नित्यानन्द मण्डल
रामनारायण मिश्र : प्रजातान्त्रिक आन्दोलनका एक महान योद्धा, निष्ठावान, प्रेरणादायी व्यक्तित्व, पूर्व मन्त्री, विकास एवं युग पुरुष हुन् । उनको स्मृति दिवसको अवसरमा हार्दिक नमन सहित श्रद्धासुमन अर्पण गर्दछु ।
यसै सेरोफेरोमा रहेर उनीसँगै जनकपुरधाम, समसामयिक राजनीतिक परिदृश्य तथा नेपाली काँग्रेसका मौजुदा स्थिति सम्बन्धमा पनि केहि कुरा गर्दा सायद अप्रासाङ्गिक नहोला । भनिरहनु पर्दैन, वि.सं.२०१६ सालमा नेपालका प्रथम जन निर्वाचित सरकारमा उनी मन्त्री भए । उनी वि.पी संगै सुन्दरीजलमा जेल जीवन व्यतित गरे ।
जनकपुर चुरोट कारखानाको निर्माणमा उनको योगदानलाई औद्योगिक क्रान्तिको रुपमा लिइन्छ । सन् ४० को मध्यदेखि सन् ५० को अन्त्यसम्म जनकपुरधामको आधुनिकीकरण नागरिक अग्रसरतामा भयो भने सोभियत सहयोगले चुरोट कारखाना जनकपुरमा बनाउने निर्णयले सहरको अर्थराजनीति पूरै बदलियो ।
कारखाना निर्माणका ठेकेदारहरूले गर्दा इँटाभट्टा बिस्तार भयो । ट्रक चल्न थाले । कारखानाकै जेनेरेटरबाट बिजुली बत्ती पनि बल्न थाल्यो । चुरोट कारखाना सबभन्दा ठूलो रोजगारदाता त थियो, तर त्यसको व्यवस्थापनमा स्थानीयको पहुँच नगन्य थियो । संगठित क्षेत्रको सबभन्दा ठूलो रोजगारदाता जनकपुर चुरोट कारखाना औपचारिक रूपमै बन्द भयो । ठूलो उद्योग बन्द भएपछि त्यसबाट प्रत्यक्ष लाभान्वित हुने श्रमिकको मात्र रोजगारी खोसिन्छ भन्ने होइन् । कारखानामा आधारित ससाना व्यवसायी, आपूर्तिकर्ता एवं सेवा प्रदायकको कारोबार सँगसँगै समाप्त भयो । आर्थिक गतिविधि मन्द भएपछि बजार साँघुरियो एवं व्यापार स्वतः शिथिल भयो । अन्ततः सामाजिक जीवनमा समेत सुस्तता आयो ।
मधेस विद्रोहताका जनकपुरधाम सम्भवतः सबभन्दा संयमित थियो । विरोध प्रदर्शन अपेक्षाकृत सौम्य हुने गर्दथ्यो । यसैवीच मुलुक संघियतामा गएपछि जनकपुरधामले अर्काे परिचय पायो । प्रदेश राजधानी जनकपुरधाम बन्यो । मधेश प्रदेशका सिँहदरबार बन्द रहेका जनकपुर चुरोट कारखाना नै भए ।
जनताका मूलभुत आवश्यक्ता भन्दा पनि आफ्ना आसेपासे पाल्ने, स्वार्थ तथा चरम सत्तालिप्सामा चुर्लुम्म डुबेका मधेश आन्दोलनका राप र तापबाट उदाएकाहरुको सुखसयल, मौजस्थली बन्यो कारखाना । सायद यिनीहरुकै पर्पुरोमा लेखिएका हुनाले नै कारखाना असफल हुन पुग्यो र उनीहरु रजाई गर्न पाए ।
सरकार प्रवर्द्धित भ्रष्टाचारले गर्दा सहरले धान्न सक्नेभन्दा बढी लगानी भित्रिन थाल्यो । जग्गाको मूल्य अकासियो । फलतः सार्वजनिक जग्गा अतिक्रमित हुन थाल्यो । मठ, मन्दिर एवं गुठीका जग्गामा पञ्च–कर्मचारी–अपराधी गठजोडको कुदृष्टि पर्याे । र, सहर उठ्न नसक्नेगरी थला पर्यो । स्थानीय स्रोत र साधनको खुला लुट झन् बढ्दै गयो । सार्वजनिक जीवनको आपराधिकीकरण सुरु भएपछि त्यसबाट कुनै क्षेत्र अछूतो रहन सकेन ।
भनिन्छ राजा महेन्द्रको गाडीमा बम हान्ने घटनापछि जनकपुरधामको दुर्दिन सुरु भयो । दुर्गानन्द झा गणतान्त्रिक चेतनाका प्रथम सहिद भए ।
पुसको जाडोसँगै तराई मधेशको राजनीतिक परिदृश्य पनि कम्ती उदेकलाग्दो छैन । कुनै बेला महेन्द्रनारायण निधिको गान्धीवादी, सरोज कोइरालाको क्रान्तिकारी एवं रामनारायण मिश्रको समन्वयवादी राजनीतिको केन्द्र रहँदै मधेश प्रदेशमा प्रजातान्त्रिक राजनीति संस्कारमा ह्रास आएको छ ।
लामो कालसम्म निष्ठाको राजनीति गरेको नेपाली कांग्रेसका स्थानीय हर्ताकर्ता सन् ९० को दशकपछि पूर्व पञ्चहरूको फगत संशोधित स्वरुपमा रूपान्तरित भए ।
जातीयताका आधारमा पार्टी र प्रदेश चल्न थालेपछि बर्चस्व गुमाएको तुष एवं संघर्षबाट अधिकार हासिल गरेको अहंकारबाट ग्रस्त समुदायबीचको सम्बन्ध सामान्य हुने प्रक्रिया लामो नै हुने रहेछ । समयबाहेक अरु कुनै मल्हमले अविश्वासको घाउ निको पार्न सक्दैन् ।
कामेश्वर कुशेश्वर, उदयशंकर मण्डल, जानकी देवी, मुनेश्वरी देवी लगायतका महान सहिदहरुलाई नेपाली काँग्रेसले सम्झिँदै उच्च सम्मान अर्पण गर्नै पर्दछ । शिवधारी यादव, ललन चौधरी, युवराज खाती, नेवी नदाफ, प्रफुल्ल राज घिमिरे जस्ता कैडरको काँग्रेसले अवमूल्यन गरेकै नतिजा आज पिरोलिएका छन् । जहिल्यै पनि अन्तरघात, कुठाराघातले काँग्रेसलाई सताइ राख्यो ।
राजनीतिक संस्कृति समग्रमा आर्थिक,सामाजिक एवं बाह्य सम्बन्धबाट निरन्तर निर्माण भइरहेको हुन्छ । सायद त्यसैले होला, राजनीतिक संस्कृति जोगाउने कुरासमेत एकप्रकारको कल्पनामा आधारित पुनर्निर्माणकै अभ्यास हो । नेपाली काँग्रेसको हालबेहाल छ । सत्तालाई सराप्न वा सराहना गर्न भन्दा पनि आफ्नै लाभाँश तथा प्रभु रिझाईमा मस्त छन् उनीहरु । काँग्रेसको यो गतिलाई रोक्न भने सकिँदैन् ।
भातृसंगठनहरु पिकनिक मनाउनमै व्यस्त छन् । संगठनसँग कुनै लेनादेना देखिँदैन् । निर्वाचनबाट पनि पाठ सिक्दै अगामी कार्ययोजना तयार गरी कार्यान्वयनमा लाग्नुपर्नेमा दुर्भाग्य यो स्थिति बसालिएन । घडीको सियोलाई नियतिबाहेक अरु कसैले उल्टो घुमाउन सक्दैन् । काँग्रेसीजनलाई लाग्छ विगत फर्काउन जरुरी पनि छैन् । काँग्रेस भित्रका अमिला स्मृतिको छाप भने बासी दूधचियाको दागजस्तो जति धोए पनि मेटिँदैनन् ।
सभ्यता–आधारित मिथिला होस् वा अस्मिता–अभिप्रेरित मधेस, प्रान्तीय राजधानीका रूपमा जनकपुरधामको स्वीयकार्यता, प्रदेशको प्रगति, नेपाली काँग्रेस तथा तराई मधेशका आवाजलाई अस्मिताको जागरणले जनकपुरका धरतीपुत्र गणतन्त्रका प्रथम नागरिक, गान्धीवादी पिताका सुयोग्य पुत्र तथा मधेशका मसिहा भनिएकाहरुले आफ्नो राजनीतिक विरासत, सभ्यता तथा संस्कारप्रति संवेदनशीलता देखाउनेछन् भन्ने आस राख्न सकिन्छ ।
पटकथा त लेखिएला। सक्षम निर्देशक पनि पाइएलान्। तर, कुनै पनि प्रस्तुतिको सफलताका लागि समर्पित पात्र एवं सुधी दर्शक नभई नहुने अवयव हुन् । जनता स्वयं नजागेसम्म कतै केही नहुने रहेछ। त्यो घडी कहिले आउने हो, कसैलाई थाहा हुन्न । तयारी भने निरन्तर भइरहनुपर्छ ।
पत्रकार एवम् साहित्यकार मण्डल, समसामयिक विषयमा कलम चलाउँछन् । सं.