अन्तर्राष्ट्रिय नारी दिवसमा सो दिन महिला कर्मचारीलाई मात्र बिदा दिने गरिएको थियो । अब पुरुष कर्मचारीले पनि विदाको सुख प्राप्त गर्ने गरेका छन् । नारी दिवसमा नारीलाई मात्र बिदा तोक्दा दिवसको अर्थ अधुरै रहने ठानेर पुरुष कर्मचारीमाथि बिदाको कृपादृष्टि बर्सिएको ठान्न सकिन्छ । मानौं रथको एउटा पहियामात्र गुँडिदा, वा अर्धनारिश्वरको अर्धाङ्गमात्र रोमाञ्चित हुँदा, अथवा आधा आकाशमात्र झुल्किँदा खल्लो हुन्छ भनेर नारी दिवसीय बिदामा समानताको नीति अवलम्बन गरियो । एक समय यस्तो थियो, जब नारीको हकमा ‘सकारात्मक विभेद’ को कुरा गरियो र आज त्यो समय हो, जब त्यो कुरा सकारात्मक विभेदबाट माथि उठेर समता र समानताको शिखरमा पुगेको छ ।
नर र नारीलाई प्रकृतिले सँगसँगै पैदा गर्यो, तर त्यही नर र नारीको संयुक्त समाजले भने कहिले नारीलाई माथि उचालेर नरलाई तल पार्ने र कहिले नरलाई माथि उचालेर नारीलाई तल पार्ने कार्य पटक पटक गर्दै आएको छ कहिले नारी प्रधान र कहिले नर प्रधान समाजको रूपमा । संयोगले हामी जन्मेको यो युग नर प्रधान युगको रूपमा रहेको भनिन्छ । नर प्रधान समाजको कुरा गर्दै गर्दा यहाँ नरको प्रधानतालाई संकुचित गर्ने प्रयास पनि गर्दै गरिएको कुरालाई भने भुल्नु हुँदैन, यस अपेक्षाको साथ कि अब आउने दिन समताको दिन हुनेछ, जहाँ नर वा नारीमध्ये कुनै एकमात्र माथि वा तल हुँदैनन्, बल्कि दुबै बराबरी स्तर र महत्त्वका साथ एकअर्काका सहयात्री हुने छन् ।
नर वा नारीको प्रधानता वा असमानताको कुरा एउटा हेर्ने दृष्टिकोण मात्र पनि हो र यथार्थ पनि । यो संसार कहिले पनि पूर्ण रूपमा एकलौटी (नर प्रधान वा नारी प्रधान) रहन सक्दैन । प्रत्येक पक्ष र आयामको मिश्रण नै यो संसार हो । कतै नर प्रधान वा कतै नारी प्रधान वा कतै समता प्रधान । कुनै परिवारमा नरको वर्चश्व रहेको हुन्छ भने कुनैमा नारीको वर्चश्व तर कुनै परिवार यस्तो पनि हुन्छ, जहाँ नर वा नारीको वर्चश्व भन्ने कुरा नै हुँदैन । कित व्यक्तित्वको प्रभाव हुन्छ कित स्नेहको । स्नेहको सागरमा अधिकार र शक्तिको अहंकारले अस्तित्व ग्रहण गर्न सक्दैन । परिवारजस्तै समुदाय र धर्ममा पनि यही कुरा लागू हुन्छ । तर यस तथ्यका बावजूद संसारका हरेक ठाउँमा नारी–विभेदको कुरा उचालेर नारीवादको प्रतिपादन गरियो ।
जम्बुद्वीप महान परम्पराको द्वीप हो । नारीप्रति सदा आदरको भाव रहेको छ । मनुु स्मृति भन्छ कि जहाँ नारीको पूजा हुन्छ, त्यहाँ देवताको वास हुन्छ । प्रत्येकले आफ्नो परिवारमा देवताको वास चाहन्छ, त्यस उसले पनि हरेक परिवारले नारी सदस्यलाई उत्तिकै महत्व दिन्छ जत्ति कि पुरुष सदस्यलाई दिइएको हुन्छ । मध्यदेशीय संस्कृतिमा जो शुभ छ, जो सुन्दर छ, जो शक्तिशाली छ, जो जीवनदायनी छ, त्यसलाई नारीको नाम र रूप दिइएको छ । विद्याकी देवी सरस्वती, धन–धान्य र समृद्धिकी देवी लक्ष्मी तथा शक्तिकी देवी महाकाली मानेर सारा भारत वर्षले पुजेको छ । स्वयं शिव जो सम्पूर्ण ब्रह्म हुन्, उनले पनि शक्तिको अनुपस्थितिमा शिव पनि ‘शव’ (लास) मात्र हो भनेका छन् । शक्ति भनेकै नारी । नारी शक्तिका सहस्रनाम छन् । त्रिदेवी, नवदुर्गा, दस महाविद्या, अष्टलक्ष्मी, चौंसठ योगिनी, शोडष मातृका, सप्त मातृका आदि । नारी शक्ति वर्णनातीत छ ।
हिन्दू धर्ममा यशश्वी नारीको महान परम्परा रहेको छ । यहाँ जीवनको हरेक क्षेत्रमा वैदिक कालदेखि नै नारी पुरुषका समान अग्रणी रहेका छन् । उपनिषद् भन्दछ कि एउटै मूल तत्त्व द्विदल अन्नको दुबै दल झैं नारी र पुरुषको स्वरूपमा विभक्त भएका छन् । त्यसै सिद्धान्त उभेर दुबैलाई परस्पर अर्धांग मानिएको छ । महादेवको अर्धनारीश्वर स्वरूप पुजित हुनुको तात्पर्य नर–नारी समान महत्वका हुन् भन्ने हो । जीवनको प्रत्येक क्षेत्रमा विदुषी, दक्ष, प्रसिद्ध तथा सफल नारीहरूको अनन्त शृंखला छ ।
हुनत कतिपय सामाजिक–आर्थिक कारणले हरेक क्षेत्रमा पुरुष अघि र महिला पछि परेका अवस्थाहरू विद्यमान छन् । तर कतिपय क्षेत्रमा नारी पनि पुरुषभन्दा अघि रहेको अवस्था पनि छ । संस्कृति, जाति, समुदाय वा परिवार जुनसुकै पृष्ठभूमिमा हेरियोस्, पुरुष र नारीप्रतिको दृष्टिकोणमा भने अन्तर छैन । नारीलाई घरको चौहद्दीमा सीमित गरिएको, उसको लागि शिक्षाको द्वार बन्द गरिएको जस्ता तर्क गरिन्छन् तर ती परिस्थितिजन्य कुरा हुन्, विभेदका विषय होइनन् । त्यसैले नारीलाई अघि बढ्ने सवाल जतिखेर पनि उठेको होस् पुरुषले त्यसको विरोध कहिल्यै गरेनन्, बल्कि होस्टेमा हैस्से गर्ने काम नै गरेका छन् । बेहुलीलाई सुसज्जित डोलीमा पुरुषहरूले काँधमा बोकेर भित्र्याउने चलन थियो । समय काल क्रममा डोलीको स्थान गाडीले लियो तर भावमा कुनै अन्तर आएको छैन । हिन्दू धर्ममा आरम्भदेखि नै पुरुषसमान नारीलाई पनि मोक्षको मार्ग प्रशस्त गरिएको छ, जुन अन्य कुनै पनि धर्ममा देखिएको छैन । भ्रूण हत्याको कुरा पनि उठाइन्छ तर मेरो भनाई के छ भने त्यो व्यक्ति विशेषको कुरा हो, सामाजिक, सामुदायिक, सांस्कृतिक, धार्मिक दृष्टिकोण होइन ।
इस्लाम धर्ममा पनि नारीलाई उच्च स्थान प्रदान गरिएको छ । नारीलाई जीवनको हरेक क्षेत्रमा महत्व दिइएको छ । कुरआनमा स्पष्ट भनिएको छ कि आमाप्रति कृतज्ञ हुनुको मतलब अल्लाहप्रति कृतज्ञ हुनु हो । कुरआनमा भनिएको छ– “हामीले मानिसलाई उसको आमा–बाबुको मामिलामा सतर्क गराएका छौं– तिम्रो आमाले थकित भएर पनि तिमीलाई आफ्नो गर्भमा राख्यो । दुई वर्ष त तिमीलाई उसको दूध छोड्नमा नै लाग्यो । तिमी मप्रति कृतज्ञ होऊ र आफ्नो आमा–बाबुप्रति पनि । किनभने अन्ततः तिमीलाई मतिर नै आउनु छ ।” कुरआनले यो पनि भनेको छ कि आमा–बाबुसित राम्रो व्यवहार गर । उनीहरू वृद्ध हुँदा उनीहरूको उपेक्षा नगर, बल्कि उनीहरूका साथ शिष्टतापूर्वक व्यवहार गर भन्दै यसरी प्रार्थना गर्न भनिएको छ, “मेरो खुदा ! जसरी उनीहरूले बालकालमा मेरो पालनपोषण गरे, तिमी पनि उनीहरूमाथि त्यसैगरी दया गर ।” हदीसमा लेखिएको छ कि मातापिताको अवज्ञाको मतलब अल्लाहको अवज्ञा गर्नु हो । हुनत इस्लाम समाज धर्मले जे जसो भने पनि सामाजिक, आर्थिक, राजनीतिक व्यवहारमा नारीप्रति केही अनुदार देखिन्छ, जस्तै नारीलाई घरको चौहद्दीमा सीमित राख्नु, नारीलाई व्यक्तित्वहीन र पराधीन मान्नु, बच्चा पैदा गर्ने यन्त्र र भोग्या ठान्नु यस्ता सामग्रीको रूपमा हेरिन थालियो ।
क्रिश्चिएनिटीको जुन मान्यताहरूको विरोधमा यूरोपीय नारी मुक्ति आन्दोलन वीरतापूर्वक खडा भयो, तीे मान्यताहरू हिन्दू धर्म, बौद्ध धर्म तथा विश्वका सबै धर्ममा कुनै पनि समयमा थिएन । यहाँसम्म कि यहूदी र इस्लाममा पनि यस्तो मान्यता थिएन । यद्यपि नारीमाथि अनेक प्रतिबन्ध इस्लाममा छन् तर यस्तो भयङ्कर मान्यता त्यहाँ कहिले पनि भएन ।
क्रिश्चिएनिटीको मान्यता के छ भने पुरुष नै ईश्वरको प्रतिरूप हो । पुरुष नै समस्त सृष्टिको मालिक हो । पुरुषले नारीलाई दबाएर र आज्ञाकारिणी बनाएर राखोस् तथा उसबाट खूबै आनन्द प्राप्त गरोस् । ईश्वरले संसारमा पहिलो पुरुष ‘एडम’ को एन्कल (खुट्टाको जोर्नी, गाेलीगाँठो) बाट पहिलो स्त्री ‘ईव’ बनायो, जो पुरुषको मनोरञ्जनका लागि बनाइयो । यस प्रकार स्त्री (ईव) पुरुषपछिको रचना हो । स्त्री पुरुषको केवल एक अंश हो, जो पुरुषको मन–बहलाउनको लागि बनेको हो ।
नर–नारीको परस्पर स्वैच्छिक र उल्लासपूर्ण मिलनलाई क्रिश्चिएनिटीले ‘मूल पाप’ को संज्ञा दिएको छ । यस्तो पापको लागि पुरुषलाई शैतानको कथनमा स्त्रीले फकाएको मानिन्छ । त्यसैले स्त्री शैतानको छोरी हो भनिन्छ । नारीले पुरुषलाई सम्मोहित गरेर ‘मूल पाप’ अर्थात कामभाव अर्थात ‘शैतानियत’को जालमा फसाउँछ भनी मानिन्छ । अर्थात स्त्री सम्मोहक (सेडयूसर) हो । ‘मूल पाप’ गर्ने कार्यमा पुरुषलाई तत्पर गर्न स्त्रीले अनुचित आचरण गर्दछ, त्यस कारण ऊ ‘एडल्टरेस’ हो, ‘एडल्टरी’ को दोषी हो । पुरुषलाई सम्मोहित गर्ने अर्थमा ऊ जादूगरनी हो । पुरुषलाई सम्मोहित गर्नु खराब काम हो, त्यसैले ऊ खराब जादूगरनी हो । अतः डायन (बोक्सी) हो । स्त्रीलाई यातना दिनु पुण्य कार्य हो ।
शैतान ईश्वरको प्रतिस्पर्धी हो । ईश्वर र शैतानबीच निरन्तर युध्द चलिरहेको हुन्छ । जीससका पादरी (समूह) लगातार शैतानको साम्राज्यविरुद्ध संघर्षरत रहन्छ, ताकि अन्ततः ईश्वरको जीत होस् । शैतान ईश्वरको शत्रु हो । शैतानविरुध्द युध्द गर्नु र युध्दमा सबै प्रकारको उपाय अपनाउनु हरेक आस्थावान क्रिश्चिएनको कर्तव्य (रेलिजियस डयूटी) हो । नारीलाई, गैरइसाई सबै पुरुषलाई तथा यस धरतीलाई आफ्नो अधीन दबाएर राख्नु, आज्ञाकारी र वशवर्ती बनाएर राख्नु हरेक आस्थावान इसाई पुरुषको कर्तव्य हो र यो कर्तव्य उसले बुध्दि र बलले हर सम्भव तथा अधिकतम उपयोग गरेर गर्नुपर्छ ।
यस्ता मूलभूत मान्यताहरूको कारणले गर्दा क्रिश्चिएनिटीमा ‘क्रिश्चियन स्त्री’लाई अनेकौं शताब्दिसम्म पुरुषको शत्रु र शैतानकी छोरी तथा शैतानको उपकरण मानियो । नर–नारी मिलनलाई ‘मूल पाप’ भनिएकै कारणले विवाह पनि त्यहाँं ‘पाप’ नै मानियो । यद्यपि चर्चको नियन्त्रणमा वैवाहिक जीवन व्यतीत गर्दा भने अपेक्षाकृत ‘न्यूनतम पाप’ मानियो । ता पनि विवाहित स्त्रीलाई मूलतः ‘अपवित्र’ नै मानियो । पवित्र स्त्री केवल ‘नन’ लाई मानियो, जो पादरीहरूको आज्ञाकारिताको शपथ लिएर चर्चमा बस्दथे ।
‘नन’हरूले हठयोगिनी झैं कठोर शारीरिक तप गर्नु पर्थ्यो । पादरी ‘सेलिबेट’ अर्थात अविवाहित हुन्छन्, ‘सेलिबेट’ पादरी ‘नन्स’का साथ उसको सम्मोहनको कारणले प्रायः काम सम्बन्ध बनाई रहन्थे तर त्यसको लागि दोषी भने ‘सेडयूसर’ ‘नन’लाई नै मानिन्थ्यो ।
क्रिश्चिएनिटीको उपर्युक्त पाँचवटै मूल मान्यतासँगै जोडिएको एक महत्वपूर्ण छैठौं मान्यता यो थियो कि स्त्रीले यद्यपि पुरुषलाई फकाएर ‘मूल पाप’ गर्न लगाउँछ, अतः ईश्वरले ‘ईव’ लाई शापित गर्यो । यसै शापमा मासिक धर्म, प्रसव पीड़ा, गर्भ धारण तथा पुरुषको अधीनतामा वास जस्ता दण्ड समावेश छ । त्यहाँ कुल सातवटा शापद्वारा स्त्री शापित छ । कुनै पनि भूलका लागि उसलाई एक स्वस्थ पुरुषको अंगूष्ठाको मोटाई जत्तिको कोर्राले दसदेखि पचास कोर्रा हान्नु क्रिश्चियन पुरुषको सहज अधिकार र कर्तव्य हुन्थ्यो । अपराध गम्भीर भएमा सय वा त्यसभन्दा बढी कोर्राको मार पर्थ्यो ।
क्रिश्चिएनिटीमा मातृत्व पनि एक अभिशाप नै थियो । स्त्रीले गर्भधारण गर्नु ईश्वरद्वारा उसलाई दण्डित गरिएको परिणाम मानिन्थ्यो । सन्तान पनि ‘मूल पाप’ को परिणाम भएकाले वस्तुतः धरतीमाथि पापकै प्रसार भएको मानिन्थ्यो । केवल चर्चलाई समर्पित गरेमा व्यक्ति त्यस ‘पाप’को भारबाट यस कारणले मुक्त हुन सक्ने मानिन्थ्यो कि त्यसो गरेर ऊ उस जीससको शरणमा जान्छ, जसले सूलीमाथि चढेर एडम र ईव तथा उसको समस्त सन्तानहरूद्वारा गरिने मूल पापको प्रायश्चित पहिले नै सबैको तर्फबाट गरेका छन् ।
क्रिश्चिएनिटीका यी सातवटै धारणा एकल छन् । संसारको कुनै पनि अन्य सभ्यता वा धर्मले यीमध्ये एउटै पनि धारणा स्वीकार गर्दैनन् । यी केवल क्रिश्चिएनिटीमा मान्य आस्था हुन् । यस्ता मान्यताका कारण पाँच सय वर्षसम्म सदाचारिणी क्रिश्चियन नारीमाथि थिचोमिचो गरियो, मारियो, जलाइयो, बलपूर्वक डुबाइयो, तेलको कडाहीमा उमालियो, घोडाको पुच्छरमा बाँधेर घिसारियो । ‘क्रिश्चियन स्त्री’ माथिको त्यस्तो अत्याचार कुनै अशिक्षित वा असामाजिक तत्वले गरेका थिएनन्, अपितु सर्वाधिक शिक्षित, संगठित र प्रभुताशाली क्रिश्चियन भद्रजन भनाउँदाले गर्ने गरेका थिए ।
क्रिश्चिएन महिलामा पनि आत्मा हुन्छ, यो १७औं शताब्दीको आरम्भसम्म चर्चद्वारा मान्य थिएन । नारीको स्वतन्त्र व्यक्तित्व त २०औं शताब्दीमा मान्य भयो । सन् १९२९ मा इंग्लैंडको अदालतले मान्यो कि नारी पनि ‘परसन’ हो । नारीमा पनि आत्मा हुन्छ, यो कुरा यूरोपका विभिन्न देशहरूमा २०औं शताब्दीमा आएर मान्य भयो । २०औं शताब्दीमा नारीलाई वयस्क मताधिकार त्यहाँ पहिलो पटक प्राप्त भएको हो । १८औं शताब्दीसम्म नारीलाई बाइबल पढ़ने अधिकारसम्म मान्य थिएन । नारीलाई डायन भनेर उनीहरूलाई लाखौंको संख्यामा १४औं देखि १८औं शताब्दीसम्म जिउँदै जलाइयो र यातना दिएर मारियो । स्पेन, इटली, पुर्तगाल, हालैंड, इंग्लैंड, फ्रांस, जर्मनी, स्विट्जरलैंड आदि सबै देशमा यस्तो कुकृत्य चलिरह्यो ।
अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा यो आलेख कोर्दै गर्दा यी कुराहरूको उत्खनन किन गरिनु सान्दर्भिक लाग्यो भने यी नै सबै भयंकर मान्यताहरूको विरोधमा यूरोपमा नारी मुक्ति आन्दोलन चल्यो र आज त्यसैको परिणामस्वरूप विश्वले एक सय एघारौं अन्तर्राष्ट्रिय नारी दिवस मनाउँदैछ । शताब्दिऔं पुरानो नारी विरोधी मान्यताका खिलाफ चलेको त्यो नारी आन्दोलनले नै उनीहरूलाई पुरुष समतुल्य मान्यो । आन्दोलनले आफूभित्र पुरुष झैं आत्मा र बुध्दिमानी रहेको र ‘नन’ बन्नु भन्दा पत्नी, प्रेमिका र आमा बन्नु तथा स्वाधीन नारी बन्नुलाई बढी महत्व दियो । नारी आन्दोलनकै परिणाम हो कि मातृत्व स्वाधीन व्यक्तित्वमा बाधा प्रतीत भएकै कारणले स्त्रीत्वले बढी महत्व पायो । बाइबल पढन नपाउने समाजमा जागरुक नारी बौध्दिक र विदुषी बनेर प्रकट भए, विद्याको हरेक क्षेत्रमा अग्रणी बने । क्रिश्चियन स्त्रीलाई पुरुषलाई फकाउने भनिन्थ्यो, त्यसैले नारी मुक्तिको एक महत्वपूर्ण अंग शृंगारहीनता या सज्जाहीनता कायम भयो । कामलाई ‘मूल पाप’ मानिने प्रतिक्रियामा काम सम्बन्धलाई स्वतन्त्र व्यक्तित्वको लक्षण मान्न थालियो । समलिंगी सम्बन्ध राष्ट्रिय निर्वाचको मुद्दा बन्नुको पछाडि पनि यी नै कारण हुन् । समग्रमा भन्दा आन्दोलनकै परिणाम हो कि त्यसले नारीवादकै स्थापना गरी नारी अधिकारको व्याख्या गर्यो ।
