मधेशको गाउँगाउँमा लोकप्रिय बन्दै महिला किर्तन मण्डली

 

राजविराज, १९ मंसिर । केही वर्ष अघिसम्म मधेशका गाउँगाउँमा प्रायःजसो पुरुष किर्तनीयाँ मण्डलीहरु हुने गर्दथ्यो । विभिन्न अवसरहरुमा भजन किर्तन गाउने ती मण्डलीहरु विस्तारै हराउँदै गएको छ ।

घुम्टोमै सिमित रहँदैआएका ग्रामिण महिलाहरुले किर्तनीयाँ मण्डलीको बिँडो थामेसँगै विस्तारै पुरुष मण्डलीहरु स्वतः निष्क्रिय हुन थालेको छ । शुरुशुरुमा हनुमान अराधना, शिव चर्चा, ब्रम्हाकुमारी राजयोग, गायत्री परिवार ईत्यादीमा सहभागी हुन थालेका महिलाहरु धार्मिक गतिविधिकै माध्यमबाट पाईला अगाडि बढाएका छन् । ती गतिविधिहरुमा सहभागी भएर उनीहरु यतिबेला भजन किर्तन गाउन थालेका छन् ।

वैदेशिक रोजगारीका क्रममा गाउँबाट पुरुष पलायन हुनुले पनि उनीहरुको अभाव पूर्ति गर्न महिला मण्डलीहरु गाउँगाउँमा सक्रिय हुँदैगएको छ । अर्कोतर्फ पुरुष मण्डलीहरु भन्दा महिला मण्डलीलाई जनमानसले रुचाउने गरेको वुद्धिजिवीहरु बताउँछन् ।

गाउँ देहातमा प्रायः धार्मिक अनुष्ठानहरु आयोजन भईरहने गरेकोले त्यसमा पुरुष मण्डली आक्कल झुक्कल मात्र देखिने गरेको सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ५ स्थित शिवशक्ति कलाकुञ्ज अष्ट्याम मण्डलीकी सजनी देवी राम बताउँछिन् । शुरुशुरुमा आफुहरु हनुमान अराधना र शिवचर्चाकै माध्यमबाट घरबाट बाहिर निस्केको बताउँदै उनी भन्छिन् ‘पहिला त ससुरा जेठाजुको अगाडि कसरी जाने ? मुख कसरी देखाउने जस्तो अवस्था थियो तर अहिले त भजन किर्तनका साथै अष्टयाममा समेत धक फुकाएर हामी महिलाहरु नाच्न र गाउन थालेका छौं ।’

किर्तनीयाँ मण्डली महिलाले पनि चलाउन सक्छन् भने कुरा शुरुमा कसैलाई विश्वास पनि नलागेको तर हिम्मतकासाथ अगाडि बढेपछि अहिले चौतर्फी आफुहरुको प्रशंसा भईरहेको सजनी खुशी पोख्छिन् । खासगरी थारु महिलाहरु पहिलादेखि अगाडि रहेको र उनीहरुलाई देखेर झन आफुहरु प्रोत्साहित भएको अनुभव सुनाउँदै उनी भन्छिन् ‘हाम्रो मण्डली सञ्चालन भएको पाँच वर्ष भएको छ, अहिलेसम्म सय भन्दा बढी अष्ट्याममा हामीले काम गरिसकेका छौं ।’ मण्डलीमा जाँदा आफुहरुलाई कुनै कुनै ठाउँमा बासको समस्या हुने गरेकोले आयोजकले छुट्टै बस्ने व्यवस्था गरिदिएपछि विस्तारै असहजता हराउँदै गएको उनको भनाई छ ।

गाउँगाउँमा महिला मण्डलीहरु सक्रिय भएपछि कतिपय पुरुष मण्डली स्वतः निष्क्रिय भएको जानकारी दिँदै सजनी भन्छिन् ‘गाउँमा पूजापाठ होस् वा अन्य कुनै धार्मिक अनुष्ठान, हामी नै हार्मोनियम, ढोलक, झ्याली इत्यादी बाद्यवादन बोकेर भजन किर्तन गर्न जान्छौं, हामी जस्ता ग्रामिण महिलाहरु सामाजिक मर्यादामा रहँदै पुरुषले गर्ने हरेक काम गर्न सक्छौं जस्तो लागेको छ र आत्मबल बढ्दै गएको छ ।’

यस्तै अनुभव सुनाउँछिन् सुनसरीको रामधुनी गाउँपालिका वडा नम्वर ३ स्थित सिताराम मण्डलीकी सभापति सरस्वती चौधरी । उनी एक निजी विद्यालयमा कार्यरत छिन् । यद्यपी समय मिलाएर उनी विगत दुई दशकदेखि मण्डली समेत चलाउँदैआएकी छिन् ।

आफुहरु सङ्गठित भएर धेरै पहिलादेखि मण्डली सञ्चालन गर्दै आएको बताउँदै सरस्वती भन्छिन् ‘हामी त पूर्ण अभ्यस्त भईसकेका छौं, आसपासका जिल्लाहरुका साथै भारतको विभिन्न स्थानहरु समेत पुगेका छौं, महिला हुँदैमा डराउनुपर्ने अवस्था छैन, सट्टा गर्ने बेलामै सबैकुरा हामी क्लियर गरेर जान्छौं त्यसैले कुनै समस्या छैन ।’

शुरुमा आफुहरु अष्ट्याममा काम गर्न जाँदा महिला मण्डलीको नाम सुनेर दर्शकहरुको भींड लाग्ने गरेको स्मरण गर्दै उनी भन्छिन् ‘हामीबाटै प्रेरित भएर अहिले गाउँगाउँमा महिला मण्डली खुलिसकेका छन् र कति अभ्यासका क्रममा छन्, यो अत्यन्तै सकारात्मक हो, यसले घुम्टोभित्र लुकेका प्रतिभावान अनुहार सामुन्ने आउनु, कला प्रदर्शन गर्न पाउनु महिला सशक्तिकरणको पाइला नै हो ।’ धार्मिक अनुष्ठानकै नाउँमा भए पनि महिलाहरु सिमित घेरा परिधीबाट बाहिर आउनु र आफ्नो सक्षमता प्रस्तुत गर्न अत्यन्तै सकारात्मक भएको सोही मण्डलीकी अर्का सदस्य ललिता चौधरी बताउँछिन् ।

‘धार्मिक अनुष्ठानहरुमा कला प्रदर्शन गर्नु राम्रो हो, तर नाचगानको नाउँमा विकृति निम्त्याउनु हुँदैन’ उनी थप्छिन् ‘पुरुषको अगाडिसम्म जान लजाउने महिलाहरु मण्डली चलाउँछन् भने पुरुषहरुले घरबाट प्रोत्साहन गरिरहेका छन्, मण्डलीबाट थोरै भए पनि आम्दानी हुने गरेकोले पति वा परिवारका अन्य सदस्यहरुको भर पर्ने अवस्था अन्त्य भएको छ ।’

धार्मिक गतिविधिहरुमा सहभागी हुँदै महिलाहरु अगाडि आउनु सामाजिक रुपान्तरण र महिला सशक्तिकरणको सबल उदाहरण भएको अधिकारकर्मी एवम् लेखिका करुणा झा बताउँछिन् । केहीवर्ष अघिसम्म पुरुषमै सिमित रहेको किर्तनीयाँ मण्डली अहिले महिलाहरुले समेत आफै सञ्चालन गर्नु सकारात्मक रहेको बताउँदै उनी भन्छिन् ‘महिलाले अवसर पाए सबथोक गर्न सक्षम छन्, गाउँगाउँमा रहेका महिला मण्डलीहरुले महिला हिंसा विरुद्धका गतिविधिहरुका साथै सामाजिक कार्यहरुमा समेत अग्रसरता देखाउँदै सबल बन्नु आवश्यक छ ।’ केही गर्ने ईच्छा शक्ति भएका महिला तथा छोरीहरुलाई समाजले थप प्रोत्साहन गर्नुपर्ने साहित्यकार झाको भनाई छ ।

Author:

क्याटोगरी छान्‍नुहोस