तुलानारायण साह
पहिलो संविधानसभाको निर्वाचन सम्पन्न भएपछि प्रचण्डजी प्रधानमन्त्री बन्ने पक्का भइसकेको थियो । तर, पहिला राष्ट्रपतिको निर्वाचन हुने भयो (मलाई सम्झना भएसम्म) । सर्वसम्मत रुपमा मुलुकको पहिलो राष्ट्रपति बन्ने चाहना गिरिजाप्रसादको कोइरालाको पनि थियो । तर त्यसबेलाको सबैभन्दा ठूलो र शक्तिशाली पार्टी माओवादीले रामराजाप्रसाद सिंहलाई उम्मेदबार बनाइदिए ।
संसदमा मधेसी दलहरुको र मधेसी अनुहारको राम्रै उपस्थिति थियो । शायद त्यसैकारण धेरैले भनेका थिए, रामराजा प्रसादलाई उम्मेदबार बनाएर माओवादीले मधेसी कार्ड खेलेका हुन् । गिरिजाबाबु निराश हुनुभयो । हार्ने निश्चित भएको अवस्थामा काँग्रेसले डा. रामबरण यादवलाई उम्मेदबार बनाएको थियो ।
काँग्रेसले पनि मधेसी कार्ड खेलेपछि नेकपा एमाले मात्रै किन पछाडि रहनु ? उसले पनि रामप्रित पासबानलाई राष्ट्रपतिको उम्मेदबार बनाई दिए । सदनभित्र माओवादी र तात्कालिन मधेसी जनअधिकार फोरमको गठबन्धन पनि बनिसकेको थियो । त्यसैले रामराजाप्रसाद सिंहको जीत लगभग पक्का पक्की नै मानिन्थ्यो । तर, रातारात गेम चेन्ज भयो ।
फोरममा विवाद भए पनि अधिकांश भोट काँग्रेसको पक्षमा गयो । धेरैले उपेन्द्र यादवलाई जातिवादी राजनीति गरेको आरोप लगाएका थिए । जनयुद्धकालमा पटनामा मातृका यादव, सुरेश आलेमगर र उपेन्द्र यादवसँगै गिरफतार हुँदा रामराजा प्रसाद सिंहको अथक प्रयासबाट उपेन्द्रजी मात्रलाई भारतीय प्रहरीले रिहा गरेको प्रसङ्गहरु फेरि सम्झेका थिए ।
कतिपयले २०४२ को बमकाण्डपछि मृत्यूदण्डका सजाय पाएका रामराजाप्रसाद सिंहलाई भारतले संरक्षण दिएर जोगाएको प्रसङ्गहरु पनि सम्झेका थिए । त्यस गेम प्लानबारे धुरन्धर विश्लेषकहरु नै कन्फयूज रहेको बेला म जस्तो सिकारुलाई झन के हालत भएको होला ?
एक बर्ष बित्न नपाउँदै कटुवाल प्रकरण भयो । काठमाण्डौदेखि दिल्लीसम्मको सुचनामा राम्रो पक्कड भएको एक पत्रकारले मलाई हिन्दीमा भनेका थिए, ’तुलाजी अब गेम समझ मे आया ? क्यौँ रामराजाबाबुको हराना पडा था । अगर वो जिते रहतेँ तो अभी कटुवालजीका क्या हाल होता ? बालुवाटार और शितल निवासका दुरी किलोमिटरके हिसाबसे ज्यादा नही पर राजनीतिमे बहुत माइने रखता है ।’
आज त्यसै सम्झेको मात्र हो । अन्यथा नलिउँ साथी हो । राजनीति न हो, जो खेला वो खेल गया, जो जीता वही सिकन्दर !!
(सामाजिक अभियन्ता एवम् विष्लेशक तुलानारायण साहको फेसबुक वालबाट साभार ।)
तस्विरः http://english.sina.com/