नारीवाद, सामाजिक–राजनैतिक आन्दोलनको एक किसिम हो, जो राजनीतिक, आर्थिक, व्यक्तिगत, सामाजिक र लैंगिक समानतालाई परिभाषित गर्ने, स्थापित गर्ने र प्राप्त गर्ने लक्ष्यलाई साझा गर्दछ । यसमा नारीको लागि पुरुष समान शैक्षिक र पेसागत अवसर स्थापित गर्नु पनि समावेश छ ।
नारीवादी सिद्धान्तको उद्देश्य लैंगिक असमानताको प्रकृति एवं कारण तथा त्यसको फलस्वरूप उत्पन्न हुने लैंगिक विभेदको राजनीति र शक्ति सन्तुलनको सिद्धान्तमाथि यसको असरको व्याख्या गर्नु हो । नारी विचारसम्बन्धी राजनैतिक प्रचारको जोड प्रजनन सम्बन्धी अधिकार, घरेलू हिंसा, मातृत्व अवकास, समान ज्याला सम्बन्धी अधिकार, यौन उत्पीड़न, विभेद एवं यौन हिंसामाथि रहँदै आएको छ । नारी विचार सम्बन्धी आदर्शको मूल कथ्य यही रहन्छ कि कानूनी अधिकारको आधार लिंग नबनोस् भन्ने हो । आधुनिक नारीवादी विचारको मुख्य आलोचना सदैव यही रहेको छ कि यसको सिद्धान्त एवं दर्शन मुख्य रूपले पश्चिमी मान्यतामाथि आधारित छ । हुनत नारीवादी विचार हरेक देश एवं भौगोलिक सीमामा आफ्नै स्तरमा सक्रिय रहन्छ । हरेक क्षेत्रका नारीवादी विचारको आफ्नो खास समस्या हुन्छन् ।
नारीवादलाई अर्थपूर्ण बनाउन अन्तर्राष्ट्रिय नारी दिवस मनाइने प्रचलन प्रारम्भ भयो । संयुक्त राज्य अमेरिकाको सोशलिस्ट पार्टीले सन् १९०९ फरबरी २८ मा सर्वप्रथम नारी दिवसको आयोजना गर्यो । सन् १९१० मा सोशलिस्ट इन्टरनेशनलको कोपेनहेगन सम्मेलनले यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गर्यो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताअधिकार दिनु थियो, त्यस समय महिलाहरूलाई मत दिने अधिकार कतिपय देशहरूमा थिएन । सन् १९१७ मा रसियाका महिलाहरूले, महिला दिवसमा गास र कपासको लागि हडतालमा जाने निर्णय गरे । यो हडताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई वोट दिने अधिकार दियो । त्यस समय रुसमा जुलियन क्यालेन्डरको प्रचलन थियो र बाँकी धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । यी दुई क्यालेण्डरमा केही फरक छ । जुलियन क्यालेन्डर अनुसार सन् १९१७ को फरबरीको अन्तिम आइतबार २३ फरबरीमा पर्थ्यो जब कि ग्रेगेरियन क्यालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूपमा मनाइन थालियो । वर्तमान समयमा महिला अधिकार, महिला सशक्तिकरण र समानता महिला दिवसका विषयवस्तुहरू बनेका छन् । परिर्वतनको संघारमा रहेका समस्त नेपाली महिलालाई अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना ।