बेसाहारा बने अगुवा आन्दोलनकर्मी कैलु राम

राजविराज, २७ असोज । मधेश आन्दोलन तथा संविधान निर्माणकालागि कठोर आन्दोलन होस् वा दलित मुक्ति अभियान । जनअधिकारप्राप्तिकालागि सधैं अग्रपंक्तिमा देखिने सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ६ कोचाबखारीका कैलु राम यतिबेला थलिएका छन् ।

२०७५ साउनमा एक राजनीतिक कार्यक्रममै ढलेका उनी पक्षघातबाट ग्रसित भएका थिए । ६६ वर्षिय कैलुको बायाँ हात–खुट्टाले काम गर्न छाडेको छ । हाल उनी आफ्नै घरमा वैशाखीको सहारामा बाँचेका छन् ।

नीजि जग्गा जमिन नभएका उनी अर्काको खेतमा हरवाही तथा गिरहतको खेत बटैयामा लिएर त्यसमै मेहनत गरी गुजारा चलाउँदैआएका थिए । २०५६ सालतिर सप्तरी र सिराहामा शुरु भएको सिनो वहिष्कार आन्दोलनमा उनी सक्रिय भए ।

बलदेव रामको नेतृत्वमा शुरु भएको उक्त आन्दोलनका अभियानीको रुपमा चिनिएका कैलुले लोखरममा कथित उपल्लो जातका व्यक्तिहरुले राम बस्ती अगाडि पशुको सिनो गाडिदिएपछि झबर राम, जगजिवन राम, युक्ति मरिक, जगसेन राम लगायतको सहयोगमा उक्त कार्यको विरोध गर्दै संघर्षमा उत्रेका थिए ।

यस्तै सप्तरीकै भगवतपुरमा दलित जातिका व्यक्तिहरुलाई पोखरीमा नुहाउन रोक लगाएपछि त्यस विरुद्ध सशक्त रुपमा उभिएका उनले उक्त समस्या समाधान गर्न नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

यस अतिरिक्त दलितमाथिको थिचोमिचो, हरुवाचरुवा तथा भूमी अधिकारकालागि भएका संघर्षहरुमा समेत कैलुले महत्वपूर्ण भूमिका निभाए गरे । औपचारिक रुपमा विद्यालय जान नपाएका उनी साथीभाइको सङ्गतबाट हस्ताक्षर गर्न सिकेका छन् । शिक्षाको अवसरबाट वञ्चित रहे पनि अनुभवको हिसाबले उनी पाको छन् ।

पहिलो मधेश आन्दोलन अर्थात ६४ सालतिर मधेशी जनअधिकार फोरम नेपालको नेतृत्वमा भएको मधेशमुक्ति आन्दोलनमा सहभागी हुँदै राजनीतिमा सक्रिय भएको कैलु बताउँछन् । आन्दोलनका क्रममा प्रहरी दमन समेत खेपेका उनी भन्छन् ‘त्यतिबेला नेता शैलेन्द्र प्रसाद साह (वर्तमान प्रदेश २ का भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री), सुरेन्द्र साह, भूपेन्द्र प्रसाद चौधरी लगायतका व्यक्तिहरुसँगै आन्दोलन गरेँ ।’

संविधानसभाबाट समयमै संविधान बन्नुपर्छ भन्ने सङ्कल्पका साथ उनले विभिन्न सङ्घर्षका कार्यक्रमहरुमा सहभागी भए । यद्यपी उनको मनले मानेन ।

पहिलो संविधानसभाबाट संविधान निर्माणमा भईरहेको ढिलाईप्रति चिन्ता व्यक्त गर्दै मन्सी सदालाई साथमा लिएर सप्तरीको छिन्नमस्ता शक्तिपीठबाट नेपालको झण्डासहित लालटिन बालेर १९ दिनको पैदलयात्रा पश्चात राष्ट्रपति भवन तथा सिंहदरबारसम्म पुगेका थिए ।

नेपालमा बसोबास गर्दैआएका सम्पूर्ण जातजाति तथा समुदायको हक अधिकार सुनिश्चितता गरिएको सर्वस्वीकार्य संविधान जारी हुनपर्ने आशयको ध्यानाकर्षण–पत्र तत्कालिन राष्ट्रपति डा. रामवरण यादव समक्ष पेश गरेका थिए ।

यसैगरी सिंहदरबारको परिक्रमा पश्चात बालिएको लालटिनसहित उनी तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराई समक्ष समेत बुझाएका थिए । यद्यपी संविधान निर्माणका क्रममा आपसी किचलो बढ्दै गयो । काठमाण्डौसम्मको यात्राका क्रममा उनीहरुले ठाउँठाउँमा जनताबाट निक्कै सहानुभूति समेत पाए भने यात्राका क्रममा ११९ ओटा ईलाका प्रहरी, प्रहरी चौकी तथा प्रहरी पोष्टहरुमा बास बस्ने, चिया नास्ता, पानीको सहयोग पाएको प्रसङ्ग कैलुलाई ताजै छ ।

काठमाण्डौबाट पुनः गृह जिल्ला फर्केपछि उनले पहिलो संविधानसभा भङ्ग हुने केही दिन मात्र बाँकी रहँदा राजविराज स्थित शहिद दशन चौक (नेता चौक)मा आमरण अनसनमा बस्दै संविधान जारी नभए आत्मदाहको घोषणा गरेका थिए ।

यद्यपी संविधान जारी हुने छाँटकाँट नदेखिएपछि स्थानीय नेताहरुले दवाब दिँदै अनसन स्थलबाट हटाउँदै उनले प्रयोग गरेका सामग्रीहरु जलाईदिएको सम्झिदै उनी भन्छन् ‘संविधान निर्माणकालागि दवाब दिन धेरै प्रयास गरेँ, मलाई अनसन स्थलबाट बलपूर्वक नहटाएको भए म आत्मदाह नै गर्ने निष्कर्षमा पुगिसकेको थिएँ ।’

राजनीतिमा सुच्चा एवम् ईमानदार कार्यकर्तालाई पाखा लगाउन प्रवृति देखिएपछि आफुमा वितृष्णा उत्पन्न भई पार्टी परिवर्तन गरेको उनी सम्झिन्छन् । २०७४ सालको निर्वाचनमा प्रतिनीधिसभा सदस्यमा उनी समेत उम्मेदवार भएका थिए । उनले त्यतिबेला २ सय ८ मात्र पाए ।

पक्षघात हुनुअघि आफुकहाँ नेताहरुले विभिन्न प्रलोभन दिएर आ–आफ्नो पार्टीमा लानकालागि आउजाउ गर्ने गर्दथ्यो । तर जब आफु पक्षघात भएर थला पर्दा नेताहरु अवस्था पनि बुझ्न नआएको उनको गुनासो छ ।

हालसम्म प्रदेश मन्त्री शैलेन्द्र साह, प्रदेश सांसदद्य मनिष सुमन र नेत्रविक्रम साहसहित तीन चार जना नेता भेटन आएको उनी बताउँछन् । ‘प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता जाने बाटो छेउमै रहेको घर अगाडिबाट नेताहरु आउजाउ गर्ने गरेको तर कोही हेर्नसम्म आउँदैन’ उनी भन्छन् ‘शरिरमा ताकत रहेसम्म अधिकारप्राप्तिका आन्दोलनहरुमा सक्रिय रहेँ तर अब त उठबस गर्न पनि आफै वैशाखीको सहारा लिनुपरेको छ ।’

ह्वील चेयरको आवश्यकता

अधिकारप्राप्तिको आन्दोलनका सशक्त अगुवा कैलुलाई उठबस गर्न पनि समस्या भईरहेको छ । शुरुमा परिवारजनको सहारामा उठबस गर्ने गरेको तथा हाल बैशाखीको सहारा लिएको बताउँदै उनी भन्छन् ‘मलाई ह्वील चेयर भईदिएको भए वैशाखी भन्दा केही सहज हुनेथियो, मैले धेरै नेताहरुलाई आग्रह गरें तर आश्वासन मात्रै पाएँ ।’

छोराहरुले दिल्ली पञ्जाबबाट कमाएर आफ्नो ईलाज तथा पालन पोषण गरिरहेको उनी बताउँछन् । आफुलाई कहिँ कतैबाट सहयोग नपाएको भनी गुनासो गर्दै उनी भन्छन् ‘शरिरमा ताकत छँदा साथ दिने तथा हौसला दिने धेरै थियो तर अहिले कसैले पनि वास्ता गर्दैन । ’

कैलुका दुई छोरा र एक पत्नीसहित १० जनाको परिवार छन् । उनको परिवारको मुख्य आम्दानीको श्रोत मजदूरी नै रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस