विराटनगर–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले तेस्रो कार्यकालमा दोस्रोपटक विश्वासको मत पाएका छन् । प्रदेश सभाको बुधबारको बैठकबाट मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत पाएका हुन् ।
मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित थिए ।
विश्वासको मत प्रक्रियामा दुई प्रदेश सभा सदस्य तटस्थ रहेको र बाँकी अनुपस्थित रहेको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन् । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।
सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ । कोशी प्रदेशसभामा नेकपा (एमाले)का ४०, कांग्रेसका २९, नेकपा (माओवादी केन्द्र) का १३, राप्रपाका छ, नेकपा (एकीकृत समाजवादी) का चार र जसपाका एक सदस्य छन् ।