दबावपछि २५ जनाले पाए सामाजिक सुरक्षा भत्ता

राजविराज – सप्तरीको बलान बिहुल गाउँपालिका–४ का वडाध्यक्षको हैकमवादी शैलीका कारण रोकिएको ३३ मध्ये २५ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छन् । भोट नदिएको भन्दै वडाध्यक्ष लक्ष्मीनारायण झाले सो वडाका ३३ जनाको सामाजिक सुरक्षा भत्ताबाट लागत कट्टा गरेका थिए ।

सो विषयमा समाचार सार्वजनिक भएसँगै गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, मधेशी आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दबाब दिएपछि उनीहरुले सामाजिक सुरक्षा भत्ता पाएका हुन् ।

वडाध्यक्ष झाले गत कार्तिक २१ गते ३३ जनाको नाम नै उल्लेख गरी सामाजिक सुरक्षा भत्ताबाट लागत कट्टा गरी गाउँपालिकालाई पत्राचार गरेका थिए । ‘केही लाभग्राहीहरुको प्रमाणमा उमेर नमिलेको कारणले सा.सु भत्ताको मूल अभिलेखबाट तपशिल बमोजिमका व्यक्तिहरुको लागत कट्टा गरी जानकारी पठाइएको व्यहोरा अनुरोध छ’, वडाध्यक्ष झाले गाउँपालिकामा पठाएको पत्रमा उल्लेख रहेको छ ।

नवीकरणका लागि माग गरिएको प्रमाणअनुसार केही लाभग्राहीको उमेर नमिलेको भन्दै वडाध्यक्ष झाले ४८ जनाको लागत कट्टा गरि गाउँपालिकालाई जानकारी गराइको थियो ।

सो ४८ मध्ये १५ जनाको मृत्यु भइसकेको छ भने ३३ जनाको आधार नभएको कारणले सामाजिक सुरक्षा भत्ता रोकिएको वडाध्यक्ष झाले बताउँदै आएका थिए । तर, लाभग्राहीहरु भने भोट नदिएपछि आफुहरुको सामाजिक सुरक्षा भत्ता रोकेको दावी गर्दै आएका थिए । ‘अबदेखि आफुहरुले भत्ता नपाउने जानकारी पाएपछि मैले वडा कार्यालय पुगेर सोध्दाखेरी भोट नदिएपछि के गर्ने? भनेर वडाध्यक्ष झाले जवाफ फर्काउनुभयो’ नाम उल्लेख नगरिदिने सर्तमा एक लाभग्राहीले भने, ‘मैले त बास्तवमै उहाँलाई भोट दिएको थिएन, तर भत्तै रोकिन्छ भन्ने थाहा पनि थिएन ।’

गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले तीमध्ये ८ जनाले मात्रै सामाजिक सुरक्षा भत्ता पाउन बाँकी रहेको बताए । ‘८ जनाले अहिले आफ्नो विवरण अपडेट गराउनुभएको छैन्, गाउँपालिकामा आएर आफ्नो विवरण अपडेट गराएसँगै उहाँहरुलाई पनि सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस