पर्यटकको साँचो बन्न सक्छ कंकालिनी मन्दिर

सप्तकोशी नदीमाथि बनाइएको कोशी बाँध र पूल पूर्व–पश्चिम राजमार्गको हिस्सा पनि हो । नेपाल–भारत सीमा र नेपालको सुनसरी–सप्तरी जिल्लाको सीमामा सन् १९५८–१९६२ मा बनेको उक्त बाँध र पुलमा ५६ वटा ढोका रहेका छन् । कोशी बाँधको वारिपारि दुवैतिर टाढा टाढासम्म तटबन्धहरू निर्माण गरिएका छन् । कोशी पुल पूर्व–पश्चिम राजमार्गलाई जोडने आधार पनि हो । कोशी पुलदेखि पूर्व ३ किमी भाण्टाबारी र पश्चिम पाँच किमी भारदह बजार पर्दछ । राजमार्गमा पश्चिमपटिको बाँध टुंगिनासाथ दाहिनेपट्टि एक भव्य मन्दिरको प्राङ्गणमा परिन्छ । यो कंकालिनी मन्दिर हो, स्थानीय बोलचालमा ‘कंकालिनी देवीमाई’ को मन्दिर । राजमार्गमा आवतजावत गर्ने जो कोही मन्दिरको सामुन्ने पुग्दा कंकालिनी देवीमाईको पाउमा शिर निहुराउँछन्, नमन गर्छन् र कंकालिनी देवीमाईको आशीर्वाद चाहन्छन् ।

अजय कुमार झा

कंकालिनी देवीमाई अर्थात् कंकालिनी मन्दिर अवस्थित यो स्थान भारदह हो । भारदह चौक भने यो मन्दिरदेखि एक किमी पश्चिम पर्दछ । भारदहबाट यस सप्तरी जिल्लाको सदरमुकाम राजविराज २४ किमी पश्चिम–दक्षिण कुनामा पर्दछ । कंकालिनी मन्दिर उहिले भारदह गाउँ विकास समिति वडा नं. १ मा र अहिले हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नं. १ मा पर्दछ । हनुमाननगरको हनुमान मन्दिर र भारदहको कंकालिनी मन्दिरको नामबाट यहाँको पालिकाको नामकरण हनुमाननगर कंकालिनी नगरपालिका कायम गरिएको हो । यसअघि १ नं.योगिनिया र २ नं. योगिनिया गा.वि.स., गोबरगाढा गा.वि.स., इनर्वा गा.वि.स. तथा हनुमाननगर गा.वि.स. एकीकृत हुँदा हनुमाननगर योगिनीमाई नगरपालिका नामकरण गरिएको थियो । योगिनिया यहाँ स्थित योगिनीमाई मन्दिरको नामबाट राखिएको थियो । योगिनियामा वैष्णोदेवी माताको पनि मन्दिर रहेको छ । हनुमाननगरमा हनुमानजीको मन्दिर अवस्थित छ । यस प्रकार यस पालिकामा कंकालिनी, योगिनीमाई, वैष्णोदेवी तथा हनुमानजीको गरी प्रसिद्ध मन्दिरहरू रहेका छन् ।

कंकालिनी मन्दिर नेपाल, प्रदेश २ र सप्तरी जिल्लाको प्रसिद्ध मन्दिरहरूमध्ये पर्दछ । यो मन्दिर पाँचस्तरको प्यागोडा शैलीमा निर्माण गरिएको छ । कंकालिनी मन्दिरको यो चौथो पटक बनेको मन्दिर हो । सबैभन्दा सुरुको मन्दिर रहेको स्थान कोशी नदीको गर्भमा परेको छ । उक्त मन्दिरको निर्माण कसले गरेका थिए भन्ने ज्ञात छैन । तर दुई सय वर्षअघि बैरवाका विर्तवाल पंडित उदयानन्द अज्र्यालले मन्दिर बनाएको ऐतिहासिक जानकारीबाट ज्ञात हुन्छ । यता ५० वर्षअघि सन् १९७२ मा भारतका रेलमन्त्री ललित नारायण मिश्र, जो २८ किमी अग्निकोणमा स्थित बलुवा (भारत) का निवासी थिए, ले मन्दिर बनाउन लगाएका थिए । उक्त संरचना जिर्ण भएपछि २० वर्षअघि वर्तमान चौथो मन्दिर बनेको हो । सामाजिक एवं सरकारी सहयोगबाट वर्तमान मन्दिरको निर्माण कार्य भएको र मन्दिरको विस्तारित निर्माण कार्य अझै चालू नै रहेको देखिन्छ ।

मन्दिरमा दुर्लभ कंकालिनी देवीको प्रतिमा प्रतिष्ठापित छ । पत्थरकला र मूर्तिकलाको दृष्टिले यो प्रतिमा र काठमाडौंको दक्षिणकालीमा प्रतिष्ठापित प्रतिमा एकैजस्तो रहेको इतिहासकारहरूको कथन छ । इतिहासविद् हरिकान्त लाल दासले आफ्नो पुस्तक “सप्तरीको राजनैतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू” मा उल्लेख गर्नुभए अनुसार मन्दिरको गर्भगृहमा क्रमशः देब्रेबाट दाहिनेतर्फ ढुंगाको गणेश, बीचमा मूल देवी, जसलाई कंकालिनी भनिन्छ, त्यसपछि दक्षिणकाली, त्यसको छेउमा सानो आकारको विष्णुको मूर्ति छ । मन्दिरभित्रै पूर्वतर्फ कुनामा शिवलिंग पनि स्थापित देखिन्छ । यसबाहेक एउटा पुरानो ढुंगा मूर्ति जस्तै देखिन्छ । त्यसलाई पूजारीहरू काल भैरब वा बटुक भैरव भन्दछन् । मन्दिरको बाहिरी हातामा श्री हनुमानजीको मूर्ति स्थापना गरिएको छ । मन्दिरभित्र प्रतिस्थापित मूल देवी कंकालिनीको मूर्ति कालो शालिग्रामी रंगको डरलाग्दो आकारको छ । मूल देवीको स्वरूप हेर्दा उनले कुनै दानवलाई मारी उसको आन्द्रा विकराल दाँतले चपाइराखेको देखिन्छ । मूर्ति तीन फिट लामो तर खण्डित अवस्थामा छ, जो अत्यन्तै विकराल देखिन्छ । जो कोहीलाई पनि भयभित गर्दछ ।

कंकालिनी शक्तिपीठ हो । हुनत स्थानीयले देवीले “मुखले कंकाल च्यापेको” देखेर कंकालिनी देवी भन्न थालेको भनिन्छ । तर पुरातत्व विभागले प्रकाशित गरेको सांस्कृतिक सम्पदाको प्रारम्भिक प्रतिवेदनको आठौं भागमा कंकालिनी भगवतीको स्वरूपको विषयमा “यो मूर्ति अष्टमातृका देवीहरूमध्येकी एक “चामुण्डा देवी”को मूर्ति हो भनी लेखिएको देखिन्छ । मारकण्डेय पुराणअन्तर्गत दुर्गा सप्तशतीमा देवीका रूपहरूको वर्णन गरिएको पाइन्छ । देवीको काली अवतारले असुर चण्ड र मुण्डको वध गर्ने क्रममा दैत्यहरूलाई पक्रँदै, घिच्रो न्याँक्दै, पाउले कुल्चदै, छातीले धक्का दिँदै, मुखमा हाल्दै चपाउँदै, रक्तपान गर्दै उनीहरूको संहार गर्दछिन् । कंकालिनी देवीको मूर्ति दुर्गा सप्तशतीमा वर्णित चण्ड–मुण्ड संहारक देवी कालीको स्वरूपसँग मेल खान्छ । कंकालिनीको स्वरूप दुर्गाको एउटा रूप कालीको हो भन्ने कुराको पुष्टि बैरवा गाउँको लालमोहरबाट पुष्टि भएको मानिन्छ । कंकालिनी मंदिरको पूजाव्यवस्थाका लागि वि.सं. १८७१ मा राज्यद्वारा गरिएको जग्गादानको लालमोहरको शीर्षमा “श्री दूर्गाज्यू श्री कालिकाज्यू” भनी उल्लेख गरिएकोबाट कंकालिनी देवी कालीको रूप भएको मान्न सकिन्छ ।

देवी महात्म्यका अनुसार देवीको सौम्य, उग्र र सौम्य–उग्र गरी तीनवटा स्वरूप रहेको पाइन्छ । यसमा कंकालिनी उग्र स्वरूपको देवी रहेको प्रतीत हुन्छ, जो अधिकांशतः तान्त्रिक साधकहरूद्वारा पुजिने परम्परा छ । तर कंकालिनी देवीले साधारण भक्तजनलाई पनि अचूक सिद्धि प्रदान गर्दछिन् । कंकालिनी देवीको प्रचलित नाम सुमिरनको दृष्टिले हेर्दा महाकाली सहस्रनामअन्तर्गत नवौं श्लोकमा ‘कंकाली’ भनी उल्लेख रहेको पाइन्छ । यसमा यसरी उल्लेख छ—माहेश्वरी च चामुण्डा वाराही नारसिंहिका ।
वकाङ्ंिग वङ्का–कंकाली नृ–मुण्ड–स्रग्विणी शिवा ।। ९ ।।

यसैगरी श्री चतुःषष्टी योगिनी स्तोत्रको पन्ध्रौं पंक्तिमा “कालाक्षी मोहिनी चक्री कंकाली भुवनेश्वरी” भनी उल्लेख छ । यसो भन्दै गर्दा कंकालिनी कंकालीको अपभ्रंश हो की भन्ने लाग्दछ । नेपालमा बाराको सिम्रौनगढमा कंकालिनी मन्दिर रहेको बताइन्छ । भारतमा त कंकालिनी मन्दिरको नामले दर्जनौं मन्दिरको अवस्थिति रहेको पाइन्छ ।

हुनत कंकालिनी मन्दिरमा दिनहुँ भक्तजनको ठूलो उपस्थिति रहन्छ । नेपाल र भारतको टाढा टाढाबाट कंकालिनी भगवतीको दर्शनार्थ भक्तजन ओइरिन्छन् तर नवरात्रा (दसैं) का बेलाको भीड भने भनी नसक्नु हुन्छ । हुनत वर्षमा चारवटा नवरात्रा पर्दछ तर शरद् ऋतुमा मनाइने शारदीय नवरात्रा र वसन्त ऋतुमा मनाइने चैत्र नवरात्रामा भने भक्तजनको भीड बढी हुन्छ । नवरात्रा संसारकै सबैभन्दा ठूलो चाड हो, जो देवीको उपासनाप्रति समर्पित छ । यस चाडमा भक्तजनले दस दिनसम्म अनवरत रूपमा विशेष पूजा अर्चना अनुष्ठान गरेर देवीलाई प्रसन्न पार्ने प्रयास गर्दछन् । देवी मन्दिरहरूमा पन्ध्र दिनसम्म मेलाको आयोजना गरिन्छ ।

कंकालिनी मन्दिरको ‘बलि प्रथा’ निकै चर्चित छ । कंकालिनी मन्दिरमा भाकल गरी भक्तजन बोका, भेंडा, परेवा, हाँस, पाठो, रांगाको बलि दिन्छन् । यहाँ दैनिक ५० भन्दा बढी तर नवरात्रामा हजारौँ संख्यामा बलि चढाइन्छ । कतिपयले पञ्चबलि चढाउँछन् । वर्षको १०–१५ हजारभन्दा बढि बलि प्रदान हुने गरेको कुरा भारदह निवासी सप्तरीका सुप्रसिद्ध पण्डित मृत्युञ्जय मिश्र बताउनुहुन्छ । शारदीय नवरात्राको नवमीमा रांगाको बलि दिने चलन छ । कंकालिनी मन्दिरमा बाराको गढीमाईपछि दोस्रो धेरै राँगा बलि चढाइन्छ । कंकालिनी मन्दिरमा पछिल्लो वर्ष ६ सय ४ वटा राँगाको बलि प्रदान गरिएको बताइन्छ ।

भारदहदेखि ५ किमी उत्तर–पूर्वी कोणमा स्थित बैरवा गाउँ निवासी विर्तवाल पंडित उद्यानन्द अज्र्याललाई देवीले स्वप्न दिइन् र भनिन् कि म भारदह गाउँमा रहेको पिपल वृक्षमुनि रहेकी छु । मेरो मन्दिर बनाएर मेरो पूजा गर्ने गर । म तिम्रो वंशको रक्षा गर्नेछु । अज्र्यालले स्वप्न देखेको अर्कै दिन पिपल वृक्ष मुनि उत्खनन गर्न लगाए । आश्चर्य कि त्यहाँ देवीले स्वप्नमा बताए झैं त्यहाँ देवी प्रतिमा भेटियो । अज्र्यालले त्यहाँ मन्दिर बनाउन लगाए, देवीलाई प्रतिष्ठापित गरे तथा नियमित पूजापाठको व्यवस्था गरे । मन्दिरको सञ्चालनका लागि स्रोत होस् भनेर मुख्तियार (प्रधानमन्त्री) भीमसेन थापाले १० बिघा जग्गा दिएको इतिहास छ । भीमसेन थापा वि.सं. १८६३ देखि १८९४ सम्म नेपालमा मुख्तियार (प्रधानमन्त्री) रहेका थिए । राजा रणबहादुर शाहका हजुरिया भएपछि भीमसेन थापाको उदय भएको हो । राजा रणबहादुर शाह राज्य परित्याग गरेर निर्वासित जीवन बिताउन भारतको वाराणसी जाँदा भीमसेन थापा पनि सँगै गएका थिए । यसै कृतज्ञताका कारण रणबहादुर शाहले भीमसेन थापालाई नयाँ विस्तारित सरकारमा काजी (मन्त्री) नियुक्त गरे । रणबहादुर शाहको हत्या उनकै सौतेनी भाइ शेरबहादुर शाहद्वारा भए पश्चात भीमसेन थापाले ९३ जनाको हत्या गरेर स्वयम् आफै मुख्तियार बनेका थिए ।

कंकालिनी मन्दिरदेखि २–३ किमी दक्षिण कोशी बाँधछेउ योगिनियामा योगिनीमाई र वैष्णोदेवीको मन्दिर अवस्थित छ । यस गाउँका नागेश्वर यादव गोठिया कुनै समय जम्मु कस्मिरको पहाडीमा अवस्थित वैष्णोदेवीको मन्दिर पुगेका थिए । त्यहाँ उनी दुर्घटनामा परेर अचेत भए । त्यही अचेतावस्थामा उनलाई मातारानी (वैष्णोदेवी) ले उनलाई स्वप्न दिइन् र आफ्नो गाउँठाउँमै पनि मेरो पूजा आराधना गर भनी आदेश दिइन् । उनी गाउँ फर्की मातारानीको मन्दिर स्थापना गरेर पूजापाठ सुरु गरे । यस मन्दिरको पनि टाढा टाढासम्म निकै ठूलो ख्याति रहेको छ । भक्तजनहरू आफ्नो अभीष्ट पूरा हुने कि नहुने भनेर परीक्षण गर्न सक्दछन् । सखडामा जस्तै यहाँ पनि फूलहाइस गर्ने चलन छ ।

सप्तरीको पुरानो सदरमुकाम हनुमाननगर श्री हनुमान मन्दिरको नामबाट परिचित छ । यस मन्दिरमा कालो पत्थरको हनुमानको प्राचीन मूर्ति स्थापित छ । यस्तो प्रस्तरको मूर्ति भारतको उज्जैनमा मात्र रहेको छ ।

सप्तकोशी नदी चीनको हृवाङहो नदीपछि तीब्र गतिमा बग्ने बिश्वको दोस्रो ठूलो नदी हो । कोशी नदी नेपालको सबैभन्दा ठूलो नदी हो । यसका सहायक नदीहरूमा अरूण, तमोर, सुनकोशी, दूधकोशी, लिखु, तामाकोशी र इन्द्रावती पर्दछन् । सातवटा मुख्य सहायक नदी मिलेर बनेको हुनाले यसलाई सप्तकोशी भनिएको हो । हिमालयबाट उत्पत्ति भएका यी सहायक नदीहरू महाभारत पर्वत श्रेणीको तल्लो भागमा सम्मिश्रित भई सप्तकोशीको रूपमा सुनसरी जिल्लाको चतरा गल्छीबाट तराईको समथर क्षेत्रमा प्रवेश गर्दछ । नेपालको लौकही र हनुमाननगरको बीचमा बनेको कोशी बाँध पार गरेर यो नदी भारत प्रवेश गर्दछ र भारतको विहार राज्यको कुर्सेला घाटमा गंगा नदीमा मिल्दछ । कोशी नदीको पौराणिक महत्व छ । तर वर्तमान समयमा यसको पर्यटकीय महत्व छ । कोशी नदीको पर्यटकीय पूर्वाधार विकासको अभावका कारण यस क्षेत्रको विकास अवरुद्ध रहेको छ ।

कंकालिनी मन्दिरदेखि २५ किमी उत्तर–पूर्व कुनामा कोशी टप्पु वन्यजन्तु आरक्ष पर्दछ । सन् १९८७ मा सिमसार क्षेत्रमा सूचीकृत गरिएको कोशी टप्पु एक रमणीय पर्यटन केन्द्र हो । कोशी टप्पु जानलाई यहाँबाट कञ्चनपुर हुँदै र अर्को सुनसरीको हरिपुरबाट जान सकिन्छ । तर कोशी नदीको पश्चिमी किनारामा बनेको तटबन्ध हुँदै गएमा एकै छिनमा पुग्न सकिन्छ । १७५ वकिमी क्षेत्रफलको यो आरक्ष सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ । सन् १९८७ मा रामसार सुचीमा सूचीकृत भएको नेपालको पहिलो ठूलो रामसार क्षेत्रका रूपमा परिचित छ । आरक्षमा ४८९ प्रजातिका चरा, दुर्लभ अर्ना, घडियाल गोही र डल्फीनसमेत पाइन्छ । यहाँ हरेक वर्ष विश्व सिमसार दिवस तथा राष्ट्रिय चरा महोत्सव मनाइन्छ । यो आरक्ष सन् १९७६ मा लोपोन्मुख अर्ना (जंगली भैँसी) हरूको संरक्षीत बासस्थानको रूपमा स्थापना भयो । राम्रो र ठूलो सिमसार क्षेत्र भएका कारण यस आरक्षमा साईवेरियादेखि घुमन्ते चराहरू आवतजावत गर्ने गर्दछन्, त्यति मात्र नभई यो आरक्ष दुर्लभ गिद्धको लागि पनि प्रसिद्ध मानिन्छ । कंकालिनी मन्दिरबाट कोशी टप्पु आरक्ष टुरिष्ट सेवा सञ्चालन गरिएमा विशेष आकर्षण थपिनेछ ।

कंकालिनी मन्दिरदेखि पश्चिम–उत्तर राजमार्गछेउ महादेवपट्टीमा महादेव मन्दिर, रूपनगरमा विष्णु मन्दिर र घोघनपुरमा भजनेश्वरनाथ शिव पार्वती मन्दिर छ । यी मन्दिरका मूर्तिहरू पनि भूगर्भबाट नै फेला पारिएको हो ।

राजमार्गको भारदह–कञ्चनपुरबीच बरमझिया गाउँ पर्दछ । यहाँको पेडा (मिठाई) निकै लोकप्रिय छ । खासगरी छोटो तथा लामो दूरीका यात्रीहरू समेत यहाँ ओर्लेर कोसेलीको रूपमा पेडा लैजाने गर्दछन् । बरमझियादेखि महादेवपट्टीसम्म दर्जनौं पेडा पसल खुलेका छन् । त्यसैले बरमझियालाई अहिले पेडा गाउँ भनेर पनि भन्न थालिएको छ । यहाँ सबैभन्दा पहिले कसले पेडा व्यवसाय सुरु गरे भन्न गाह्रो छ । तर कुनै बुढो व्यक्तिले सबैभन्दा पहिले पेडा पसल थालेको भनाइका कारण सबै पसलवालाले आफ्नो पसलको नाममा बुढो, पुरानो बुढो, बुढो बाजेको जस्ता शब्द झुन्ड्याउने गरेको देखिन्छ ।

कंकालिनी मन्दिरदेखि ३७ किमी दक्षिण–पश्चिम भारतीय सीमानजिक सखडा शक्तिपीठ पर्दछ । यसको पूरा नाम छिन्नमस्ता सखडेश्वरी मन्दिर रहेको छ । यस मन्दिरको पाँच किमी दक्षिण–पश्चिम भारतको महादेवमठमा वीरभद्र भैरवको मन्दिर अवस्थित छ । सात शताब्दिअघि तिरहुत नरेश शक्रसिंहदेवले देवीको स्वप्न पाएर जंगल सफा गराउँदा भेटिएको देवी प्रतिमालाई कुलदेवीको रूपमा प्रतिष्ठापित गरी उपासना आरम्भ गरेका थिए । देवीको शिर विच्छेद भएको देखेर यसको नाम छिन्नमस्ता भनिन थालियो । पछि अध्ययन हुँदै जाँदा देवी प्रतिमा महिषासुरमर्दिनीको रहेको पाइयो । मन्दिरभित्र मूलदेवीका रूपमा महिषासुरमर्दिनी भगवतीको कालो रङको बुट्टेदार मूर्ति छ । मूर्तिको खुट्टातिर राँगाको काटिएको टाउको प्रस्ट रूपमा ढुंगामा कुँदिएको छ । मूल मूर्तिको देब्रेतिर दक्षिणकाली, महिषमर्दिनी र दाहिनेतिर चामुण्डा भैरवी र त्यस्तै कालो रङको अर्को प्रस्तर मूर्ति पनि स्थापित छ ।

यहाँ दश महाविद्याको मन्दिर पनि निर्माणाधीन छन् । नेपाल र भारतबाट निकै ठूलो संख्यामा भक्तजन कंकालिनी र सखडा शक्तिपीठको दर्शन गर्न आउँछन् । तर कंकालिनी (भारदह) – सखडेश्वरी (सखडा) डाइरेक्ट बस सेवा नभएकाले उनीहरू आधा इच्छा मात्र पूरा गरी फर्कन्छन् ।

मन्दिरको विकास समयअनुसार हुँदै आएको छ । मन्दिरको ख्याति र प्रचार पनि बढ्दै गएको छ । मन्दिर वरपर पसलहरू थपिदै गएका छन् । तर यी सबै कुराहरूको गति भने सुस्त रहेको छ । मैथिली, नेपाली, हिन्दी भाषाका प्रसिद्ध पाश्र्व गायक उदित नारायण झा यस भारदह गाउँका र कंकालिनी देवीका भक्त हुन् । मन्दिरको निर्माणमा सहयोग पनि गरेका छन् । उनी अहिले मुम्बईमा बस्छन् । वर्ष दुई वर्षको अन्तरालमा उनले कार्यक्रम दिएमा यस क्षेत्रको प्रचारमा टेवा पुग्नेछ । मन्दिरको व्यवस्थापन समितिले समय समयमा देवी भागवतजस्ता कार्यक्रमको आयोजना गरेमा पनि मन्दिर तथा यस क्षेत्रको विकासमा थप योगदान हुनेछ । पूर्व–पश्चिम राजमार्गमा यो मन्दिर अवस्थित रहेकोले यस मन्दिरको विकासको सम्भावना प्रचुर रहेको छ । साथै कंकालिनी मन्दिरलाई सप्तरीको धार्मिक पर्यटनको सांँचो मानेर जिल्लाकै एकीकृत धार्मिक पर्यटकीय विकास कार्यक्रम बनाएर लागू गरेमा उपलब्धिमूलक हुनेछ । भारदह प्रदेश २ को प्रवेश बिन्दु पनि हो, यसर्थ यहाँ प्रदेश सरकारको पनि उपस्थिति देखिने गरी कुनै संरचनाको निर्माण हुनु आवश्यक देखिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780