तराईका जिल्लाहरुमा आज चौठचन्द्र अर्थात चौरचन पर्व मनाइँदैछ । उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउन लागिएको हो । विशेष महत्व एवम् अपार श्रद्धाकासाथ मनाईने पर्वहरुमध्येको एक हो चौरचन ।
विशेष गरी मधेशका जिल्लाहरुमा हिन्दू धर्मावलम्वीहरुले घरघरमा मनाउने गर्छन् । पर्व गणेश चतुर्थीका दिन साँझ ब्रतालुहरुले आ–आफ्ना घरको आँगन तथा कौशीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्छन् । भगवान गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पुजा गर्न थालिएको धार्मिक जनविश्वास रहँदैआएको छ ।
यस विषयमा कथामा उल्लेख भए अनुसार चन्द्रमालाई आफ्नो सौन्दर्यमाथि धेरै घमण्ड थियो । उनको घमण्डका कारण भगवान गणेशबाट श्रापित भई कलंकित भएको विश्वास गरिन्छ । एकपटक गणेशको सुँड भएको रुप देखेर चन्द्रमा हाँसेर अपमानित गरेपछि उनले तिमीलाई जसले हेर्छ त्यसलाई कलङ्क लाग्नेछ भनी श्रापित भएको कथामा उल्लेख छ ।
चन्द्रमाको अवस्था देखेर ब्रम्हाले श्रापबाट मुक्ति पाउन पूजाको विधि बताउँछन् । सोही अनुसार चन्द्रमाले गजानन् गणेशको पूजा गरेपछि गणेश प्रसन्न भएर श्रापमुक्त गरिदिए । गणेशले ‘भदौ महिनाको शुक्ल चतर्थीका दिन जसले तिमीलाई हेर्नछ उसलाई कलंक लाग्दैन, पापबाट मुक्ति पाउँनेछ’ भने । यतिमात्र होइन भदौ चतुर्थीको चन्द्रमा दर्शन गरेपछि मनोवाञ्छित फल समेत प्राप्ति हुने गणेशले भने । यसै कारण मधेशका जिल्लाहरुमा यो पर्व विशेष महत्व एवम् निष्ठापूर्वक मनाईदैआएको छ ।
पर्व प्रारम्भमा मिथिला क्षेत्रमा मिथिला नरेशले गरेको सप्तरीका इतिहासविद्हरुको भनाइ छ । इतिहासविद्का अनुसार यो पर्व विधिपूर्वक गरेपछि मिथिला नरेशलाई मनोवाञ्छित फल प्राप्त भएको थियो । यो पर्वमा ब्रतालु महिला दिनभरी निराहार रहेर पुरी, खीर, तथा विभिन्न प्रकारका पकवानहरु बनाउने गर्छन् ।
विभिन्न प्रकारका मीठाईहरुका साथै दहीको विशेष अनिवार्यता रहेको छ । यस अतिरिक्त नरिवल, केरालायत उपलब्ध फलफूल समेत पूजा सामग्रीको रुपमा राखिन्छ । कुम्हार(कुमाले)ले बनाएको माटाको भाँडो (वर्तन)को अनिवार्यता रहेको छ । कुम्हारले बनाएको माटाको भाँडोमा दही जमाएर चढाउने यस पर्वको विशिष्टता रहेको छ । पर्व प्रयोजनकालागि दुधलाई राम्रो तताएर छाली समेत नलिकाले नयाँ वर्तनमा दही जमाईन्छ । नयाँ वर्तनमा दही जमाइने दही ढिक्का जस्तै हुने गरेकोले यो दही विशिष्ट मानिन्छ ।
चौठीचान बाबाको प्रतिकको रुपमा चन्द्रमालाई अर्घ दिनकालागि ब्रतालु महिलाले पुरी तथा खीर बनाउनकालागि प्रयोग गरिने चामल निक्कै सावधानीपूर्वक राखिने गरिन्छ । कुटानी पिसानी समेत पवित्रताकासाथ गरिन्छ । चौरचनकालागि पुरी बनाउन जाँतोमा चामल पिँधेर पिठो बनाईन्छ । सोही पिठोको पुरी, पेरुकिया, खजुरिया आदि बनाईन्छ ।
चौरचनमा चढाईने प्रसादलाई पशुपक्षीले छोएमा वा जुठो गरिदिएमा अशुभ मानिन्छ । साथै चौरचनकालागि प्रयोग हुने प्रसादलगायतका सामग्रीहरु बच्चाहरुले नछोओस् वा मुखमा नलियोस् यसकालागि बडो सावधानी अपनाईन्छ । पूजा सामग्री बच्चा वा पशुपञ्छीले जुठो गरिदिएमा चर्मरोग हुने विश्वास रहेकोले अन्य पर्वहरुको तुलनामा अत्यधिक सावधानी अपनाईन्छ । साथै यो पर्वमा कबुला गरेमा चर्मरोग निको हुनेसमेत जनविश्वास छ ।
यो पर्वको अर्को विशेषता के रहेको छ भने मानवकालागि मात्र नभई पशुकालागि समेत गरिन्छ । परिवारका सम्पूर्ण सदस्य तथा पशुहरुको नामबाट समेत कौरना, छाँछ, मटकुडा, कौरनी आदिमा दही जमाएर चढाउने मान्यता रहँदैआएको छ । पशु चौपायाको नामबाट कौरनी (माटाको वर्तन)मा दही जमाएर चढाईन्छ । सम्पूर्ण सदस्य तथा पशुको नामबाट चौठीचान्दको नामबाट पूजा गरेपछि रोग–व्याधिबाट मुक्ति पाउनुकासाथै समृद्धि प्राप्ति हुने जनविश्वास छ ।
साँझको समयमा आँगनमा माटो र गोबरले लिपपोत गरिन्छ । उक्त स्थानमा चामललाई पिँधेर बनाईको घोल(पिठार)ले अरिपन (चौका) लगाईन्छ । त्यसपछि चौठीचानलाई चढाउनकालागि तयार पारिएको पुरी, खजुरिया, पेरुकीया, खीर, फलफूल, दहीलगायतका पकवान तथा मिष्ठान्नहरु सजाएर राखिन्छ । पूजा स्थलमै बस्नकालागि पिँढी वा आसन राखिएको हुन्छ ।
जसलाई स्थानीय भाषामा ‘मड़र’ भनिन्छ । उक्त पिँढी अर्थात ‘मड़र’मा पूजा पश्चात पुरुष बस्ने परम्परा रहेको छ । बस्नकालागि राखिएको पिँढीको अगाडि केराको पातमा प्रसादको रुपमा विभिन्न परिकारहरु चढाईन्छ ।
सूर्यास्त पश्चात साँझ उदाउँदो हसिया आकारको चन्द्रमालाई सम्पूर्ण सामग्रीको अर्घ दिईन्छ । सम्पूर्ण परिकार तथा पकवानहरु चौठीचान्दलाई समर्पण गरिसकेपछि अन्त्यमा जलढार (जलब चढाएर) गरिन्छ । त्यसपछि परिवार पुरुष ‘मड़र’मा बसेर प्रसाद ग्रहण गर्ने गर्छन् । चौठीचानलाई अर्घ पश्चात परिवार अन्य सदस्यहरुसमेत प्रसाद ग्रहण गर्ने गर्छन् । मड़रकालागि पातमा चढाईएको प्रसाद बाँकी रहेमा पातसहित आँगनमै खाल्डो खनेर गाडिन्छ ।
सबेरैदेखि वर्तालु महिलाले चन्द्रमा उदाउने आशमा बसिरहेकी हुन्छिन् । हँसिया आकारको चन्द्रमा पश्चिम–दक्षिणतर्फ आकाशमा देखिएपछि अर्घ दिईन्छ । कुनै वर्ष कालो बादल लागेर वा पानी परेर चन्द्रमा आकाशमा नदेखेपछि केहीबेर हात जोडेर दर्शन दिन बिन्ती गरिन्छ । यस विषयमा मैथिलीमा यस्तो गीत समेत चर्चित छ ‘आबऽ हौ चोैठीचान, लपकऽ हौ पुडी…।’
समग्रमा, मिथिला–मधेशको अति प्राचीन लोक पर्व हो । परम्परागत रुपमा यो पर्व एकपछि अर्को पुस्ता हुँदै हस्तान्तरण हुँदआएको छ । चन्द्रमाको पूजा गरिने यो पर्वमा स्थानीयस्तरमा उपलब्ध सामग्रीको प्रयोगकासाथै कुम्हार(कुमाले)को माटाको वर्तनको प्रयोगले जातीय सहिष्णुतालाई जोड्ने काम गरेको छ । यस अतिरिक्त प्रायःजसो पर्वहरु घरपरिवार तथा परिवारजनको सुख–समुद्धिकालागि गरिन्छ तर यो पर्व भने घरमा पालिएका पशुचौपायाकालागि समेत गरिन्छ ।
यो पर्वको अन्य पक्षहरु मजबुत रहे पनि ‘मड़र’(पिँढी)मा पुरुष मात्र बस्न पाउने बाध्यकारी अवस्था वर्तमान अवस्थामा परिमार्जनयोग्य रहेको बुद्धिजिवीहरुको तर्क छ । महिला–पुरुष बीच समानताकालागि विभिन्न सङ्घर्ष तथा आन्दोलन भईरहँदा यो पर्वमा समेत ‘मड़र’मा बस्ने बाध्यकारी अवस्थालाई परिमार्जन हुनुपर्ने उनीहरुको तर्क छ ।