प्रदेशको कुनै परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट आएको छैनः सिटीइभिटी

राजविराज, ७ चैत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटीइभिटी) प्रदेश कार्यालय २ जनकपुरधामले प्रदेशभर कुनै परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट नभएको जनाएको छ ।

परिषद्ले विज्ञप्ति जार्दै जनकपुरबाट शुक्रवार पक्राउ परेका फोटोकपी सेन्टरहरुबाट चिट र पुस्तकहरु मिनिमाइज (साइज सानो बनाएर फोटोकपी गर्ने) गरी विक्री वितरण गर्नेहरु रहेको जनाएको छ ।

परीक्षासँग सम्बन्धित बाहिरी वा भित्री कुनै पनि निकायको पक्राउ परेका व्यक्तिहरुसँग संलग्नता नरहेको परिषद्ले विज्ञप्तिमार्फत जानकारी गराएको हो । विज्ञिप्तमा पक्राउ परेका व्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखेर अनुसन्धान भइरहेको जनाइएको छ ।

के भन्छन् प्रहरी ?

प्रहरीका अनुसार विहिवार सिटीइभिटीद्वारा संचालित डिप्लोमा तहको वार्षिक परीक्षा अनुगमनमा खटिएका अनुगमन समितिले विभिन्न केन्द्रमा परीक्षामा संस्थागत रूपमा तयार गरिएका केहि सानो साईजका फोटोकपी बुकलेटहरू फेला पारेका थिए ।

सोही बारे अनुसन्धान गर्ने क्रममा शुक्रवार धनुषा जनकपुर उपमहानगरपालिका–४ स्थित भैरवचोक र मुरली चौक एरियाबाट सिटीइभिटीको पाठ्यक्रम अन्तर्गतका पुस्तकहरु फोटोकपी गरी चिटको साईजमा बनाएर बिक्री वितरण गर्ने ५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–३ का ३१ वर्षीय रोहित गुप्ता, ५० वर्षीय मनोज कुमार श्रेष्ठ, वडा नम्वर ५ का ३७ वर्षीय बिजय कुमार साह, वडा नम्वर ४ का ६२ वर्षीय जय कुमार साह र सोही ठाउँका ३२ वर्षीय कौशल किशोर साह छन् ।

उनीहरुसँग २ थान ल्यापटप, १ थान मोवाईल र सानो चिट साईजको फोटोकपी बुकहरू ५ बोरा बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुमाथि शिक्षा ऐन २०२८ को दफा १७ को १ (च) बमोजिमको कसुरमा ५ दिन म्याद थप भएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस