‘नेपालमै जन्मिए तर ४८ वर्ष हुँदा पनि नेपाली नागरिक बन्न सकिन’

राजविराज, २५ जेठ । ‘छाती पोल्छ हजुर! नेपालमै जन्मिए र हुर्किए तर अझैं नेपाली नागरिक हुन सकेको छैन्, कोरोनाले दैनिक धेरै मानिसले ज्यान गुमाइरहेको कुरा सुन्दा झन मन सानो भइरहेको छ, नेपाली नागरिक हुन नपाउँदै मर्ने हो की ?’ सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ गोविन्दपुरका जिवछ मरिक (डोम) को चिन्ता हो यो । उनी ४८ वर्ष पार गरे तर अझैंसम्म नेपाली नागरिक भएको कुनै प्रमाण पाएको छैन् ।

सानै छँदा घरमा आगलागी भएर हजुरबुवा विहारी मरिकको नागरिक्ता जलेर खडानी भयो । पिता (जिवछको हजुरबुवा) को नागरिक्ता नभएपछि वुबा पुलकितले पनि नागरिक्ता पाउन नसकेको जिवछ बताउँछन् । ‘त्यसपछि नागरिक्ता पाउन बुवाले गाउँका धेरै मालिक (गाउँका अगुवा व्यक्ति)लाई गुहार गर्नुभयो तर कसैले सुनेन, त्यसै पनि डोमको समस्या कसैले बुझ्दैन हजुर’ उनले भने–‘बुवाले नागरिक्ता नपाउँदा आफुले जन्मदर्तासम्म बनाउन पाइन ।’

जन्मदर्ता बनाउन नपाउँदा पढ्न पनि छाडनु परेको उनले दुखेसो गरे । ‘केही दिन विद्यालय पनि गए तर मेरो नाम कहिले बोलाएन, सबैले ‘ए सर’ भन्दा मलाई पनि रहर लाग्थ्यो, त्यसो रहर पनि पुरा भएन । पछि मैले विद्यालय जानै छाडे’ उनले भने–‘अहिले आफुसँग पनि नेपाली नागरिक भएको कुनै पहिचान छैन्, जस कारणले राज्यको कुनै सेवा सुविधा पाउन सकेको छैन भने आफना सन्तान पनि विद्यालय जानबाट वञ्चित नै रहे ।’

घरमूलीको नागरिक्ता प्रमाणपत्र बन्न नसक्दा जिवछकी ४० वर्षीया पत्नी रितादेवीको पनि विवाह दर्ता नै बन्न सकेको छैन । दुवैलाई वर्षौंदेखि यही चिन्ताले पिरोलेको छ । दम्पत्तिकै नागरिक्ता नभएका कारण ८ जना सन्तानसहित वुहारी पनि नागरिक्ता पाउनबाट वञ्चित छन । डोम दम्पत्तिका छोरीहरु २७ वर्षीया रेवती, २५ वर्षीया रन्जु र २४ वर्षीया सन्जु तथा २२ वर्षीय छोरा अधिक मरिक नागरिकता पाउनबाट वञ्चित छन् भने छोरीहरु ८ वर्षीया मन्जु, ४ वर्षीया राधिका र २ वर्षीया इन्दु तथा ३ वर्षीय छोरा निरज जन्म दर्ता प्रमाणपत्रबाट वञ्चित छन् ।

नेपाली भएको मुख्य पहिचान नागरिक्ता प्रमाणपत्र नै नपाएका सो परिवारका सबै सदस्य अहिलेसम्म राज्यबाट पाउनुपर्ने सबै प्रकारका सेवा सुविधाबाट वञ्चित छन् । आफैंले बनाएको ढाकी, छिट्टी, कोनीया, दौरासहितका बाँसबाट तयार गरिएको सामग्रीहरु स्थानीय हाटबजारमा विक्री गरेर जीविको चलाउँदै आएका जिवछ परिवारले नागरिक्ता पाउन थुप्रै सरकारी निकायमा धाएपनि आश्वासनबाहेक केही नपाएको जिवछको दुःखेसो छ ।

जन्मदर्ता नबन्दा जिवछका छोराछोरी विद्यालय जानबाट पनि वञ्चित छन् भने नाति नातिनीले पनि त्यो अवसर नपाएकाले आफुहरुको नैसर्गिक अधिकार दिलाउनमा पहलकालागि जिवछले सवैमा आग्रह गरे । उता, वडा अध्यक्ष दिपेन्द्र प्रसाद यादवले पनि वर्षौदेखि जिवछका परिवार नागरिक्ताको धाउने गरेको बताए । ‘म वडाध्यक्ष भएपछि २०७४ कात्तिक महिनामै जिवछले नागरिक्ता सिफारिसको लागि निवेदन दिएका थिए । उनीहरु पुस्तौदेखि यहीँ बसोबास गरिरहेको कुरा पनि सत्य नै हो तर प्रमाण चैं नभएपछि सिफारिस गर्न सकिन’ उनले भने–‘र सिफारिसले पनि मात्रै हुने कुरा होइन, पछि हामीले सो विषयमा तत्कालीन सिडिओ सुरेन्द्र पौडेल सरसँग पनि सल्लाह गरे । कानून अनुसार जे गर्न सकिन्छ त्यसो गरौंला उहाँले भन्नु भएको पनि थियो’ उनले भने–‘पछि उहाँको सुरुवा भयो र प्रक्रिया अघि बढ्न सकेन, अहिले कोरोनाले त्यसमा ध्यान दिनै सकिएन ।’

तर कोरोना कम भएसँगै जिवछलाई नागरिक्ता दिलाउन आफुले प्रयास गर्ने वडाध्यक्ष यादवले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780