जनमत पार्टीको माटीयात्रा : स्थानीय नेता–कार्यकर्ता असन्तुष्ट

राजविराज । डा.सिके राउत नेतृत्वको जनमत पार्टीले जारी राखेको माटीयात्रा तथा भेटघाट कार्यलाई सप्तरीमा उनकै नेता–कार्यकर्ताले असन्तुष्टि जनाएका छन् । पार्टीको जिल्ला कार्य समिति सप्तरीले नै तय गरेको सूचीअनुसार डा.राउतले कार्यक्रमहरुमा उपस्थिती जनाउन नसकेको भन्दै नेता–कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन् ।

जिल्लाको विष्णुपुर गाउँपालिकाबाट गत आइतवारदेखि माटीयात्रा थालिएको थियो । सोहीअनुसार नै पार्टी अध्यक्ष डा.राउतले विभिन्न वडाका स्थानीय नेताहरुसगँ भेटघाट गर्ने कार्यक्रम थियो । तर, निर्धारित कार्यक्रममा समेत डा.राउतले उपस्थिती नजनाउँदा आफुहरुलाई समस्या हुने गरेको स्थानीय नेताहरु बताउँछन् ।

‘पार्टीले राइट–टु–रिकलको अवधारणा ल्याउन पटक पटक मञ्चमा भाषण दिन्छन् तर आफैले निर्धारण गरेको समय र विभिन्न कार्यहरु पूरा गर्नेतर्फ उन्नमुख देखिदैन्’ एक नेताले भने–‘कार्यक्रमस्थलमा पुग्ने समय १२ बजे निर्धारण गरेको ठाउँमा ३ बजे पुग्नुहुन्छ, ३ बजे नै पुग्नुपर्ने हो भने समयको तालिका पनि सोही अनुसार नै तय गर्नुपर्ने हो । यसरी जनतालाई सरासर ठग्ने काम भएको छ, जनताले पनि निर्वाचनमा नठग्ने भन्नसकिन ।’

कतिपय स्थानीय तहमा पार्टीको केन्द्रिय नेताको पहुँचमा भएको टोल–टोलमा उपस्थिती जनाउँदै आए पनि केन्द्रीय नेताको पहुँचमा नभएको ठाउँलाई वेवास्ता गर्दै आएको उनले बताए ।

पार्टीका अनुसार जिल्लाको राजगढ, तिरहुत, अग्नीसाईर कृष्णासवरण, छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिका र हनुमाननगर कंकालिनी, सप्तकोशी र कन्चनरुप नगरपालिकाबाट माटो संकलन भइसकको र अन्यमा संकलन कार्य जारी रहेको छ ।

पार्टीका जिल्ला सचिव थानेश्वर प्रसाद साहले समय अभावका कारण केही टोल वा वडामा पुग्न समस्या भएको बताए । ‘माटीयात्रा तहत अध्यक्ष ज्यू ६ दिन सप्तरीमा बस्नुहुन्छ, आजसम्म ५ दिनभइसक्यो, यद्यपी सबै अधिकांश नेता–कार्यकर्तासँग भेटघाट गर्दै माटीयात्रा पूरा गर्ने लक्ष्य रहेको छ’ उनले भने–‘समय अभावले नै केही ठाउँमा चाहेर पनि पुग्न सकिएको छैन ।’

उनले त्यसकालागि निरास नभई उत्साहित रुपमा पार्टी लिएको नीतिअनुसारको कार्यमा लाग्न स्थानीय नेता–कार्यकर्तालई आग्रह गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस