होम आइसोलेसनमा बस्दै हुनुहुन्छ ? यस्तो छ पालना गर्नुपर्ने नियम

नेपाल सरकारले लक्षण बिनाको कोरोना संक्रमितहरुलाई निर्दिष्ट मापदण्डहरु पालना गरी घरमै बस्नसक्ने प्रावधान तोकेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरूले आइसोलेसन सम्बन्धी स्वास्थ्य मापदण्ड निर्देशिका २०७७ को पूर्ण रुपमा पालना गरी होम आइसोलेसनमा बस्नसकिने भएको छ । घरमै आइसोलेनसमा बस्ने संक्रमितले निर्देशिकामा उल्लेख भए बमोजिम निम्न लिखित नियमहरुको पालना गर्नुपर्नेहुन्छ ।

१. हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठमा राख्ने व्यवस्था मिलाउने ।

२. उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामग्रीहरु परिवारका सदस्यहरु मार्फत मगाउने ।

३. खानपानको व्यवस्थामा विशेष सावधानी अपनाउनु पर्नेछ, जस्तै स् पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खाने ।

४. प्रयोग गरिएका भाडाहरु सुरक्षित रुपले सफा गर्ने र राम्रोसँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने ।

५.स्नानघर र शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा प्रत्येक प्रयोगपछि सरसफाईमा प्रयोग हुने डिस्इन्फेक्सनले राम्रोसँग सफा गरे पश्चात मात्रै अन्य सदस्यले प्रयोग गर्ने

६. हात धुने बेसिनहरु संक्रमणको स्रोत हुनसक्ने पर्याप्त जानकारी गराई दाँत माझ्ने ब्रस लगायतका समानहरु राख्न छुट्टै बेसिनको प्रयोग गर्ने

७. धेरै प्रयोग हुने चीजहरु जस्तै ढोका, मेसिनका ह्यान्डल, टेबल तथा अन्य सामग्रीहरु जुन धेरै व्यक्तिहरुले चलाउने वा छुने संभावना रहन्छ ती सामानहरुको डिस्इन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने

८. हात धुने साबुन र पानीको पर्याप्त व्यवस्था गर्नुपर्ने र सबै सदस्यहरुले समय समयमा सफा गर्ने

९. भाडाकुडा, कपडा धुनका लागि पञ्जा लगाएर धुने वा मसिनमा छुट्टै धुने र राम्रोसँग घाममा सुकाउने

१०. निजको हेरचाह र प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र निजले अनिवार्य रुपमा मेडिकल मास्क प्रयोग गर्ने

११. बढी जोखिममा रहने समूहहरु जस्तै : दीर्घ रोगीहरु, ६० वर्ष माथिका ज्येगठ नागरिकहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई निजको सम्पर्कबाट टाढा राख्नु पर्नेछ

१२. दिनमा कम्तीमा तीन पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने

१३. हरेक दिन दुई पटक आफ्नो स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एस.एम.एस बाट जानकारी गराउने

१४. निम्न अवस्थाहरु देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तुरुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपर्नेछ:

– श्वासप्रश्वासमा कठिनाई भएमा

– छाती दुखे वा भारी महशुस भएमा

– ओठ तथा अनुहार नीलो देखिएमा

– होस हराएमा

– अन्य कुनै जटिल अवस्था देखिएमा

सम्बन्धित स्वास्थ्यकर्मीले हरेक दिन फोन वा एस.एम.एसबाट बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिने र आवश्यक परामर्श दिई अभिलेख व्यवस्थित गर्नुपर्ने निर्देशिकालाई उद्धृत गरी स्वास्थ्य खबर डट्कम्ले लेखेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस