२०४६ को जनआन्दोलनपछि भएको पहिलो आम निर्वाचनमा सप्तरी क्षेत्र नं.३ बाट विजयी भएका प्रतिनिधिसभाका पूर्व सदस्य हरिप्रसाद रायको गत सोमबार निधन भएको छ । राय प्रतिबन्धित नेपाली काँग्रेस सप्तरीको सभापति भई पञ्चायतकालमा प्रजातन्त्रकालागि संघर्षमा होमिनु भएको थियो ।
निरंकुश पञ्चायती व्यवस्थामा नेपाली काँग्रेसको नेतृत्व सम्हाल्नु उसै पनि चानचुने कुरा थिएन । तथापि रायले प्रजातन्त्रका पक्षधरहरुलाई गोलबन्द गर्दै जनताको अधिकार स्थापनाको आन्दोलनलाइ जिल्लामा कुशलताका साथ हाँकेर सफलता हासिल गर्नु भएको थियो ।
यही कारणले नै जिल्लाको पश्चिम दक्षिण भेग स्थित तरही गाउँ पैतृक स्थल भए पनि उहाँ सदरमुकाम राजविराज क्षेत्रबाट निर्वाचित हुन सफल बन्नु भयो । सप्तरी जिल्ला कुनै पनि निरंकुशताका विरुद्धमा आन्दोलनको अग्र मोर्चामा रही आवाज उठाउने सचेत नागरिकहरुको जिल्लाका रुपमा परिचित छ ।
राणा शासन, पञ्चायती निरंकुशता जस्ता क्रुर कुशासनका बिरुध्दमा यस जिल्लाले आन्दोलनको अग्रपंक्तिमा रहेर लडेको ईतिहास नै साक्षी छ । बरिष्ठ गणतन्त्रवादी नेता रामराजा प्रसाद सिंहले पञ्चायत कालमै राजाको निरंकुशताका बिरुध्द आन्दोलनको बिगुल फुकेको जिल्ला हो सप्तरी ।
यसै जिल्लाका गजेन्द्रनारायण सिंहले मधेशी तथा पहाडका जनजातीका पक्षमा राजनीतिको लक्ष बनाएर अघि बढेको विषय अहिले पनि तरोताजा नै छ । नेपाली काँग्रेसमै स्वर्गीय रामेश्वर सिंहले कुशल संगठकका रुपमा पुर्याएको योगदानलाई बिर्सन सकिन्न । अधिकारकै लागि भएका मधेश आन्दोलन,जनयुध्द,थरुहट आन्दोलनमा पनि सप्तरीको सहभागिता अविष्मरणीय मानिन्छ ।
स्वर्गिय रायले नेपाली काँग्रेस परित्याग गरी पछि तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्यका रुपमा समेत मधेशीको अधिकारकालागि गर्नु भएको योगदान पनि बिर्सन सकिन्न । जनताको अधिकार बहाली तथा निरंकुशताका बिरुध्दमा संघर्ष गर्ने जोसुकै किन नहोउन् ती जनताका असल मित्र मानिन्छन् ।
आफ्ना निहित स्वार्थलाई तिलाञ्जली दिँदै देश र जनताका पक्षमा कठोर संघर्ष गरेकाहरुको राज्यले नै सम्मान गर्नु पर्दछ । मुलुकमा अहिले आएको ऐतिहासिक परिवर्तनले ल्याएका उपलब्धिका कारणले नै हिजो निरंकुशताका बिरुध्दमा संघर्षरत राजनीतिक दलहरु नै यति बेला सत्तामा पुगेका हुन् ।
यस्तो समयमा पनि हिजो योगदान दिनेको सम्मान भएन भने कहिले हुन सक्ला ? आन्दोलनमा लागेर दुःख पाएकाहरुको निस्वार्थ तथा निष्पक्ष ढंगबाट कदर गर्न सकियो भने मात्र जनताले पनि त्यसलाई रुचाउने तथा उचित मूल्यांकन गर्न पाउने छन् । हिजो आन्दोलनमा लागेर त्याग तपस्या गरेका,दुःख पाएकाहरुलाई उपेक्षा गरेर आफ्नो गुट खडा गरी स्वार्थमा अलमलिने हो भने यसले जनतामा पनि बितृष्णा जगाउन सक्दछ ।
योगदान गरेकाहरुको सम्मान गर्न सकियो,उनीहरुले देखाएको मार्ग अबलम्बन गर्न सकियो भने मात्र परिवर्तनको पनि सार्थकता मुखरित हुनेछ । राजनीतिक दलहरुमा अहिले गुटबन्दी बढ्दै गएको छ । यही गुटबन्दीकै कारणले लोकतन्त्रकालागि संघर्ष र त्याग गर्ने कतिपय व्यक्तित्व अहिले पाखा पारिएको अवस्था छ ।
कसैको योगदान तथा त्याग तपस्याको उपेक्षा होईन यति बेला यथोचित सम्मानको आवश्यकता भएका कारण राजनीतिक दलहरुले तिनलाई उचित कदर गर्नु पर्ने आवश्यकता छ । त्यसैले तेरो र मेरो भन्ने भावना त्यागेर निष्पक्ष मूल्यांकन गर्न सकियो भने मात्र अहिलेको परिवर्तनको सार्थकता पनि बढेर जानेछ ।