रुपनी गापाका जनप्रतिनिधिको अत्याचारः दलित युवकलाई निर्घात कुटपिट

राजविराज । सप्तरीको रुपनी गाउँपालिकाका जनप्रतिनिधिले एक दलित युवकलाई निर्घात कुटपिट गरेका छन् । वडा नम्बर १ का वडाध्यक्ष पिताम्बर यादवले सोही वडाका २५ वर्षीय परुषोत्तम सदालाई निर्घात कुटपिट गरेका हुन् ।

स्थानीयका अनुसार वडाध्यक्ष यादवले युवकलाई सोमवार पञ्चायतीमा बोलाएका थिए । पञ्चायतीको निर्णय नमानेपछि युवकलाई निर्घात कुटपिट गरेको एक स्थानीयले मधेशलाइभलाई जानकारी दिए ।स्थानीय राजु जयसवालकाअनुसार वडाध्यक्ष यादव सहित ५ जनाले युवकलाई ज्यान मार्ने गरि कुटपिट गरेका हुन् । ‘घटनास्थलसम्म हामी पुग्दा सबै भागेको थियो’ उनले भने–‘त्यसपछि मैले नै प्रहरीमा जानकारी गराए ।’

कुटपिटबाट घाइते भएका युवको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको लागि भर्ना गरिएको छ ।

उता, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद काफ्लेले कुटपिटबारे जानकारी आएको बताए । उनले पीडित पक्षबाट जाहेरी आएसँगै घटनामा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइने बताए ।

वडाध्यक्ष यादवले भने आफुले कसैलाई कुटपिट नगरेको प्रतिक्रिया दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस