निता थापा
सानै उमेरमा थिएँ, जब जीवनका अक्षरहरू भर्खरै फुल्दै थिए। मेरो मन त अझै अपरिभाषित, अछूत बगैँचा थियो, तर समाजले हतारमा मलाई ‘उतैली’ को कलङ्कित ट्याग झुन्ड्याइदियो। किन? कसरी? यो प्रश्नको उत्तर खोज्ने फुर्सद र मानवता कसैमा थिएन।
बुबाआमाले पनि सायद यही निर्मम दृष्टिको भारीले डराएर, उही समाजको मुखबाट बच्न, चाँडै मेरो बिहे गरिदिनुभयो। म उनीहरूको निर्दोष छोरी थिएँ, तर समाजका आँखामा म कहिल्यै निर्दोष देखिनँ। यही चिसो, कठोर सोचले मेरो मनभित्र एउटा स्थायी घाउ बिछ्याइदियो—जुन आज पनि घाइते आवाजमा भनिरहन्छ, “किन मेरो कलिलो उमेरलाई दोष बनाइयो?”
घर बदलियो, चोट बदलिएन
घर बदलियो, जिम्मेवारीका चाङ बदलियो, तर समाजको विषालु कुरा काट्ने बानी कहिल्यै बदलिएन। अँध्यारा, कानेखुसी गर्ने आवाजहरू—”कतै-कतै त पक्कै केही थियो होला”—भन्ने छायाहरू मेरा पछाडि लाम ठोकिरहन्थे।
कयौँ रात, मेरो सिरानी मात्रै होइन, मेरो सारा अस्तित्व नै भिजेजस्तो लाग्थ्यो। आँसु बग्यो कि मनको भारी चिप्लियो, त्यो भेद आजसम्मै खुल्न सकेको छैन। समाजले बनाएका झूटा कथाहरूको बीचमा म दिन–दिनै मौनताको कवच लगाएर बसिरहेँ—बाहिर मौन, भित्र आगोभन्दा बलियो।
पढाइ र परिश्रमले उठेको आत्मसम्मानको ज्वाला
त्यही मौनताको मझेरीमा मैले आफ्नो बाटो बुन्दै अघि बढ्न सिकेँ। हातमा किताब समातेँ, काँधमा परिश्रमको जिम्मेवारी। राम्रो स्कुल, राम्रो जागिर। जीवनका ओइलाएका पातहरू बिस्तारै हरियालीको सङ्केत देखाउन थाले।
मेरो यो संघर्षको छालका बीच, सासू, ससुरा, र बुडाको साथ सुकिला, अडिग ढुंगाझैँ बलियो रह्यो। उनीहरूले मेरो भित्री सत्य बुझे। तर समाज? त्यो पतझर उही—जुन आज पनि आफूले नबुझेको कुरा काट्न र अरूको बदनामीमा रमाउन उत्साहित छ।
घृणा होइन, मनमा अब दया मात्रै बाँकी छ
आज तिनै कुरा काट्नेहरूको घरका छोराछोरीको अवस्था हेर्दा मेरो मनमा तीतोपन होइन, केवल गहिरो दया मात्रै उठ्छ। उनीहरू अरूको बदनामीमा रमाउन यति व्यस्त रहेछन् कि, आफ्नो भविष्यको उजाड बगैँचा नै देख्न सकेनछन्।
जीवनले सबैलाई आफ्नो सत्य कहिल्यै नलुकाई देखाउँछ—समयको कठोर हातले एकदिन बिहानै सबै हिसाब माग्छ नै।
भाग ५: सानै उमेरकी त्यो छोरी अझै भित्रदेखि बोल्छे
कहिलेकाहीँ एकान्तमा बस्दा लाग्छ—सानै उमेरकी त्यो भयभित, थकित, निर्दोष छोरी अझै भित्र कतै भित्री कुनामा उभिरहेकी छे। उसका गम्भीर आँखाहरू आज पनि चिसो प्रश्न गर्छन्,
”म किन दोष ठहरिएँ? किन मेरो बालापनलाई शंकाको काँटाले घोचियो?”
र आज पनि मेरो मन कतै ढुकढुकी गर्छ—रुन मन लाग्छ, पुरानो थकान, मनको सानो चसक महसुस हुन्छ, तर सबैभन्दा बढी गौरवको प्रखर अनुभूति हुन्छ।
आज मेरो अटल सत्य यही होतिमीहरूले मेरो उमेरको पवित्रता बुझेनौ,
मेरो मौनताको गहिराइ बुझेनौ,
तर म बिस्तारै, मेहनतका साथ,
भुसभित्रबाट बाहिर निस्किएको बलियो अंकुरझैँ
फेरि पूर्ण जीवन बाँचिरहेकी छु। facebook