्ति र लामो आयुको कामना गर्दै मनाउने जितिया पर्व आजबाट धार्मिक विधिअनुसार सुरु भएको छ। खासगरी मिथिलाञ्चल क्षेत्रमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमीसम्म मनाइन्छ।
पर्वको पहिलो दिन सप्तमी तिथिमा ‘नहा, खा’ (नुहाएर खानु) विधिबाट पर्व सुरु भएको हो। व्रतालु नारीहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, तेल र सिन्दुर भगवान् जितमाहनको पूजा गरेका छन्।
पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ। जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ पनि भन्ने गरिन्छ।
जितियाको दोस्रो दिन अष्ठमीमा २४ घन्टा लामो निराहार उपवास बसेर भगवान् जितमाहनको कथा सुन्ने गरिन्छ। अन्तिम दिन नवमी तिथिमा पुनः नदी, पोखरी तथा जलाशयमा स्नान गरी घरमा आएर चौका लगाई चिउरा, दही तथा सखरको प्रसाद अर्घ्य दिएर व्रत समाप्त गरिन्छ।
सन्तानको दीर्घजीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक, सांस्कृतिक तथा तान्त्रिक महत्वसमेत रहेको जानकारहरूको भनाइ छ।