धानबाली जोगाऔं

वर्षाले साथ दिएपछि समयमै यसपाली सप्तरीमा रोपाइँ सम्पन्न भएको छ । तिलाठी कोईलाडी, रुपनी, विष्णुपुर लगायत अन्य स्थानीय तहमा समेत गबारो, ब्लाष्ट, केजवम, पातमरुवा लगायतका रोग लागेपछि बालीमा व्यापक क्षति पुगेको हो ।

पात पँहेलिने, सुकेर झर्ने, गुभो सुकेर बोटै मर्न थालेपछि किसानहरु अहिले चिन्तामा डुबेका छन् । सप्तरीको कूल जनसंख्याको अधिकांश भाग कृषिमै आश्रित छ । प्रमुख बाली धान नै भएका कारणले पनि यसकै उत्पादनका आधारमा उनीहरुको वर्षभरिको सबै खर्चको व्यवस्थापन निर्भर रहेको हुन्छ ।

धानबालीमा रोग लाग्नुभन्दा अघि रसायनिक मलको अभाव भोगेका किसानमाथि रोगले थप चिन्ता ल्याईदिएको छ । जति बेला रोग लाग्न थालेको थियो त्यही बेलामा उपचारको व्यवस्था मिलाउन सकिएको भए यत्रोबिध्न क्षति पक्कै पनि हुँदैनथ्यो होला । तर,रोगको निदान तथा उपचारमा भईरहेको ढिलाईका कारण अन्यत्र पनि यो रोग फैलिएर बढी क्षति पुगेको हो ।

किसानका समस्याका बारेमा स्थानीय, प्रदेश तथा केन्द्र सरकार सबैले आआफ्नो स्तरबाट पहल थाले मात्र समस्या समाधानमा सघाउ पुग्ने हो । समस्या उत्पन्न भएको महिनौ बितिसकेर धान पसाउन थालेको समयमा पनि रोग निबारणकालागि कीटनाशक औषधि प्रयोग गर्न नपाएर किसान चिन्तामा डुबेका छन् ।

कोरोना कहरका कारणले विश्वव्यापी मन्दी आउनाका साथै खाद्यान्न संकट समेत आउन सक्ने प्रक्षेपण गरिँदैछ । यस्तो प्रतिकूल अवस्थामा पनि किसानले अथक मिहिनेत गरी लगाएको बालीलाई बँचाउन सकिएन भने यसलाई बिडम्बना नभनी के भन्ने ? समयमा ध्यान दिनु भन्दा पनि एक निकायले अर्कोमाथि जिम्मेवारी थोपरेर आफू चोखो बन्ने प्रबृत्तिले समस्याको समाधान निस्कन सक्दैन ।

कोरोनाले गर्दा रोजगारी गुमाउँदा मानिसले विहान बेलुकाकोलागि खानपिनको जोहो गर्न नसकेको अवस्था आउन थालिसकेको छ । राजधानीकै टुँडिखेलमा खाना खानकालागि थालकटौरा लिएर आउने मानिसको संख्या बढ्न थालेको छ ।

सरकारले भोकभोकै कसैले मर्नु पर्दैन भन्ने गरे पनि मानिस खान नपाएर मर्न थालिसकेका छन् । सप्तरीमै मलर सदाले खान नपाएकै कारणले ज्यान गुमाउनु परेको घटना तरोताजा नै छ । यस्तो प्रतिकूल समयमा लगाएको धानबाली पनि रोगले सखाप पार्छ भने यो समस्या प्रति सरकारले उदासीन भएर बस्न कदापि मिल्दैन । भाषण तथा आश्वासनले पेट भरिन्न ।

किसानलाई उत्साह जगाउन तथा उत्पादकत्वमा बृध्दि ल्याउने हो भने पहिला किसानले लगाएको बालीको संरक्षणको व्यवस्था मिलाउनुको बिकल्प छैन । सरकारले किसानमुखी नीति तथा कार्यक्रम ल्याउने भनिए पनि अहिले पनि वास्तविक किसानको अवस्थामा खासै परिवर्तन आउन सकिरहेको छैन ।

ल्याएको कार्यक्रमले परिवर्तन आयो भन्नाकालागि त कृषिको उत्पादकत्वमा के कति सुधार आयो भन्ने नै हेरिने हो । बालीमा रोग लागि सकेपछि सरकारले कृषिका प्राबिधिकहरुलाई सम्बन्धित ठाउँमै खटाएर तत्कालै रोग नियन्त्रणका सबालमा प्रभावकारी कदम चाल्नु आवश्यक थियो ।

अहिलेसम्म जे जसरी आलटाल भईरहेको छ,अवस्था यस्तै रहने हो भने धानबालीमा अरु थप क्षति पुग्न सक्ने सम्भावना अहिले पनि प्रबल नै छ । त्यसै कारण धानबाली जोगाउनकालागि अहोरात्र खटेर भए पनि हरसम्भव उपायको अबलम्बन जरुरी देखिन्छ । क्षति भईसकेपछि पछुताउनु भन्दा समयमै चासो देखाउनु उत्तम पनि हो ।

Author:



क्याटोगरी छान्‍नुहोस