मधेसमा आज भरदुतिया पर्व मनाइँदै

राजविराज – मधेसमा आज भाइ–बहिनीको स्नेह र प्रेमको प्रतीक भरदुतिया (भातृद्वितीया) पर्व मनाइँदै छ। यस पर्वलाई भाइदुज, भरदुतिया, भातृद्वितीया, भाइटीकाका नामले मधेसी समाजमा मनाइदै आइएको छ।

दिदीबहिनीले दाजुभाइको गलामा मखमली माला र निधारमा रातो टीका लगाइदिएपछि दाजुभाइले दिदीबहिनीलाई नगद, कपडा लगायतका उपहार दिन्छन्। यस दिन दाजुभाइ दिदीबहिनीको घरमा भार (मिठो पकवानसहितका सनेस) लिएर पुग्ने चलन अझै मधेसी समाजमा कायमै छ।

भरदुतीयामा दिदीबहिनीले घरआँगन लिपेर चोख्याउँछन्। आँगनमा पिर्का राखेर त्यसमाथि अरिपन (माटो घोलेर बनाइने मैथिली चित्र) बनाएर सिन्दूरको थोपा लगाइन्छ। दिदीबहिनीले दाजुभाइको गोडा पानीले धोइदिन्छिन् र अरिपन दिएको पिर्कामा बसाउँछन्। त्यसपछि दाजुभाइको अञ्जुलीमा पानको पात, सुपारी, फलफूल राखिदिन्छन्। अनि पानी चुहाउँदै परिक्रमा गर्छन् जसलाई न्यौत (निमन्त्रण दिनु) भनिन्छ।

त्यसपछि दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी टीका र माला लगाइदिएर दीर्घायुको कामना गर्छन्। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार रुपैयाँ, गरगहना, लुगा सनेस (उपहार) दिने चलन छ।

Author:



क्याटोगरी छान्‍नुहोस