सप्तरीमा ३५ प्रतिशत धान रोपाइ, ५ सयबढी विघामा लगाइएको धान बाली डुबान

Saptari-Agriculture

राजविराज,१७ असार । सप्तरीमा हालसम्म ३५ प्रतिशत धान रोपाई सम्पन्न भएको छ । जेठ महिनादेखि नै नियमित वर्षा भईरहेका कारण किसानहरुले असारको पहिलो सातादेखि नै रोपाई सुरु गरी हालसम्म ३५ प्रतिशत धान रोपाई सम्पन्न भएको हो ।

कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र यादवले विगतका वर्षहरुमा समयमा वर्षा नहुँदा रोपाई ढिलो हुने गरेको तथा रोपाई समेत पूर्ण रुपमा हुन नसक्दा बाँझो खेत रहने गरेकोमा यो वर्ष यस्तो समस्या नरहेको उनले बताए । यसरी नै समयमा वर्षा भईरहे उब्जनी समेत राम्रो हुने कार्यालय प्रमुख यादवको भनाई छ ।

सप्तरी जिल्लामा सिंचित ४० हजार र असिंचित ३० हजार हेक्टर गरी कूल ७० हजार हेक्टर खेती योग्य जग्गा रहेकोमा ५९ हजार २ सय ५७ हेक्टर जग्गामा धान खेती हुँदै आएको छ । नेपालमा कुल धान उत्पादनको ४० प्रतिशत उत्पादन प्रदेश दुईमै हुँदै आएको छ । पछिल्लो वर्ष प्रदेश नम्वर दुईमा १४ लाख २० हजार ४ सय ३६ टन धान उत्पान भएको भूमी व्यवस्था तथा कृषि मन्त्रालय श्रोतले जनाएको छ ।

५ सय बढी विघामा लगाइएको धान बाली डुबानमा
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख राजेन्द्र प्रसाद यादवका अनुसार अविरल वर्षाका कारण सप्तरीको दक्षिणी र पश्चिम भेगका ५ सयभन्दा बढी विघामा लगाइएको धान बाली डुबानमा परेको छ । यादवका अनुसार लगातारको वर्षाले सुन्दरी, महुलीसहितका खोलामा आएको बाढी खेतमा पस्दा हनुमाननगर कंकालिनी नगरपालिकामा ४५० विघाभन्दा बढी जग्गामा लगाइएको धान बाली डुबानमा परेको हो ।

यसैगरी बलान बिहुल नदीको बाढी खेतमा पस्दा बलान बिहुल गाउँपालिकाका करिब ६० बिघा जग्गामा लगाइएको धान बाली डुबानमा परेको उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस