सामाचकेवाः सामचको अबिहे हे, जोतला खेतमे बसिहे हे…

 

श्यामसुन्दर यादव ‘पथिक’

हाम्रो कला, कौशलता, संस्कृती, सभ्यता एवम् विविधतामा एकताको सन्देश दिने विभिन्न चाडपर्वहरु छन् । त्यसमध्ये मिथिला क्षेत्रमा प्रायःजसो प्रत्येक महिनामा कुनै न कुनै पर्वहरु पर्ने गर्दछन् । ती पर्वहरुमध्येको विशिष्ट साँस्कृतिक महत्व बोकेको पर्व हो सामाचकेवा । खासगरी तराई क्षेत्रका मैथिल तथा थारु महिलाहरुद्वारा विशेष महत्वका साथ मनाईने यो पर्वले पुरुषप्रधान समाजमा विभिन्न लाञ्छना तथा आरोपहरु लगाएर महिलाहरुलाई प्रताडित गर्न खोज्ने चुगलाहरु विरुद्ध कडा प्रतिवाद गर्ने सन्देश प्रवाह गरेको छ । यस्ता चुगला विरुद्ध लाग्नुपर्ने भावनाको जागरणका रुपमा समेत यो पर्वलाई लिन सकिन्छ । सामाचकेवा पर्वमा हाल अभिनयकलाको प्रस्तुति लोप भईसके पनि एक शताब्दी अघिसम्म अभिनय समेत हुने गरेकोले यसलाई इतिहास तथा संस्कृतिविद्हरुले लोकनाट्य भनि परिभाषित गरेका छन् ।

यस प्राचीन लोकनाट्यमा भाइ बहिनी बिचको प्रेम, बिरह, वीरता, वेदना, उदारता, निन्दा सहितका मार्मिक प्रसंगहरु रहेको पाईन्छ । भाइ–वहिनी बिचको अमर प्रेम, पितृ तथा गुरुभक्तिका साथै चुगलाको करतुतको परिणाम मुख्यतया सामाचकेवाको कथामा उल्लेख गरिएको छ ।

महिलाहरुद्वारा बनाईएको माटाको सामाचकेवा सहितका मूर्तीहरु ।

करिब तीन हजार वर्ष अघि भारत वर्षको गर्भ देशमा एउटा किसन र आदमबती नाम गरेको सेन वंशीय राजारानी राज्य गर्दथे । उनीहरुका साम्ब नाम गरेको छोरा र सामा नाम गरेकी छोरी थिए । ती दुबैको बीचमा प्रगाढ र पवित्र प्रेम सम्बन्ध रहदै आएको थियो । बाह्र वर्षको कलिलै उमेरमा उनको विवाह मगध राज्यको ७ औं पुस्ताका मौर्य वंशीय राजा शालिसुकको प्रथम पुत्र चारुवक्यसँग भएको थियो ।

सामा आफ्ना भाइ साम्बलाई खुबै माया गर्थिन् । राजाले राजकुमार साम्ब र राजकुमारी सामाको शिक्षादीक्षाका लागि शिक्षकको व्यवस्था पनि गरिदिएका थिए । गुरुको साँझ–विहान आरती गरेर मात्र उनीहरु पढ्न र अन्य काम गर्न सुरु गर्दथे । समयक्रमसँगै उनीहरु जवान हुँदै गए । समय बित्दै गयो । चञ्चल स्वभावकी सामाको कलकलाउँदो बैस तथा सुन्दरता देखेर चुरैठ नामका एक दूराचारीले सामालाई एकान्तको मौका छोपी विवाहको प्रस्ताव राख्दा सामा उसको गालामा थप्पड हिर्काउँछिन् । आक्रोशित चुरैठले थप्पडको बदला लिन सामाको चरित्र हत्या गर्न गुरुसँग उसको अवैध सम्बन्ध भएको गलत लाञ्छना लगाई राजासँग चुग्ली लगाइदिन्छ ।

सामा खेल्न जाँदै महिलाहरु ।

राजाले वास्तविकता नै नबुझी राजकुमारी सामालाई वृन्दावन वनबासको कठोर सजाय सुनाईदिन्छ । गुरुभक्त, पितृभक्त एवम् निष्कलंकित सामा सजायलाई शिरोधार्य गरी आमाबुवा, पति र औधी मिल्ने भाइ साम्ब समेतलाई थाहै नदिई वनबास जान्छिन् । वनबास जाने बेला सामाले व्यभिचारी चुरैठलाई जनमानसमा चर्चित कथामा यसरी श्राप दिएको उल्लेख छः

पापी चुगला रे चुगली लगाके गेल मोर
चुगलाके बातमे परिके भेल मोर वनबास
बाप, माय, पति, भाइ सब छुटल, टुटल नैहराके आस
देह तोहर जरतौ रे चुगला पापी घुन लागतौ ।

अर्थात, मेरो चुगली लगायौ । तिमै्र झुठा कुराले गर्दा मेरो वनवास भयो । बुवा, आमा, पति, भाइ सबैको साथ छुट्यो, माइतिको आश पनि टुटयो । तिम्रो शरिरमा आगो लागोस । हे पापी ! तिम्रो जीऊमा घुन लागोस् । वनबास गमनका क्रममा बृन्दावनमा समेत सामा गुरु, पति र भाइ साम्बको सम्झनामा भौतारिन्छिन् । चिन्ताले गल्दै गएकी उनलाई वनमा दुर्गा भगवतीले संरक्षण दिएको किंवदन्ती छ ।
यता सामा वनबास गएको कुरा आमा, पति र भाइ साम्बलाई समेत थाहा भएपछि सबै मूर्छित हुन्छन् । यस्तो अवस्था सिर्जना भएपछि राजमहलमा रुवाबासी चल्छ । यसैक्रममा महारानी आदम्बती राजा किसनको बैठक कक्षमा गएर यसरी मनको बह पोख्छिन्–

केहेन आहाँके गौरव हे गर्भ राजा चारुदिस भेल उपहास
चुगलाके चुगलीमे परिके यौ राजा बेटीके देलौँ वनबास ।

हे गर्भ राजा, तपाईको गौरव, गाथा, सुयशको कत्रो चर्चा थियो तर अहिले चारैतर्फ उपहास भईरहेको छ । चुगलाको चुक्ल्याइँमा परेर छोरीलाई बनवास दिनुभयो ।

महारानीको कुरा सुनेर राजाले आफूले गरेको गल्तीलाई महशुस गरी यस्तो जवाफ दिन्छन्ः

चुरठके जुनि दोष हे रानी, दोष मोर बहुत रिस ।
विधिके लिखल हे रानी सामाके साथ भेल अनरित ।

सामालाई वनवास पठाउनुमा चुरैठको दोष त छदैछ, रिसको कारणले गर्दा मेरो दोष पनि कम छैन । विधीको विधानमा वनवास लेखिएका थियो । यद्यपी सामामाथि ठूलो अन्याय भएको भनि राजाले पश्चाताप गर्दछन् । वास्तविकता थाहा पाएपछि बृन्दावन पुगेर सबै मिली सामालाई वनबासबाट घर फर्काउने प्रयास गर्दछन् । भाइ साम्बलाई देखेर बहिनी सामा रुन थाल्दछिन् । बहिनीलाई रोएको देखेर भाइ साम्ब बहिनी सामालाई यसरी सम्झाउन थाल्छन्ः

कथिलए कनै छी हे सामा बहिनी, कथिलए टुट्लौ नैहराके आस ।
घर घुमि चल हे सामा बहिनी बाँटि देबौ तोरा आधा राज
घर लौटि चल हे सामा बैहिनी बाबाके देबै हम ज्ञान
तोहुँ जुनि घुरब हे सामा बहिनी, मोही तेजब अपन प्राण…

आज्ञापालक छोरी बुवाको वचन पूरा गर्न भाइ साम्ब र चारुवक्यको पनि कुरा सुन्दिनन् । यसरी भाइ साम्बलाई सम्झाउँदै वचनवद्ध हुने कुरा गर्छिन्ः

जुनि ऐसन करहु हे साम्ब भैया, बाबाके होयतौ बदनाम ।
हमर करमके खोट हे भैया, विधि मोरा भेलै बाम ।।
जुनि हिया हार हे साम्ब भैया, जुनि हम होयब हे निरास ।
दोसर जनमुवा हे साम्ब भैया, फेनो एके कोखि लेबै अवतार ।।

प्राणाहुति दिने कुरा नगर्नुस्, यसले बुवाको ठूलो बदनामी हुनेछ । मेरो भाग्य नै खोटो रहेकोले बिधिले पनि साथ दिएन । तीनै जना अर्को जन्ममा एउटै आमाको कोखबाट सँगै जन्मिने वचन दिएपछि बहिनी सामा वनबासबाट घर फर्किन राजी हुन्छे । उता राजमहलमा भारदारी सभा डाकी दुष्ट भारदार चुरैठको कालो करतुत थाहा पाए पछि राजाले उसलाई जागिरबाट निकाला गर्ने सजाय सुनाउँछन् । आफ्नो गल्ती र अपमानको पीडा सहन नसकी चुरैठ आँपको रुखमा झुण्डिएर आत्महत्या गर्दछ । उसको पापी आत्मा अहिले पनि यो पृथ्वीमा भौतारिरहेको जनविश्वास रहदै आएको छ । त्यसैले राती आकाशबाट आगोको झिल्को जस्तो उल्का पिण्ड पृथ्वीमा झरेको देखेपछि थुक फाल्ने गरिन्छ ।

सामा र चकेवालाई भाइ–बहिनी तथा पति पत्नीको रुपमा समेत मानिन्छन् । स्कन्ध पुराण अनुसार सामा र चकेवा पति–पत्नी हुन् । सामाका पिता कृष्ण तथा पति चारुवक्य थिए । चारुवक्य आश्रममा बस्ने गरेका कारण सामा उनलाई भेट्न गईरहन्थिन् । चुरैठ नाम गरेका चुगलाले सामा जंगलमा ऋषिसँग प्रेम गरिरहेको भनि कृष्णकहाँ चुक्ली लगाईदिन्छ । कृष्ण रिसाएर सामालाई चरा बन्ने श्राप दिएपछि सामा चरा भईन् । यो कुरा औधी माया गर्ने भाइ साम्ब र पति चारुवक्य एकदमै भावविह्वल हुन्छन् ।

दिदी सामाको यादमा विक्षिप्त बनेका साम्बको कठोर तपस्या पश्चात आफ्नी बहिनीलाई चराको रुपमा पूर्ववत पाउन सफल भएको पूराणमा उल्लेख छ । यता पत्नीको वियोगको पीडा खप्न नसकी चारुवक्य तपस्या गरेर चराको रुपधारण गरेको र चारुवक्यबाट अपभ्रंस हुँदै चकेवा भएको हुनसक्ने इतिहासविद्हरुको तर्क रहेको छ ।

यसरी चुरैठको चुगलपनका कारण अनाहकमा राजकुमारी सामाले वनवास गमन गर्नु परेका कारण महिलाहरुले सामाचकेवा पर्व परम्परागत रुपमा मनाउदै आएका छन् । छठको खरनाका दिन अर्थात कार्तिक शुक्लपक्ष चौथी तिथिका दिन विधिवत रुपमा माटाको सामाचकेवा बनाएर यो पर्वको शुरुवात गरिन्छ । सोही दिनदेखि गाउँटोलका महिलाहरु रातीको समयमा बाँसको डालामा माटाको सामा, चकेवा, चुगला, बृन्दावन, तितिर, ढोलिया, बजनियाँ, सतभैयाँ, सखारी, पौती, कुकुर सहितका मूर्तिहरु राखेर खेल्नका लागि खुल्ला चौर वा जोतिएको खेतमा जान्छन् । घरबाट निस्किने बेलामा यसरी गीत गाउने परम्परा मिथिलाक्षेत्रमा कायम छः

आएल कातिक मास हो भैया सामा लेल अवतार
चिठिया लए के जइहे रे हजमा नैहर हमर….
डाला लए बहार भेली, बहिनो से रञ्जु बहिनो
श्याम भैया लेल डाला छीन, सुनु राम सजनी….

कार्तिक महिना आयो, सामा अवतरित भयो । चिट्ठी लिएर मेरो माइत पुर्याई दिनु । डाला लिएर रञ्जु बहिनी घरबाट बाहिर निस्किन् । दाजु श्यामले डाला खोसिदियो भनेर गुनासो गर्छिन् । सामा वनवासमा रहँदा खानेकुरा केही नपाएपछि दुबो र शीत खाएकोले उनलाई महिलाहरुले शुरुका दिनहरुमा दुबो र शीत नै खुवाउने गर्छन् ।
सामचको अबिहे हे जोतला खेतमे बसिहे
सबरंग पटिया ओछबिहे हे, ओहि पटियामे कए कए जना
छोटे बडे नवोजना, नवोजनाके खडे पुडी, हमर भैयाके सोने छुरी…

सामाचकेवा तिमी आएर जोतेको खेतमा बस्नु । रंगीविरंगी गुन्द्री ओछ्याउनु । उक्त गुन्द्रीमा साना ठूला मिलेर नौ जना बस्नु । नवैजनालाई ठाडो छुरी तथा मेरो दाजुलाई सोनाको छुरी भने भाव गीतमा अभिव्यक्त भएको छ ।

पूर्णिमाका दिन सामूहिक रुपमा महिलाहरुले सामा सहितका मूर्तिहरुलाई रंगरोगन तथा सजाउनुका साथै सामालाई विदाई गर्नका लागि चिउरा, दही, मीठाई, खीर आदी समेत तयार गरिन्छ । राति महिलाहरु घर–घरबाट डाला सजाएर टाउँकामा बोकी खेल्नका लागि खुल्ला ठाउँमा लग्ने गर्छन् । गाउँ–टोलका महिलाहरु एकै ठाउँमा भेला भएपछि सामा सम्बन्धी गीतहरु गाउँदै सामाचकेवा सहितका मूर्तिहरुलाई दही, चिउरा, खीर, मीठाई खुवाईन्छ । तत्पश्चात सामालाई तेल, सिन्दुर आदी लगाएर सिंगार–पटार गरिन्छ । घण्टौंसम्म गीतनादसँगै रमाईलो गरेपछि चुगलाको दाह्री, जँुगा तथा केशमा महिलाहरुले आगो लगाउँदै यसरी गीत गाउने गर्छन्ः

पान पान भैया मुख पान, चुगला मुख कोईला
भैया कोठी चाउर चुगला कोठी छाउर
चुगला करे चुगली बिलैया करे म्याउँ
चुगलाके टीक हम नोचि नोचि खाउँ…

मेरो दाजुको मुखमा पान होस, चुगलाको मुखमा कोईला होस्, दाजुको घरमा चामल होस्, चुगलाको घरमा खरानी होस् । चुगली चुगली गर्छ, बिरालो गर्छ म्याउँ, चुगलाको टुप्पी उखेलेर खाउँ भन्ने भाव महिलाहरुले गीतको माध्यमबाट अभिव्यक्त गर्ने गर्छन् । अर्थात दाजुभाइका श्रीसम्पति बृद्धि तथा चुगलाको सत्यानास होस् भन्ने कामना सामाचकेवा पर्वमा दिदी वहिनीहरुले गर्ने गर्दछन् ।

यसैगरी बृन्दावनमा आगो लगाईएपछि दाजुभाइको प्रतिक पुरुषले आगो निभाउने प्रचलन रहँदै आएको छ । मैथिल समाजमा जसरी छोरीको वैवाहिक परिधानपछि जसरी विदाई हुन्छ त्यसरी नै सामालाई सम्पूर्ण उपक्रम सहित विदाई गरिन्छ । यस विषयमा महिलाहरुले यस्तो गीत गाउँछन्ः

डिहुली डिहुली आ गे डिहुली

सामा जाइ छै ससुरा किछु गहना दही गे डिहुली ।

अर्थात सामा ससुराली गईरहेकोले गहना दिनका लागि गीतमा आग्रह गरिएको छ । महिलाहरुले विभिन्न परिधानका गीतहरु गाउँदै रमाईलो गर्दछन् । सम्पूर्ण उपक्रम सकिएपछि यस्तो गीत गाउँदै लोटाको जल खुवाएर सामाचकेवा सहितका मूर्तिहरुलाई औपचारिक रुपमा विसर्जन गर्दै उदास मन लिएर फर्कने परम्परा रहदैआएको छ ।

जाउ हे सामा, जाउ हे चकेवा
भैया सबके आशिष देने जाउ
मिली लियौ जुली लियौ सङ्ग रे सहेलिया
आब सामा जाइ छै दूर देश…

समाजमा छोरी चेलीलाई कुदृष्टिले हेर्ने अनावश्यक रुपमा कुरा काट्ने तथा चुग्ली गर्नेहरु विरुद्ध चेतावनी स्वरुप महिलाहरुले सामाचकेवा पर्व मनाउँदै आएका छन् । परापूर्वकालदेखि पुरुष प्रधान समाजमा महिलाहरु प्रताडित एवम् दमित हुदै आएको धार्मिक तथा ऐतिहासिक ग्रन्थहरुमा समेत उल्लेख छ । खासगरी थारु समुदायका महिलाहरु सामाचकेवा पर्व मनाउनकै लागि माईती समेत जाने गर्दछन् ।

रामायणमा उल्लेख भए अनुसार धोबीले आदर्श नारी सीतामाथि प्रश्नचिन्ह उठाएकोले मर्यादा पुरुषोत्तम रामको आदेशानुसार उनी वनवास गमन गएकी थिईन् । यस्ता सङ्कीर्ण सोचका कारण अहिले पनि हाम्री छोरी चेलीहरु क्षमतावान भएर पनि अपेक्षाकृत रुपमा अगाडि बढ्न सकेका छैनन् । समष्टिगत रुपमा नारी सशक्तिकरणसहित महिलाहरुलाई कुदृष्टिले हेर्ने तथा चुक्ली गर्नेहरु विरुद्ध सन्देश दिन खोजिएको सामाजिक एवम् साँस्कृतिक पर्व सामाचकेवाले अझ व्यापकता पाउनु आवश्यक छ । किनकी महिलाहरुकालागि समावेशीता, सहभागिता र सशक्तिकरणको सन्देश प्रवाह गर्ने यो एक पौराणिक धरोहरसमेत हो ।(लेखक यादव मैथिली साहित्य परिषद्का उपाध्यक्ष हुन् ।) मो.न. ९८४२८२३०५२

Author:



क्याटोगरी छान्‍नुहोस