समाजभित्र लुकेको केटाको पीडा : मैले बुझेको यथार्थ

निता थापा 

म सानो उमेरदेखि नै घरमा बाबा, दाइ, मामा जस्ता केटा मान्छेहरूसँगै हुर्किएँ। स्कुलका सरदेखि कलेजका साथीहरू — धेरैजसो केटा मान्छे नै थिए। त्यसैले होला, मसँग धेरै केटाहरूको कुरा सुन्ने, उनीहरूको मन बुझ्ने मौका भेटें। सुरुमा लाग्थ्यो — केटा मान्छे बलिया हुन्छन्, पीडा के हुन्छ र?

तर बिस्तारै बुझें —
साँचो कुरा त उल्टो रहेछ,
उनीहरू पनि पोल्छन्, तर बोल्दैनन्।
घरमा बाबा कहिल्यै रोएनन्।
थकाइ, चिन्ता, अनि बाँच्नको संघर्ष — सबै छातीभित्रै गाडे।

दाइ पनि तेस्तै, मुस्कान देखाउँछन् तर मनभित्र चर्किएका हुन्छन्। कति केटाहरूले आफ्नी श्रीमतीको व्यवहार, परिवारको जिम्मा, अनि समाजको चाप सहँदै, मौन भएर बाँचिरहेका छन्। केटी मान्छे रोए, माइती जान्छिन्।

बुडा सँग झगडा भयो भने आमा बाबाको घर खुला हुन्छ, माया, सान्त्वना, सहानुभूति पाइन्छ।
तर केटा मान्छे? उनीहरू कहाँ जाने? उनीहरूले श्रीमती सँग झगडा गरे भने समाज भन्छ — “केटै गलत।”

घर फर्के भने परिवार भन्छ — “बुढो भएर नि आफ्नी श्रीमती मिलाउन सकेनस्?”
र अन्ततः, उनीहरू चुप लाग्छन्। भित्रभित्रै पोल्छन्, जल्छन्, तर बाहिर हाँस्छन्। रक्सीको गिलासमा उनीहरू शान्ति खोज्छन्, तर त्यहाँ पनि पीडा मात्र भेटिन्छ। त्यो पीडा जसको न आवाज छ, न सहानुभूति।

म केटी भएर पनि भन्छु — केटा मान्छे पनि त मान्छे हुन्,उनीहरूलाई पनि माया चाहिन्छ, सुन्ने कान चाहिन्छ, बुझ्ने हृदय चाहिन्छ। तर हाम्रो समाजले तिनीहरूलाई “मर्द” को नाममा भावनाहीन बनाइदिएको छ।

केटाले गल्ती गरे — दोष उसकै।
केटाले चुप लागे — घमण्डी भनिन्छ।
केटाले बोल्यो — रुखो भनिन्छ।
कसरी बाँचून् त उनीहरू यस्तो समाजमा?
कहिले काँही मलाई लाग्छ —

दुनियामा सबैभन्दा धेरै नबुझिएको मान्छे केटा नै हुन्।
किनकि उनीहरूको आँसु कुनै इतिहासमा लेखिँदैन,
उनको पीडा कुनै आवाजमा बोलिँदैन।

तर म,
मैले महसुस गरेकी छु —
त्यो मौन पीडा, त्यो भित्रभित्रको आगो,
र त्यो आँसु, जसले उनीहरूको आत्मा पोलिरहेको छ।

Source:facebook

Author:



क्याटोगरी छान्‍नुहोस