कन्चन यादव
मङ्सिर सकेर पुस आउनै लागेकाले यतिबेला किसानलाई भने धानबाली भित्र्याएर गहुँबाली लगाउने चटारो छ । तर कृषि मजदूर पाउनै गाह्रो छ । मजदूर अभावसँगै पछिल्लो समय धान काट्ने मेसिनको प्रयोग हुन थालिएको छ । मेसिनले नै धान काट्ने र खेतमै दाउनी समेत गर्ने प्रचलनसँगै धान भित्र्याएपछि खेतमा थुप्रिएको परालमा आगो लगाउने क्रम बढेको छ ।
खेतहरुमा परालको थुप्रोमा आगो लगाएको छ्यापछ्याप्ति हेर्न सकिन्छ । पराल र पुवार बेकाम जस्तै रहेको ग्रामिण किसानमा एकप्रकारको धारणा बन्दैगएको छ । परालमा आगो लगाउँदा वातावरणीय जोखिमका, माटोको उर्वराशक्तिमा ह्रासका साथै माटोमा रहेका जीवजन्तु नष्ट भई पार्ने असरबारे ग्रामिण भेगका किसानहरु अनभिज्ञ रहेको पाइएको छ ।

खेतमा पराल तथा पुवारमा आगो लगाएपछि खरानीले मलको काम गर्ने तथा उब्जनी बढी हुने एक प्रकारको गलत भाष्य किसानहरुमा निर्माण हुँदैगएको छ । सचेतना अभावले गर्दा यो क्रम बढ्दै गएको स्वीकार्छन् सचेत कृषकहरु पनि । रुपनी गाउँपालिका– ४ कि मन्जु कुमारी यादवले एक हप्ता अगाडि धान काटेर पराल बेच्न खोजिन्, तर कसैले खरिद गर्न चासो देखाएन । कृषि मजदूर पनि खोजिन् तर पाइएन, अन्ततः उनी बाध्य भएर करिब चार कठ्ठा खेतको परालमा आगो लगाएर जलाइन् ।

आफूसँग पशुचौपाया नरहेको र खाना पकाउन पनि ग्यासको प्रयोग गर्दैआएकोले परालको खपत हुने अवस्था नरहेकोले त्यसै थुप्र्याएर राख्नुभन्दा आगो लगाएर जलाएको उनी बताउँछिन् । ‘खेतमा पराल जलाएको खरानीले मलको काम गर्ने भनी आगो लगाएँ, तर जलाइसकेपछि यसरी आगो लगाउनु गलत रहेको कुरा कृषि प्राविधिकहरुबाट पछि थाहा पाएँ’ उनी अगाडि भन्छिन् ‘खेतमा आगो लगाएर पराल जलाउनु सहज छ तर यसको असर दूरगामी हुने भएकोले अबदेखि यस्तो कहिल्यै गर्दिनँ ।’
खेतमा आगो लगाएर पराल जलाउनु अत्यन्तै गलत रहेको बताउँछन् विष्णुपुर गाउँपालिका वडा नम्बर १ का किसान विशेश्वर मण्डल । ‘गाई–भैंसी छैन, पराल राख्ने ठाउँ छैन, खेत छिटो जोत्नुपर्छ’ भनी कतिपय किसानले अज्ञानतावश यस्ता कार्य गर्न बाध्य रहेको उनी बताउँछन् । उनका अनुसार कतिपय किसानहरु धानमा मात्र हैन, गहँु काटिसकेपछि पनि खेतमै आगो लगाउने गर्छन् । उनी थप्छन् ‘विचरा किसानले आफुले बुझे अनुसार राम्रै गर्न खोज्छन् तर बुझाउने निकायहरुको पनि त जिम्मेवारी हो नि, कृषिका यस्ता विषयहरुबारे किसानसम्म पुर्याउनु जरुरी छ ।’
उपरोक्त भनाइहरु प्रतिनिधिमूलक मात्र हुन् । मधेशका हजारौँ किसानको वास्तविकता यस्तै रहेको छ । पराल जलाएपछिको खरानी मल जस्तै काम गर्ने गरेको जानकारी दिँदै उनी भन्छन् ‘किसानहरू जानाजान वातावरण बिगारिरहेका छैनन्; अधुरो जानकारी र विकल्पको अभावमा यस्ता कार्य गरिरहेका छन् ।’
कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख किसुनदेव राउतका अनुसार खरानीले तत्काल फाइदा देखाएजस्तो लाग्छ, तर पराल माटोको मलिलोपना सुक्नुका साथै लाभदायक सूक्ष्म जीव, जैविक कार्बन र केंचुवा नष्ट हुन्छन् र माटो बिस्तारै निर्जीव बन्छ । पाँच–दश वर्षमा माटोको उर्वराशक्ति घट्ने र किसानलाई झन् बढी रासायनिक मलमा निर्भर हुनुपर्ने जोखिम बढ्नसक्ने उनको भनाइ छ ।

उनका अनुसार पराल जलाउने असर माटोमै सीमित रहँदैन, खेतबाट उठेको धुवाँ हावासँगै हाम्रो स्वासप्रस्वास मार्फत शरीरसम्म पुग्ने र स्वास्थ्यमा असर पुर्याउने जोखिम बढाउँदछ । ग्रामिण भेगका किसानलाई कम्पोष्ट मल बनाउने विषयमा किसानलाई सचेतना जगाउनुपर्ने उनी स्वीकार्छन् ।
कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा. श्रीभगवान ठाकुरका अनुसार खेतमा पराल जलाउनु एकदमै गलत हो । पछिल्लोसमय ट्रयाक्टरबाट खेती गर्न थालिएका कारण गाईवस्तुको सङ्ख्या पनि घट्दै गएको छ । परालको उपयोगिताबारे जानकारी नभएर पराल जलाउने गरिएको बताउँदै उनी भन्छन् ‘पराल कुहाएर मल बनाई प्रयोग गर्न सकिए किसानले राम्रो लाभ लिनसक्छन् ।’
पराल जलाउने गलत अभ्यासलाई कृषिसँग सम्बन्धित समस्या मात्र नभई जलवायु परिवर्तनसँग गाँसिएको विषय भएको उनको भनाइ छ । ‘पराल जलाउँदा कार्बन डाइअक्साइड, मिथेन र नाइट्रस अक्साइडजस्ता ग्रीनहाउस ग्यास उत्सर्जन हुन्छ’ उनी भन्छन्, ‘यसले मधेशमा बढ्दो गर्मी, अनियमित वर्षा र सुक्खा–बाढीको जोखिम पनि बढाउनसक्ने खतरा छ ।’
पराललाई खेतमा आगो लगाएर जलाउनुभन्दा कम्पोष्ट मल बनाउन प्रोत्साहन गर्नुपर्ने कृषिविज्ञ डा. ठाकुरको सुझाव छ । परालको उपयोगिताबारे सचेतना किसानसम्म पुर्याउनुपर्ने कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा. ठाकुरको सुझाव छ । खेतमा पराल जलाएपछिको असरबारे किसानलाई विस्तृत जानकारी नरहेकोले यसले पार्ने दूरगामी प्रभावबारे किसानलाई बुझाउनु अत्यन्त आवश्यक रहेको उनको भनाइ छ ।
Pic. Madheshlive.com