सप्तरीमा वन संरक्षणसँगै बोटविरुवा र जडीबुटी उत्पादनमा जोड

राजविराज–डिभिजन वन कार्यालय सप्तरीले वन संरक्षणसँगै बोटविरुवा तथा जडीबुटी उत्पादन र वृक्षारोपणमा जोड दिएको छ ।

कार्यालयले सव डिभिजन वन कार्यालय कञ्चनपुरमा वन नर्सरी स्थापना गरी विविध प्रजातिका बोटविरुवा निःशुल्क उपलब्ध गराइरहेको छ भने चुरेफेदीमा रहेको सुरुङा नगरपालिका–६ स्थित सेतीदेवी सामुदायिक वन, रुपनी गाउँपालिका–६ तेरहौतामा खाँडो खोला नदी उकास जग्गा, कञ्चनरूप नगरपालिका–४ पौडा खोला वन सहितका क्षेत्रमा वृक्षारोपण समेत गरेको छ ।

अतिक्रमित वन क्षेत्र खाली र तारले घेरबार गरी वन क्षेत्रको विकास र संरक्षण कार्यलाई तीव्रता दिइएको  कार्यालय सप्तरीका प्रमुख शुभाषचन्द्र दासले बताए । ‘हामीले पछिल्लो समय विभिन्न प्रजातिका बोटबिरुवा, जडीबुटी विकास, वन व्यवस्थापन, अतिक्रमित वन क्षेत्र खाली गराउने र उद्यम स्थापना लगायतका गतिविधिलाई तीव्रता दिएका छौं’, शनिवार वन क्षेत्रको स्थलगत अनुगमनका लागि पुगेका सञ्चारकर्मीसँग उनले भने, ‘यस क्रममा सामुदायिक वनलाई उत्पादनसँगै जोड्ने एकीकृत योजना तयार गरेर अघि बढेका छौं ।’

चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षरोपण, जीविकोपार्जनका लागि वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखिएको बताउँदै उनले सेतीदेवी सामुदायिक वनमा चालू आर्थिक वर्षमा विभिन्न प्रजातिका करिब ३ लाख बिरुवा रोप्ने लक्ष्य रहेको जानकारी दिए । ‘सो वन क्षेत्रमा ९ हेक्टर अतिक्रमित जग्गा खाली गराई नयाँ वन क्षेत्र कायम गरेका छौं’ उनले भने, ‘अहिले ३३ हेक्टमा विस्तार गरी सो वनमा खयर, मसला, महगनी, अमला, गोल्डमोहर, सालधारी लगायत बिरुवाको उत्पादन भइरहेको छ ।’

सप्तरीमा वन क्षेत्र कम रहेकाले खाली रहेको निजी सार्वजनिक जग्गामा समेत वृक्षारोपण आवश्यक रहेको बताउँदै उनले संरक्षणका लागि अल्पकालीन र दीर्घकालीन कार्यक्रम सञ्चालन नगरे वन तथा वातावरणमा संकट निम्तने खतरा बढ्दै जाने बताए । ‘आर्थिक वर्ष २०८०–८१ को हालसम्मको अवधिमा सेतीदेवी सामुदायिक वनको १० हेक्टर जग्गामा झाँडी सफाइको काम सकिएको र आगो डढेलोबाट वनजंगल जोगाउन सचेतनाका विभिन्न कार्यक्रम सञ्चालनमा रहेको छ’ उनले भने, ‘वन जोगाउन झाडी सफाइका लागि चुरे उत्थानशील आयोजना बर्र्दिदबासबाट प्राप्त बजेटले उपभोक्ता समितिमार्फत २५ देखि २७ हजार रुपैयाँ प्रतिहेक्टरका दरले पारिश्रमिक दिई काम भइरहेको छ ।’

त्यस्तै, तेरहौतामा खाँडो खोला नदीले उकासेको १० हेक्टर जग्गामा विभिन्न प्रजातिका २१ हजार बिरुवा रोपिएको सहायक वन अधिकृत शशिन्द्र यादवले बताए । ‘यसरी रोपिएका बिरुवामा खयर, मसला, जामुन, इपिलिपि, बाँस, तेजपात लगायतका छन्, यसले बाढीको जोखिम न्यूनीकरणमा समेत सहयोग पुर्याउनेछ’ उनले भने, ‘केही जनप्रतिनिधिले राजनीतिक लाभका लागि शक्तिको दुरुपयोग गर्दा वन संरक्षणमा समस्या हुने गरेको छ ।’

यता, सबडिभिजन कार्यालय कञ्चनपुर कार्यालय परिसरमा रहेको वन नर्सरीमा चालू आर्थिक वर्ष २०८०–८१ मा किट, महगनी, गोल्डमोहर, तेजपात, बोतल वर्ष, आँप, लिची, बेल, हर्रोलगायतका ९० हजार बोटबिरुवा खेती गरेर स्थानीयलाई उत्पादन र आम्दानीसँग जोड्ने काम भएको सो कार्यालयका प्रमुख सन्तोष यादवले जानकारी दिए ।

अनुगमन तथा निरिक्षण टोलीमा सहायक वन अधिकृतद्वय सत्यनारायण यादव र बैधनाथ मण्डल, रेन्जर लक्ष्मण साफी, फोरेष्टर पंकज मिश्र, लेखाअधिृकत चन्दन रजकसहित डेढ दर्जनबढी सञ्चारकर्मीको सहभागीता थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780