राजविराज, २१ पुस। दुई वर्ष आठ महिना अर्थात २०७५ वैशाखमा सप्तरी जिल्लामा विद्यालय भर्ना अभियान चलेको थियो । उक्त अभियान अन्तर्गत जनप्रतिनिधिदेखि मन्त्रीसम्मकाले गरिब, दलित एवम् विपन्न बालबालिकाको अभिभावक बनेर विद्यालय भर्ना गराए । त्यतिबेला विद्यालय भर्ना गराउन अभिभावक बन्ने अभियानले निक्कै चर्चा पायो ।
जिल्लामा गरिब, दलित एवम् विपन्न वस्तीका बालबालिकाहरुले विद्यालय जानबाट वञ्चित भएको भनी विभिन्न सञ्चारमाध्यमहरुले निरन्तर समाचार सार्वजनिक गरिरहेका थिए । सोही क्रममा सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर ५ मलेकपुर स्थित डोम बस्तीका बालिकाहरु विद्यालय जानबाट वञ्चित भएको समाचार स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यममा आएको थियो । उक्त समाचार पढेर चर्चित गायिका अञ्जुले यादव डोमबस्ती पुगेर बालिकाको अवस्थाबारे जानकारी लिईन् । वस्तीका तीन बालिकालाई आफुले व्यक्तिगत खर्चबाट पढाउने सङ्कल्प गरिन् ।
गायिका अन्जु राजविराज पुगेर उनीहरुकालागि सर्ट र स्कर्ट सिलाईन् । झोला, कापी, पेन्सिलसहितका शैक्षिक सामग्रीहरु खरिद गरेर वैशाख २३ गते विहान स्थानीय पत्रकारहरुको सहयोगमा डोम बस्ती पुगिन् । तीन बालिकाहरुको अभिभाकत्व ग्रहण गर्न बस्ती पुग्दा बालिकाहरु सुँगुर चराउन गएकी थिईन् । विद्यालय जाने मन हुँदाहुँदै पनि आर्थिक रुपमा पिरोलिएर आफ्नो इच्छा मारेर बसेकी शान्ति मरिक, सजन मरिक र १० पिंकी मरिकलाई आफैले लुगा लगाई, कपाल कोेरेर कापी, कलमसहितको झोला समेत तयार गरिन् । उनी आफै बालिकाहरुलाई डोर्याउँदै विद्यालय पुगेर निमित प्रधानाध्यापक गौरीशंकर शर्मालाई आग्रह गर्दै नाम लेखाउँदै अभिभावकत्व ग्रहण गरिन् ।
अभिभावकत्व ग्रहण गर्दै गायिका यादवले ती बालिकाहरुलाई माध्यमिक तहसम्म पठनपाठनका लागि आवश्यक पर्ने पोशाक, किताब–कपी, जुत्ता, झोला तथा पेन्सिल लगायतका सामग्री आफुले व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरिन् । गीत रेकर्ड तथा आफ्नो दैनिक खर्च कटाएर व्यवस्थापन गर्ने उनले प्रतिवद्धता गरिन् ।
त्यतिबेला जनप्रतिनिधिदेखि तत्कालिन मन्त्रीसम्मले अभिभावक बनेर गरिब, विपन्न एवम् दलित बालबालिकालाई विद्या लय भर्ना त गराए । तर अहिलेसम्म ती बालबालिकाको अवस्थाबारे अपवाद बाहेकले सोधखोजसम्म गरेको छैन । भर्ना अभियानमा अभिभावक बनेकाहरुको लामो फेहरिस्तमा गायिका अन्जु पनि हुन् । फरक यतिमात्रै छ कि उनले जनाएको प्रतिवद्धतालाई भने हालसम्म कायम राख्दैआएकी छिन् ।
केही महिनाको फरकमा बालिकाहरुसँग भेट्न डोम बस्ती पुग्ने गर्छिन् । उनीहरुकालागि कापी, कलम, चप्पल, झोला सहित खानेकुरा समेत बोकेर जान्छिन् । विद्यालयमा सिकेका कुराहरु लेख्न लगाउँदै बालिकाहरुसँग आफु पनि गीत गाउँदा उनीहरुलाई पनि सँगै गाउन लगाउँछिन् । केही घण्टा बस्तीमा बिताएर ज्ञानगुणका कुरा सिकाउँदै फर्किने गर्छिन् । यो क्रम भने लगभग चार पाँच महिनाको फरकमा दोहोरिँदैआएको थियो ।
समयक्रमसँगै गत फाल्गुनमा अन्जुको विवाह धनुषाको लक्षमिनियाँ गाउँपालिका सोहनी निवासी वाक तथा श्रवण विशेषज्ञसँग भयो । त्यसपछि अन्जु जन्मघर अर्थात विष्णुपुर गाउँपालिका १ खुरहुरिया छाडेर ससुराली गईन् । त्यहाँबाट दुलहासँगै माइती आएकी अन्जु बालिकाहरुकालागि लत्ताकपडा, शैक्षिक सामग्रीसहित कोशेली बोकेर फागुनको अन्तिम सातातिर डोम बस्ती पुगिन् ।
दुवैजनालाई वस्तीमा देखेर ती बालिका तथा वस्तीका अभिभावकहरु अत्यन्तै खुशी भए । फगुवा अर्थात होरी पर्व नजिएकाले नवदम्पति अन्जु र रामविनयलाई बालिकाहरुले अबीर लगाएर रमाईलो गरे । फेरी फर्किने वाचा गर्दै नव दम्पति प्रस्थान गर्न लाग्दा ज्वाइँलाई खाली हात जान दिनुहँदैन भन्दै ती बच्चीका अभिभावकले बाँसको बेना मायाको चिनोका रुपमा पाएका थिए । यतिमात्र होइन, दुलहा रामविनयलाई गोडलगाईमा ५० रुपैयाँ दिन लाग्दा दुलहा रामविनयको आँखा रसाएका थिए । उच्च संस्कार र भावना हुँदाहुँदै किन हाम्रो समाजमा डोम जातिसँग छुवाछुत गरिन्छ ? प्रतिप्रश्न गर्दै फेरी चाँडै फर्किने बाचा सहित हात हल्लाउँदै अन्जु र रामविनय प्रस्थान गरेका थिए ।
दुवै जना काठमाण्डौ प्रस्थान गरेको दश दिन पनि वित्न नपाउँदै लकडाउन भयो । उनीहरु काठमाण्डौमै थुनिए । अन्जुका पति रामविनय पाटन र नर्भिक हस्पिटलमा कार्यरत रहेका कारणले पनि कार्यक्षेत्रमा खटिनुपर्ने अवस्था थियो । लकडाउन खुलेपछि अर्थात साढे नौ महिना पछि अन्जु दुलहाकासाथ माइती खुरहुरिया आए । उनीहरुले बालिकाहरुकालागि कापी, डट्पेन, सर्ट र स्कर्टको कपडा बोकेर सोमबार विहान बस्ती पुगे । हुन त पहिलाको डोम बस्ती अहिले फेरिदै गईरहेको थियो । अर्थात पहिला फुसको छाप्रो थियो भने अहिले जनता आवास कार्यक्रम अन्तर्गत पक्की घरहरु निर्माणको अन्तिम चरणमा थियो । दुवै जना वस्ती पुगेपछि बच्चाहरु खुशी हुँदै ‘अन्जु दिदी आ दुलहा एलै’ भन्दै नजिक आईन् ।
अहिलेसम्म के के सिक्यौ तिमीहरु ? भन्दै तीनै जनालाई नाम लेख्न लगाए । त्यसपछि शैक्षिक सामग्री उनीहरुलाई हस्तान्तरण गरे । अहिले पिंकी मरिक कक्षा ३, चादनी मरिक र सजन मरिक कक्षा २ मा गएकी छिन् । विद्यालय भर्ना भएकी शान्ति मरिकले विद्यालय जान आनाकानी गरिरहेको र मावली बस्न रुचाउने गरेको थाहा पाएपछि अभिभावकसँग भेटेर नियमित विद्यालय पठाउन आग्रह गरे ।
दुलहा रामविनयले यसपाली कान जाँच्ने मेसिन समेत साथमा बोकेर ल्याएका थिए । उनीहरुको कान जाँच गर्दै सरसफाईमा ध्यान दिन तथा पोखरीको पानीमा ननुहाउन उनले सुझाव दिए । डोम बालिकाहरु मन लगाएर पढ्न आग्रह गर्दै अन्जु र रामविनय सोमवारै पुनः काठमाण्डौ फर्किएका छन् ।