कन्चन यादव
त्यो हृदयविदारक दृश्य हेर्दा,
मुटु छियाछिया भइरह्यो
मेरो देशको अस्तित्व
आगोको लपेटमा जल्दै गर्दा,
शरीर त बाँकी रह्यो,
तर आत्मा खरानी भयो ।
देश बनाउन जीवन समर्पण गर्नेहरू
हाम्रै दाजुभाइ–दिदीबहिनी थिए
जहाँतहीँ रोदन, क्रन्दन अनि चित्कार
अब मेरो देश नै तहसनहस भयो कि,
मुटु थर्काउने गोलीका आवाज
पीडादायी अनुभूति दोहोरिरह्यो ।
देशको गौरव अनि धरोहर
आगाको लप्कामा जलिरहेको थियो
सिंहदरबार जस्ता अनेकाै अनेकाै
हेर्दाहेर्दै मेरा सपना खरानी बन्दै थियो
तापले पोलिदै थियो मेरो मुटु
केही गर्न नपाई म छटपटाइ रहेँ ।
‘म को हुँ ?’—उत्तर हरायो
‘तिमी को हौ ?’—चिन्ने कोही रहेन
मेरी आमाका दस्तावेजका पोकाहरू
सबै खरानी भए
अब बाँकी के नै रह्यो र ?
बस् मुटुको धड्कन मात्र भएको अस्थी
मारकाट, चोरी, लूटपाट,
त्रास अनि हाहाकार,
सम्वेदना विहिन घुसपैठ र आतङ्क
मौकामा चौका हान्ने ती तत्व
ती सबै अतिका लेखाजोखा
मेरो आँखामा कैद भइरह्यो
सुन्दर अनि समृद्ध देश बनाउने
सपना बोकेका युवाहरू
बन्दूकको निशानामा पनि,
मैदानमा होमिरहेका थिए
देश परिवर्तनको आशमा
म र मेरा साथीहरु ढलिरहे ।
मुटुको टुक्रा घर फर्किने आशमा
बाटो कुरेर बसिरहे, आमालाई के थाहा ?
बानेश्वरमा सहादत भयो भनेर
छाती पिटीपिटी रोइरहिन् उनी
कसले र किन ठोक्यो गोली ?
हो, मार्ने र मर्ने दुबै थिए नेपाली ।।
अध्ययनरतः प्रशासन सङ्काय, सातौं सेमेस्टर, जनप्रशासन क्याम्पस, बल्खु