देश गालीले होइन, भिजनले बन्ने हो

निता थापा
आज बिहान उठेँ। स्कुलको ट्यूसन सकेर घर आएँ। खाना खाएँ, अनि सोचें — “अब के गरौं?” यसै क्रममा युट्युब खोलेँ। नयाँ र पुराना नेताहरूको भाषण सुन्न मन लाग्यो।

रबि लामिछानेदेखि सुमना श्रेष्ठ, तोसिमा कार्कीदेखि सोबिता गौतम, अनि नयाँ पुस्ताका मिराज ढुंगाना, निकोलस भुसाल, प्रबेश दाहाल, सुदन गुरुङ जस्ता युवाहरूका भाषण सुनेँ। तर सबै सुनेपछि मनमा एउटै प्रश्न उठ्यो — के देश गाली गरेर बन्छ?

पुराना नेताहरूलाई गाली गर्नु अहिले नयाँ ट्रेन्ड भएको छ। भाषण सुरु हुनु अघि नै केही “कडा” शब्द, केही “तिखा” आरोप, अनि भिडले ताली बजाउँछ। तर त्यसपछि के? देशका लागि के योजना छ? शिक्षा, रोजगारी, स्वास्थ्यका लागि के भिजन छ? त्यसको जवाफ कहिँ भेटिन्न।

नेता बन्ने कुरा अहिले सजिलो छ- अरूको चरित्रमा हिलो हान, गाली दे, भीड जोस, अनि माइकमा कर: “म देश बनाउँछु!” तर देश “कराएर” होइन, करेर बनिन्छ। नेता बन्नका लागि गाली होइन, सिद्धान्त चाहिन्छ। अरूको दोष होइन, आफ्नो भिजन चाहिन्छ।

देश बदल्ने हो भने, अरूको गल्ती होइन, आफ्नो जिम्मेवारी देखाउनुपर्छ। अहिलेको राजनीतिक शैलीमा नैतिकता हराइसकेको छ। भाषणमा भावनाको हिलो उछालिन्छ, तर योजना र नीति माटोभित्र गाडिन्छ।
देश निर्माणका लागि गाली होइन, योजना चाहिन्छ।

देश बनाउने सपना होइन, सम्पादन गर्न सक्ने योजना चाहिन्छ। राम्रो नेता त्यो होइन जसले सबैलाई हँसाउँछ, राम्रो नेता त्यो हो जसले जनताको विश्वास जित्छ। राम्रो नेता त्यो होइन जसले अर्को पार्टीलाई गाली गर्छ, राम्रो नेता त्यो हो जसले देशको दिशा देखाउँछ।

भिजन बिना नेतृत्व त्यो जहाज हो, जसको कप्तान स्टीयरिङमा छैन। राम्रो नेता बन्ने हो भने, पहिले देशका पीडा बुझ्नुपर्छ, अनि समाधान खोज्नुपर्छ। देशलाई गाली होइन, मार्गदर्शन चाहिएको छ।

अन्त्यमा,
देश बनाउने कुरा भाषणमा होइन, दृष्टिकोणमा हुन्छ। राष्ट्र उकास्ने कुरा गालीमा होइन, भिजनमा हुन्छ।जो नेता आफ्नो चरित्रभन्दा बढी देशको भविष्य सोच्न जान्दछ, उही साँचो नेता हो — र त्यही नेतृत्वबाट देश बन्छ। facebook

Author:



क्याटोगरी छान्‍नुहोस