महोत्तरीमा भारतीय टाटासुमोको ठक्करबाट दुई जनाको मृत्यु

जनकपुरधाम–महोत्तरीमा भारतीय टाटासुमोले ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको पिपरा गाउँपालिका– ५ बस्ने ६० वर्षीय अकबर राइन र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ बस्ने ६० वर्षीय राजकिशोर यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

जनकपुरतिरबाट मटिहानीतिर गइरहेको बीआर ०६ पीडी ३३३० नंको भारतीय टाटासुमो आइतबार अबेर राति पिपरा–१ स्थित सडकखण्डमा पिपराबाट मटिहानीतिर जाँदै गरेको मधेस प्रदेश ०१ त ३००९ नम्बरको ट्र्याक्टरमा पछाडिबाट नै ठक्कर दिँदा ट्र्याक्टरमा बसेका कामदार अकबरको मृत्यु भएको थियो । ट्र्याक्टरलाई ठक्कर दिएर भाग्दै गरेको टाटासुमोले भाग्ने क्रममाविपरीत दिशाबाट साइकलमा चढेर आउँदै गरेका राजकिशोरलाई ठक्कर दिएपछि उनको पनि मृत्यु भएको थियो ।

टाटासुमोको ठक्करबाट ट्र्याक्टरमा सवार अर्का कामदार पिपरा गापा–५ का ६० वर्षीय झप्सी कवाडी गम्भीर घाइते भई उनको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भइरहेको जनाइएको छ । टाटासुमो पनि भाग्ने क्रममा मटिहानी नपा–४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको थियो । सुमोका चालक फरार रहेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस