बारा, २६ चैत । यतिबेला बारा–२ मा चुनावी सरगर्मी बढेको छ । आमजनता भने मधेश आन्दोलनका कमाण्डर उपेन्द्र यादव आफुहरुको घरदैलोमा आएकोले खुशी छन् ।
आफ्नै घर–आँगन तथा खेतमा मधेशका गौरव उपेन्द्र पैदलै गाउँवस्तीका सर्वसाधारण जनताको बीचमा पुग्ने गरेका कारण जनता भारी मतले जिताएर प्रतिनिधिसभामा पठाउन आतुर देखिएका छन् । मधेशी जनताले अपमान एवम् विभेद खेप्नु परेकोले त्यस विरुद्ध भएको आन्दोलनको नेतृत्व गर्ने नेतासँग कुरा गर्न, फोटो खिंचाउन तथा बाराको विकासका लागि ध्यानाकर्षण गराउने गरेका छन् ।
उत्साहित मतदाताहरुमध्येका एक हुन् करैयामाई नगरपालिका वडा नम्बर ५ का कविसन पासवान । उनको टोलमा पुग्ने उम्मेदवारहरुले आ–आफ्ना पक्षमा कुरा गर्ने गरेका छन् । तर उनलाई यतिमात्रै थाहा छ कि मधेशीको पहिचान दिलाउने नेता हो उपेन्द्र यादव । जसरी भए पनि उपेन्द्रलाई मधेशको आवाज बुलन्द पार्न तथा बाँकी रहेका अधिकारप्राप्ति तथा बाराको समग्र विकासका लागि उपेन्द्र यादवमाथि नै आशा भरोसा रहेको उनी बताउँछन् । ‘उपेन्द्र यादव बारा २ बाट चुनाव लड्नु नै हाम्रो लाागि गौरवको कुरा हो, अरु नेताले झुठा प्रचारबाजी गर्दैछन् तर यहाँका जनता अब सचेत भईसकेका छन् ।’
यस्तै मझडियाकी शान्ति देवी पनि यसपटक कुरा हैन व्यवहारमा पनि कार्यान्वयन गरेर देखाएका इमान्दार नेता उपेन्द्रकै पक्षमा उभिएकी छिन् । मधेशी जनताको वास्तविक माग र मुद्दा उठाउने नेता उपेन्द्र जितेपछि स्वास्थ्य, शिक्षा, सडक, सिंचाई लगायतका क्षेत्रहरुमा परिवर्तन आउने उनको विश्वास छ ।
सङ्घीयता एवम् मधेश विरोधी तत्वहरुले थरिथरिका भ्रम फैलाउनमा लागेको कुरा आमजनताले बुझिसकेकोले मधेशका बाँकी अधिकार प्राप्ति र बाराको समग्र विकासका लागि मधेशका मसिहा उपेन्द्र बाहेक अर्को विकल्प नरहेको युवा नेताहरु बताउँछन् । उनीहरुका अनुसार उपेन्द्र यादवकै मधेश र मधेशी जनताको स्वाभिमान र पहिचान स्थापित भएको कुरा छर्लङ्ग रहेकोले युवाहरु जसपाको पक्षमा उभिएका छन् ।
तस्बिर/जनताको घरदैलोमा मत माग्दै जसपा अध्यक्ष समेत रहेका उम्मेदवार उपेन्द्र यादव ।