सप्तरीमा मैथिली पत्रकारिता र सञ्चारमाध्यमको अवस्था

श्यामसुन्दर यादव

 

श्यामसुन्दर यादव

अन्य क्षेत्रहरु जस्तै पत्रकारिता क्षेत्रमा समेत सप्तरी जिल्लाको अग्रणी स्थान रहेको छ । यहाँको पत्रकारिता अत्यन्तै मर्यादित रहँदै आएको छ । जिल्लामा पत्रकारिताको विषयमा चर्चा गर्नु पर्दा २००७ साल पछि नै यहाँ पत्रकारिताको शुरुवात भएको मानिन्छ । यहाँ साहित्यिक पत्रिकाबाट नै औपचारिक रुपमा पत्रकारिताको शुरुवात भएको बताईन्छ ।

२०१८ सालतिर सप्तरी जिल्लामा सर्वप्रथम शिशु प्रसाद देवकोटाको प्रयासमा “खुड्किलो” नामक साहित्यिक पत्रिका प्रकाशन भएको थियो । त्यस पत्रिकाको प्रकाशक तथा सम्पादक स्वयम् देवकोटा नै रहेका थिए । तत्पश्चात समाचारमूलक पत्रिकाको रुपमा “सगरमाथा टाईम्स” प्रकाशनमा आएको हो । उक्त पत्रिकाको प्रकाशक कृष्णराज वर्मा (वरिष्ठ राजनीतिज्ञ) रहेका थिए । उनले विभिन्न उपनामबाट नेपाली, मैथिल र हिन्दीमा कवितामार्फत जनताका भावना अभिव्यक्त गर्ने गर्दथे । वर्मा राजनीतिमा अत्यधिक सक्रिय भएपछि पत्रिकाको सम्पादकको जिम्मेवारी देवकोटाले नै वहन गरे । त्यतिबेला पत्रकारिता क्षेत्रमा अत्यन्तै सक्रिय देवकोटाले “गोरेटो” साप्ताहिक सम्पादन गर्न थाले । सगरमाथा अञ्चलमै गोरेटो पत्रिका निक्कै चर्चित थियो ।

यसैक्रममा भूइदल राईको सम्पादनमा “सगरमाथा” पाक्षिक सञ्चालनमा आएको इतिहास छ । उक्त पत्रिकाहरुमा समाचारसँगै साहित्यिक खुराकहरु समेत हुन्थ्यो । यसैक्रममा २०५१ सालमा रामनारायण देवले मैथिलीमा ‘मिथिलाञ्चल’ दैनिक पत्रिका प्रकाशन थाले । पत्रकार देव स्वयम् प्रकाशक र सम्पादक रहेको उक्त पत्रिका देशकै पहिलो मैथिली भाषाको दैनिक पत्रिकाको रुपमा इतिहास कायम गर्न सफल भए । यद्यपी उक्त पत्रिकाले निरन्तरता भने पाउन भने सकेन, तर हालसम्म पनि आक्कलझुक्कल अंक हेर्न पाइन्छ । पत्रकार देव हाल पनि मैथिली पत्रकारितामा सक्रिय छन् ।

शुरुका दिनमा यहाँका चेतनशील केही युवाहरु काठमाण्डौबाट तथा भारतबाट प्रकाशित हुने पत्रिकाहरुमा सम्वाददाताको रुपमा काम गरेर पत्रकारिता पेशामा आवद्ध भएको देखिन्छ । पछि आफै पत्रिका प्रकाशन तथा सम्पादनमा लागेको बताईन्छ । पत्रिका प्रकाशनको मुख्य भाषा नेपाली रहे पनि मैथिली भाषाका लेख रचना उपलब्ध भएको अवस्थामा प्रायः पत्रिकाहरुले केही न केही स्थान दिँदै आएका छन् । त्यतिबेला छापाखानामा अक्षरहरुलाई जोडेर ब्लक बनाएर पत्रिकाहरु छापिन्थे । मोफसलमा पत्रिका प्रकाशन गर्ने कार्य अत्यन्त कठिन थियो । त्यसमा पनि निरंकुश पञ्चायती शासन व्यवस्थामा समाचार संकलनदेखि सम्पादन, प्रकाशन तथा वितरणसम्मको कार्य निक्कै चुनौतीपूर्ण रहेको थियो । सप्तरीको प्रेस र पत्रकारिताको चर्चा गर्नुपर्दा छापाखाना स्थापना गरी पत्रपत्रिकाहरुको प्रवद्र्धनमा कृष्ण प्रसाद शर्माको योगदानलाई कदापि विर्सन मिल्दैन ।

सप्तरीमा सञ्चारमाध्यमको अवस्था

लोकतन्त्र प्राप्ति पश्चात यहाँ सञ्चारमाध्यम र सञ्चारकर्मीहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै गएको छ । यहाँबाट डेढ दर्जन भन्दा बढी दैनिक पत्रिका र करिब चार दर्जन साप्ताहिक पत्रिकाहरु दर्ता भएका छन् भने एक दर्जन जति द्वैमासिक, त्रैमासिक र मासिक पत्रिकाहरु जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् । तीमध्ये दैनिक र साप्ताहिक पत्रिकाहरु समाचारमूलक नै छन् । नेपाली बाहेक अन्य भाषाभाषीतर्फ मैथिली, थारु र हिन्दी भाषामा आधा दर्जन जति पत्रिकाहरु छन् । वर्तमानमा मैथिली पत्रिकाहरुमध्ये ‘मिथिला’ साप्ताहिक बाहेक अन्य पत्रपत्रिकाहरु अनियमित छन् । वि सं २०५५ सालदेखि प्रकाशन प्रारम्भ भएको मिथिला साप्ताहिक बाइसौँ वर्षमा निरन्तर प्रकाशनमा छ । मैथिली भाषा कै“विदेहराज” साप्ताहिक र “उगना” दैनिक केही वर्ष पाठक बिच लोकप्रिय रहे पनि हाल अनियमित छन् । युवा चित्रांशद्वारा प्रकाशित ‘सुरभि’ मासिक, “अभिनव” द्वैमासिक लगायतका पत्रिकाहरु केही वर्ष प्रकाशन भएर हाल स्थगन अवस्थामा छन् ।

यस्तै सप्तरी जिल्लामा सात ओटा रेडियो एफ.एम.हरु सञ्चालनमा छन् । भोरुकवा, छिन्नमस्ता, सी–एफ.एम., रेडियो मधेश, अप्पन, चन्द्रमा र सखी एफ.एम. सञ्चालनमा आएका छन् । ती एफ.एम.हरु २०६५ सालयता सञ्चालनमा आएको हुन् । एफ.एम.हरु मनोरञ्जनात्मक मात्र नभई समाचारमूलक समेत रहँदै आएका छन् । प्रायः सबै एफ.एफ.एम.हरुले शुरुका केही वर्ष समाचार र अन्तर्वार्तालाई प्राथमिकता दिए पनि हाल आर्थिक समस्या, कर्मचारी अभाव लगायतका समस्याहरुले गर्दा समाचार र अन्तरर्वार्ता सम्वन्धी कार्यक्रमहरु ह्वात्तै घटेको छ । अधिकांश एफ.एम.हरु मनोरञ्जनात्मकतर्फ उन्मुख छन् भने जिल्ला बाहिरका विभिन्न रेडियो नेटवर्कहरुबाट समाचार तथा सूचनामूलक सामग्रीहरु हुक गरी प्रसारण गर्दै आएका छन् ।

शुरुका केही वर्ष ती एफ.एम.हरुमा प्राथमिकताकासाथ मैथिली भाषामा नियमित रुपमा समाचार प्रसारण हुँदै आएको थियो । यद्यपि हाल केही बाहेकका एफ.एम.हरुले मात्र मैथिली समाचारलाई निरन्तरता दिएका छन् । विज्ञापनको अभावले चरम आर्थिक मार, कर्मचारी अभाव तथा प्राविधिक समस्याका कारण चन्द्रमा एफ.एम. र सखी एफ.एम. केही महिनादेखि बन्द भएको छ । स्थानीय रेडियो एफ.एम.हरुले मैथिली भाषाको विकासका साथै मैथिली पत्रकारिताको क्षेत्रमा महत्वपूर्ण योगदान पु्र्याउँदै आएको छ ।

यसैगरी डिजिटल प्रविधिको विकासक्रमसँगै सप्तरीमा समेत आधा दर्जन अनलाइन सञ्चारमाध्यमहरु सञ्चालनमा छन् । ती अनलाइनहरु अधिकांश दैनिक पत्रिकाकै वेब पोर्टल अर्थात कर्पोरेटको रुपमा रहेको छ । अन्य केही अनलाइन भने दैनिक समाचारका अतिरिक्त मैथिली लगायत अन्य भाषाका लेख रचना आदीलाई स्थान दिँदै आएको पाईन्छ । जिल्लामा हालसम्म एउटा पनि टेलिभिजन च्यानलहरु सञ्चालनमा आउन सकेको छैन ।

सप्तरीबाट प्रकाशित पत्रिकाहरुमध्ये लामो समयसम्म तत्कालिन “कृष्णा” साप्ताहिकमा इतिहासविद् प्रा. डा. पिताम्बर लाल यादवले मैथिलीमा नियमित स्तम्भ लेखन गरेको इतिहास छ । यस पत्रिकाले विक्रम सम्वत २०५४ देखि २०५५ सम्म नियमित रुपमा मैथिली भाषाकालागि एक पाना छुट्याउके र सो पानामा एक वर्षसम्म अविविछिन्न रुपमा मैथिली रचनाहरु प्रकाशित गरेका थिए । पत्रकार मुरली प्रसाद यादवको सम्पादकत्वमा प्रकाशित उक्त पत्रिकामा प्रा जन आनन्द मिश्र, डा. अखिलेश कुमार झा, विष्णु कुमार मण्डल, खेलानन्द झा लगायत विद्वानहरुका मैथिली रचनाहरु प्रकाशित भएका हुन् । यस अतिरिक्त न्यूज टुडे, राजविराज टुडे, सूचना साप्ताहिक, आजको वातावरण दैनिक, सगरमाथा आवाज, नविन साप्ताहिक, सत्यापन साप्ताहिक, ग्रीन मधेश, “सत्यापन, साप्ताहिक, राजविराज दैनिक, कल्याण पोष्ट, मध्यदेश साप्ताहिक, पूर्व प्रभात, ताजा दैनिक, आजको जनपुकार लगायतका पत्रिकाहरुले मैथिली भाषामा लेख, रचनाहरुलाई समुचित स्थान दिँदै आएको छ । यसरी जिल्लाबाट प्रकाशित पत्रिकाहरुले मैथिलीलाई ठाउँ दिएर स्थानीय लेखकहरुलाई प्रोत्साहन गरेको तथ्यलाई नकार्न मिल्दैन ।

नेपालमा प्रजातन्त्र प्राप्ति पश्चात अर्थात २०४६ साल पछि सप्तरी जिल्लामा समेत पत्रिका प्रकाशनको क्रमले गति लिएको हो । मैथिली पत्रकारिताको चर्चा गर्नुपर्दा राजविराजको मैथिली साहित्य परिषद्लाई कदापि विर्सन मिल्दैन । २०२६ साल असार २ गते परिषद्को स्थापना भएको र २०४७ मा विधिवत संस्था दर्ता भएको हो । मैथिली साहित्य परिषद्ले मैथिली भाषिक, साहित्यिक, सांस्कृतिक एवम् जागरण सम्वन्धी काम स्थापनाकालदेखि नै गर्दैआएको छ । यसै क्रममा साहित्यिक गतिविधि बढेसँगै छुट्टै मैथिली भाषाको पत्रिका प्रकाशन गर्ने आवश्यकता महसूस गरियो ।

वि.सं.२०५५ सालमा परिषद्द्वारा मिथिला साप्ताहिक नामक पत्रिकाको प्रकाशन शुभारम्भ भयो । विष्णु कुमार मण्डलको सम्पादनमा शुरुवात भएको उक्त पत्रिका हालसम्म पनि निरन्तर प्रकाशन हुँदैआएको छ । पत्रिकालाई थप व्यवस्थित गर्नकालागि शुभचन्द्र झाको अध्यक्षतामा मैथिली मिडिया प्रा.लि. स्थापना गरी प्रकाशनलाई निरन्तरता दिईयो । पत्रिकाको सम्पादकमा हाल प्रा. जनआनन्द मिश्र, सह–सम्पादक देवेन्द्र मिश्र, उपसम्पादकमा सतिश कुमार दत्त रहेका छन् । साहित्यिक र समाचारमूलक पत्रिकाको रुपमा प्रकाशन हुँदैआएको उक्त पत्रिका २०७१ सालमा प्रेस काउन्सिल नेपालबाट पुरस्कृत समेत भएको छ । मिथिला साप्ताहिक पत्रिकामा एक दर्जन भन्दा बढी पत्रकारहरु आवद्ध छन् र यस पत्रिकाको माध्यमवाट यस क्षेत्रका सबै वर्गका लेखकहरुलाई प्रोत्साहन प्राप्त भएको छ।

यसैगरी साहित्यिक पत्रिकाको रुपमा मैथिली साहित्य परिषद्ले ‘वाणी’ नामक साहित्यिक पत्रिका २०३६ सालमा पहिलो अङ्क प्रकाशन शुभारम्भ ग¥यो । पत्रिकाको विमोचन पूर्व प्रधानमन्त्री स्व. मातृका प्रसाद कोइरालाद्वारा गरिएको थियो । उक्त पत्रिका बिच–बिचमा अनियतकालीन भए पनि यस पत्रिकाको प्रकाशन हुँदै आएको छ । साहित्यिक पत्रिकाको इतिहासमा ‘वाणी’को स्थान अग्रणी रहेको छ । वाणी पत्रिकाको पहिलो अंकको सम्पादक प्रा विजयेन्द्र झा, त्यस पछिका केही अंकको सम्पादक प्रा.डा. सुनिल कुमार झा र हालका अंकको सम्पादक देवेन्द्र मिश्र हुन् ।

मैथिली भाषाभाषीको गढ मानिएको सप्तरी जिल्लाबाट महेन्द्र प्रसाद मण्डल ‘वनवारी’ले एक दशक अघि आफै प्रकाशक सम्पादक रही शुरुमा विदेहराज साप्ताहिक साप्ताहिक प्रकाशन गरे । उक्त साप्ताहिकको लोकप्रियातासँगै उनले उगना दैनिक पत्रिका प्रकाशन थाले । यद्यपी केही वर्षसम्म मात्र निरन्तरता पायो ।

यस्तै युवा चित्रांशद्वारा सतिश कुमार दत्तको सम्पादनमा ‘सुरभि’ मासिक साहित्यिक पत्रिका प्रकाशन भयो । अन्य मैथिली पत्रिकाहरु जस्तै यसको प्रकाशन पनि वन्द हुन पुगेको छ । २०५९ सालमा सागरवीर कडारीको सम्पादनमा ‘अभिनव’ द्वैमासिक पत्रिकाको प्रकाशन शुरुवात भयो । प्रधान सम्पादकमा रवेन्द्र मडर ‘रवि’ तथा कार्यकारी सम्पादक स्वयम् पंक्तिकार श्यामसुन्दर यादव रहेको उक्त पत्रिका पनि दुई वर्षभन्दा माथिको यात्रा तय गर्न सकेन ।

प्रा. जनआनन्द मिश्र, देवेन्द्र मिश्र, रामनारायण देव, अनिल कुमार अनल, बैद्यनाथ झा, विष्णु कुमार मण्डल, देवेन्द्र मिश्र, सन्तोष कुमार चौधरी, सुरेन्द्र प्रसाद गुप्ता, शुभचन्द्र झा, सतिश कुमार दत्त, श्यामसुन्दर यादव, श्रवण देव, महेन्द्र प्रसाद मण्डल ‘वनवारी’, जितेन्द्र कुमार झा, अजय कुमार झा,  कमल मण्डल, विद्यानन्द राम लगायतका व्यक्तिहरु मैथिली पत्रकारिता क्षेत्रमा सक्रियताकासाथ कलम चलाउँदै आएका छन् । यस अतिरिक्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रिकाहरुमा मैथिली विषयमा लेखन तथा अनुसन्धानमूलक कार्यमा प्रा. अमरकान्त झा, प्रा.डा. पिताम्बर लाल यादव, रामनारायण देव, देवेन्द्र मिश्र, करुणा झा, मीना ठाकुर, पूनम ठाकुर, आभा सेतु सिंह, विष्णु कुमार मण्डल, धीरेन्द्र प्रसाद साह, श्यामसुन्दर यादव, अजय कुमार झा, जितेन्द्र कुमार झा, राजेश विद्रोही, सागर वीर कडारी, माला कर्ण आदी छन् ।

यस्तै विद्यानन्द वेदर्दी, विप्लव आनन्द, गजेन्द्र गजुर, नवीन यादव लगायतका यूवाहरु अनलाइन सञ्चार माध्यम मार्फत सशक्त रुपमा मैथिली पत्रकारितामा कलम चलाउँदै आएका छन् । मिथिला, मैथिली भाषाको इतिहास, पुरातत्व एवम् सांस्कृतिक अध्ययन अनुसन्धानमा इतिहासविद् स्व.हरिकान्त लाल दास, स्व. मुक्तिनाथ मण्डल, प्रा. डा. पीताम्बरलाल यादवको योगदान अविस्मरणीय रहेको छ । यसैगरी ‘वाणी’ पत्रिकाको कैंयौ अङ्कको सम्पादन गरिसकेका भाषाविद् प्राध्यापक डा. सुनिल कुमार झाले मैथिली भाषा, साहित्य र पत्रकारितामा अभिभावकत्वको भूमिका अनुकरणीय छ ।

यस्तै नेपाली मातृभाषी भएर पनि मैथिली पत्रकारिता तथा साहित्यिक क्षेत्रमा कलम चलाउनेहरुमा शिशु प्रसाद देवकोटा, शिवहरि प्रसाद भट्टराई, व्यासशंकर उपाध्याय, भोलारमण उप्रेती (भोलबा), नन्दलाल आचार्य, मनोहर पोखरेल, मन्जु श्रेष्ठ, रहेका छन् भने मारवाडी मातृभाषी कमला भन्साली लगायतका छन् ।
सप्तरीमा रेडियो पत्रकारिताको चर्चा गर्नुपर्दा २०६५ सालयता नै रेडियो एफ.एम.हरु खुलेका हुन् । ती एफ.एम.हरुमा मैथिली भाषामा समाचार सम्पादन तथा समाचारमूलक कार्यक्रम सञ्चालन गर्ने मिडियाकर्मीहरुमा शिवहरि प्रसाद भट्टराई, व्यासशंकर उपाध्याय, मुरली प्रसाद यादव, हेमशंकर सिंह, श्यामसुन्दर यादव, श्रवण देव, भूषण कुमार सिंह ‘भँवर’, करुणा झा, विनयकुमार लाल कर्ण, जितेन्द्र कुमार झा, विद्यानन्द राम, प्रिया सिंह थारु, प्रमिला चौधरी, विद्यानन्द राम, शिवप्रताप साह, नविन नरसिंह नेपाली, शुभनारायण यादव, दिपा कर्ण, अशोक कुमार झा ‘सन्तोष’, उमेश कुमार मेहता, विजय कुमार मण्डल, राजेन्द्र मिश्र (पप्पु), भूपेन्द्र प्रसाद यादव, रविन्द्र कुमार साह, विनोद ठाकुर, जिबछ दास, नविन चौधरी, रुबी मिश्रा, मन्जु यादव, कल्पना यादव, विद्यानन्द वेदर्दी, प्रतिभा झा, पबिता यादव, कुमकुम यादव लगायतका छन् । उनीहरुले मैथिलीमा समाचार संकलनदेखि वाचनसम्मका कार्यमा सक्रिय भूमिका निर्वाह गरेका छन् । यद्यपी माथि चर्चा गरिएका नामहरुमध्ये अधिकांश रेडियो पत्रकारिताबाट टाढिदै गएका छन् ।

सरकारी उदासिनता तथा स्थानीय स्तरमा विज्ञापनको अभाव, सम्मानजनक पारिश्रमिक नपाउनु लगायतका समस्याका कारण एफ.एम.हरुमा समाचार वा समाचारमूलक सामग्रीहरु प्रशारण हुने क्रम ह्वात्तै घटेको छ । २०६९ सालदेखि सी–एफ.एम.मा नेपाली मातृभाषी शिवहरि प्रसाद भट्टराईले मैथिली भाषामा नियमित अन्तरर्वार्ता सञ्चालन गर्दैआएका छन् ।

मैथिली पत्रकारिता प्रशिक्षण

मैथिली पत्रकारिता विस्तारै अगाडि बढिरहेको अवस्थामा नेपाल प्रेस इन्सिटिच्युट काठमाण्डौ र क्षेत्रीय सञ्चार श्रोत केन्द्र विराटनगरद्वारा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको समन्वयमा नेपालको ईतिहासमै पहिलो पटक राजविराजमा मैथिली पत्रकारिता तालिम २०६० पुस ६ गतेदेखि आयोजना गरिएको थियो । सप्तरी जिल्लामा उक्त तालिम आयोजना गराउन क्षेत्रीय सञ्चार श्रोत केन्द्रको व्यवस्थापन समितिका संयोजक शिवहरि प्रसाद भट्टराई र प्रमुख समन्वयकर्ता अरुण पौडेलको महत्वपूर्ण भूमिका रहेको थियो ।

अग्रज पत्रकार तथा साहित्यकार धर्मेन्द्र विह्वल र विजय मिश्र प्रशिक्षक रहेको सप्तरी उद्योग वाणिज्य संघको सभा हलमा आयोजना गरिएको उक्त तालिममा ऋतु मिश्र, आभा सेतु सिंह, महेन्द्र मण्डल ‘वनवारी’, शुभचन्द्र झा, रवेन्द्र मडर ‘रवि’, राजेश झा, पंकज झा, (पंक्तिकार) श्यामसुन्दर यादव, किशोर कुमार यादव लगायतका सहभागी थिए । यसैगरी सोही तालिममा सिरहाबाट राजकुमार यादव, मनोज कुमार झा, राजेश कुमार वर्मा, प्रभास कर्ण, जयनारायण यादव, विमल ठाकुर, सुनिल महासेठ, जितेन्द्र झा, अजय कुमार साह, राकेश कुमार चौधरी र काशीकान्त झा लगायतका सहभागी थिए ।

मैथिली पत्रकारिताको विकास एवम् पत्रकारहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यका साथ आयोजित उक्त तालिमा ऐतिहासिक नै रहन पुगेको छ । २०६१ साल मंसिरमा सिरहाको लहानमा समेत सोही तालिम आयोजना गरिएको थियो । उक्त तालिममा सप्तरीबाट समेत पत्रकारहरुको सहभागिता रहेको थियो । त्यस उप्रान्त नेपाल पत्रकार महासंघद्वारा व्यवस्थित रुपमा मैथिली पत्रकारिता सम्वन्धी तालिम हालसम्म आयोजना हुन सकेको छैन ।

यसैगरी तात्कालीन सांसद एवम् पूर्व जनसङ्ख्या तथा वातावरण मन्त्री मिथिला चौधरीको सहयोगमा मैथिली मिडिया प्रा.लि.द्वारा पाँच दिने मैथिली श्रव्य तथा लेखन पत्रकारिता तालिम २०७४ जेठ ८ देखि १२ गतेसम्म आयोजना गरियो । तालिमको प्रशिक्षकमा शिवहरि प्रसाद भट्टराई, देवेन्द्र मिश्र र राजेश झा रहेका थिए ।

यस्तै तत्कालिन जिल्ला विकास समिति सप्तरीको सहयोगमा २०७२ असार १० गतेदेखि पाँच दिने मैथिली आधारभूत पत्रकारिता तालिम आयोजना गरियो । तालिममा प्रा. जनआनन्द मिश्र, देवेन्द्र मिश्र, विष्णु कुमार मण्डल, सुरेन्द्र प्रसाद गुप्ता, सतिश कुमार दत्त, श्यामसुन्दर यादव लगायतका व्यक्तिहरुले प्रशिक्षण दिए । यसैगरी हनुमाननगर कंकालिनी नगरपालिकाको सहयोगमा सेड नेपालद्वारा मैथिली भित्ते पत्रिका लेखन तालिम आयोजना गरियो । मुख्य रुपमा देवेन्द्र मिश्र र शुभचन्द्र झा प्रशिक्षक रही माध्यमिक स्तरका विद्यार्थीहरुलाई मैथिली भित्ते पत्रिका लेखन तालिम प्रदान गरियो । स्थानीय स्तरमा छिटफुट रुपमा यस्ता तालिमहरु आयोजना हुँदैआए पनि अपेक्षाकृत उपलब्धी भने हासिल हुन सकेको छैन ।

मैथिली पत्रकार परिषद्को स्थापना

तत्कालीन राजा ज्ञानेन्द्र शाहले शेरबहादुर देउवा नेतृत्वको सरकार २०६१ साल माघ १९ गते विघटन गरी राजनीतिक ‘कू’ गरेका थिए । ज्ञानेन्द्रको ‘शाही शासन’ सुरु भएपछि टेलिफोन, मोबाइल र इन्टरनेट सेवा पूर्ण रूपमा बन्द गरिएको थियो । त्यतिबेला पत्रपत्रिका, टेलिभिजन, रेडियोलगायत सञ्चार माध्यममा कडा सेन्सरसिप थियो ।

प्रेस स्वतन्त्रताको घाँटी निमोठ्ने काम भयो । देशैभरि चर्को विरोध भईरहेको थियो । त्यसै क्रममा नेपाल पत्रकार महासंघ शाखा सप्तरीको आह्वानमा पत्रकारहरु आन्दोलनमा उत्रेका थिए । सेन्सरसीप लगाएको विरोधमा सप्तरीका पत्रकारहरुले निभाएको भूमिका उल्लेखनीय रहेको छ ।

महासंघको आह्वानमा साझा अफसेट प्रेसको मेसिन सडकमै राखेर, सडकमै समाचार लेखन तथा सम्पादन गरी तत्कालिन राजविराज टुडे हाल न्यूज टुडे छापिएको थियो । विकटपूर्ण अवस्थामा अफसेट मेसिन सडकमै राखेर पत्रिका प्रकाशन गर्ने प्रकाशक शिवनारायण साह ‘सुरज’ धन्यवादका पात्र हुन् । त्यतिबेला सडकमा रहेका सप्तरीका पत्रकारहरुलाई सेनाले बन्दुक तेस्र्याएको थियो भने यता सडकमै पत्रिका छापेर पाठकलाई वितरण गर्ने कार्य भईरहेको थियो ।

मिडियामा प्रतिवन्ध लगाएको विरोधमा पत्रकारहरुद्वारा हरेक दिन राजविराजको शहिद दशन चौकमा लाउडस्पीकरमा समाचार वाचन गरिन्थ्यो । समाचार वाचनको माध्यम थियो नेपाली । मैथिली समाचार वाचनकालागि पंक्तिकार श्यामसुन्दर यादवले केही मिनेट समय माग्दा ‘मैथिली सैथिली हुँदैन’ भनेपछि पंक्तिकार प्रा. अमरकान्त झा, प्रा. जनआनन्द मिश्र, स्व. विवेकानन्द झा, विष्णुकुमार मण्डल र देवन्द्र मिश्र, शुभचन्द्र झा, सतिश दत्त लगायतका व्यक्तिहरुकहाँ सल्लाह गर्दा मैथिली साहित्य परिषद्को भगिनी संस्थाको रुपमा छुट्टै मैथिली पत्रकार परिषद् गठन गर्ने निष्कर्ष निस्कियो । सोही अनुसार राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा आयोजित भेलाले पंक्तिकार यादवकै संयोजकत्वमा मैथिली पत्रकार परिषद्को स्थापना गरियो । हाल उक्त परिषद्को नेतृत्व जितेन्द्र कुमार झा जितुले गर्दैआएका छन् ।

मैथिली पत्रकारिताको चुनौती

देशमा अहिले तीन तहको सरकार छ तर मैथिली पत्रिकाहरुको प्रवद्र्धनकालागि कुनै ठोस नीति ल्याउन सकेको छैन । शुरुका दिनमा मैथिली पत्रिकाहरु उत्साहका साथ सञ्चालनमा आए पनि चरम आर्थिक मार थेग्न नसकेर प्रकाशन नै बन्द हुने गरेको छ । जिल्लामा उद्योगधन्दा, कलकारखाना तथा ठूला प्रतिष्ठानहरु नरहेका कारणले पत्रिकाहरुमा खासै विज्ञापन आउनसक्ने अवस्था छैन ।

जिल्लामा रहेका सरकारी कार्यालयहरु समेत विकेन्द्रिकृत भएका कारण सञ्चारमाध्यमहरुमा विज्ञापनको पहुँच घट्दैगएको छ । अर्कोतर्फ नेपाली भाषालाई शिक्षाको माध्यम भाषा बनाइएकोले मैथिली लगायत अन्य मातृभाषाको शिक्षण विद्यालय तहमा नभएको हुनाले मैथिली पढ्न र लेख्न धेरै अप्ठ्यारो महसुस गरिएको छ । यही कारण हो कि पाठकहरुले समेत मैथिली पत्रिका पढ्ने र सहयोग गर्ने अभ्यास अझैं हुन सकेको छैन । अर्को मुख्य समस्याको रुपमा रहेको छ मैथिलीमा लगानीकर्ता नपाउनु । आर्थिक मार खेप्न नसकेर नै अधिकांश पत्रिकाहरु बन्द भएको छ । यस अतिरिक्त मैथिली लेखन एवम् सम्पादन तथा मैथिलीमा समाचार, लेख, रचना ईत्यादी सहज रुपमा उपलब्ध नहुनु केही हदसम्म असहजता भएको छ ।

यसैगरी एफ.एम. तथा अन्य मैथिली सञ्चारमाध्यमकालागि समेत आर्थिक समस्या नै प्रमुख चुनौती बन्न पुगेको छ । यस अतिरिक्त दक्ष जनशक्तिको अभाव पनि सहायक समस्याको रुपमा रहेको छ । एफ.एम.हरुमा विज्ञापनको अभावले गर्दा धान्न नसकेर मैथिली समाचार प्रसारणको काम बन्द भएको छ । हाल मिथिला साप्ताहिक बाहेक कुनै पनि मैथिली पत्रिका नियमित प्रकाशन भएको अवस्था छैन ।

निष्कर्ष

सप्तरी जिल्लामा नेपाली पत्रकारिताको शुरुवातसँगै मैथिली पत्रकारिताको अभ्यास भएको पाईन्छ । उत्साहकासाथ सञ्चारमाध्यमहरु सञ्चालनमा आए पनि आर्थिक समस्याले गर्दा निरन्तरता पाउन नसक्नु दुःखद हो । त्यसर्थ यसलाई दिर्घकालिन रुपमा अगाडि बढाउन तीनै तहको सरकारले सहयोग गर्नु आवश्यक छ ।

मैथिली सञ्चारमाध्यमलाई सबल बनाउनकालागि आर्थिक तथा रचनात्मक भूमिका हुनुपर्दछ । यस अतिरिक्त टिकाउ एवम् गुणस्तरीय बनाउन पत्रकारिता सीप अभिवृद्धि गर्न प्रशिक्षणको समुचित व्यवस्थापन गर्न प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुबाट सहयोग आवश्यक छ । यसकालागि मैथिली सहित अन्य मातृभाषालाई अनिवार्य रुपमा पठन पाठनको भाषा बनाइनु आवश्यक छ । साथै मैथिली लेखन र पठनमा प्रयोग हुने वर्णविन्यास सहितका व्याकरणिक ज्ञान दिने गरी मैथिली पत्रकारिताको सघन र विशेष प्रशिक्षणको व्यवस्था सम्बन्धित निकायहरुवाट सञ्चालन गरिनु अति उपयोगी हुनेछ ।
(लेखक यादव नेपाल पत्रकार महासंघ सप्तरी र मैथिली साहित्य परिषद् राजविराजका उपाध्यक्ष हुन् ।) [email protected]
सन्दर्भ श्रोतः
१. विह्वल धर्मेन्द्र, नेपालीय मैथिली साहित्यक नव आधुनिक काल मैथिली पत्रकारिताः दशा एवम् दिशा, अंक ३, वर्ष २०६२, वाणी, प्रकाशक मैथिली साहित्य परिषद् राजविराज
२ मण्डल मुक्तिनाथ, साहित्य र पत्रकारिता, सप्तरी दर्पण २०५५, प्रकाशक नेपाल सामाजिक विकास सोसाइटी सप्तरी
३. झा, विवेकानन्द, पूर्व अध्यक्ष, मै.सा.प., ”मिथिला पत्रिका ः आरम्भसँ एखन धरि“ आलेख, वाणी, अंक ३, २०६२ ।
४. मिश्र देवेन्द्र, पूर्व अध्यक्ष, मैथिली साहित्य परिषद् राजविराज, ”मैथिली साहित्य परिषदक इतिहास“ शीर्षकको आलेख, वाणी अंक ३, २०६२ ।
५ भट्टराई शिवहरि, पूर्व केन्द्रिय उपाध्यक्ष नेपाल पत्रकार महासंघ, कुराकानी ।
६. झा, शुभचन्द्र, पूर्व अध्यक्ष, मैथिली साहित्य परिषद,अध्यक्ष,मैथिली मिडिया प्रा लि। राजविराज, तथ्य संकलनकालागि कुराकानी ।
७. देव रामनारायण, प्रेस स्वतन्त्रता सेनानी एवम् मैथिली पत्रकार तथा साहित्यकार, कुराकानी ।
८. मिथिला साप्ताहिक, ‘न्यूज टुडे’को विभिन्न अंकमा प्रकाशित समाचार सामग्री ।
९. अन्य, विकिपिडियाका साथै विभिन्न अनलाइनहरुबाट सूचना संकलन ।

Author:



क्याटोगरी छान्‍नुहोस