छिन्नमस्ता गाउँपालिकाः करारका कर्मचारीले कसरी लिए ४३ लाखबढी रुपैयाँ निकासा ?

राजविराज, २१ पुस । जनप्रतिनिधि र कर्मचारीबीच बजेट पचाउने प्रतिष्पर्धाले छिन्नमस्ता गाउँपालिकामा अझैसम्म गाउँसभा नै हुन नसकेको आरोप लागिरहेको बेला करारका कर्मचारीले पनि लाखौंको निकासा लिएको खुलासा भएको छ ।

ऐन कानूनलाई पनि लत्याउँदै शिक्षा शाखाका करार कर्मचारी संतोश कुमार रायले गत वर्षको तीन महिनाकै अवधिमा विभिन्न ३५ वटा शिर्षकमा ४३ लाखभन्दा बढी रुपैयाँ निकासा लिएको तथ्यांक बाहिरिएको हो ।

सवारी साधन तथा मेशिन औजार भाडा, इन्धन–अन्य प्रयोजन, पत्रपत्रिका, छपाई तथा सूचना प्रशकाशन खर्च, विद्यालयको उतरोन्नति कार्य, विजुली पोलमा वत्ती जडान कार्य, शीपमूलक तालिम सञ्चालन, खेलकुद सञ्चालन लगायतका शीर्षकमा ४३ लाख ६२ हजार ७६७ रुपैयाँ निकासा भएको छ ।

गाउँपालिका अध्यक्षको मिलोमतोमा सोमध्ये ९५ प्रतिशत बजेट अनियमितता भएको जनप्रतिनधिले नै दावी गर्छन् । ‘कोरोनाको विषम परिस्थितीमा तालिम गोष्ठी जस्ता कार्यक्रमहरु नगर्न मन्त्रालयबाट परिपत्र थियो र ती कार्यक्रमहरु भएन पनि, कागज मिलान गरेर बजेट निकासा भएको हो’ वडा नम्वर ३ का अध्यक्ष दिपेन्द्रकुमार यादवले भने–‘गाउँपालिका अध्यक्षकै निर्देशनमा करारका कर्मचारीलाई अघि ल्याएर बजेट पचाउने काम भएको छ र यस्ता काण्डले नै अझै गाउँसभा अन्यौल रहेको छ ।’

कागज मिलान गर्न नमान्ने खालका कर्मचारीलाई टिक्न नदिएका कारण गाउँसभा अन्यौल भएर अहिले गाउँपालिकाको हरेक गतिविधि नै ठप्प हुन पुगेको उनले बताए ।

को हुन् राय ?

तत्कालीन जिल्ला विकास समिति सप्तरीमा युनिसेफको वासतर्फ करारमा कार्यरत थिए उनी । मुलुक संघीय संरचनामा गएपछि मन्त्रालयको परिपत्रअनुसार स्थानीय तह (छिन्नमस्ता गाउँपालिका)मा राय पुगेका हुन् । हाल उनी गाउँपालिकामा शिक्षा र सामाजिक शाखा हेर्ने गरेका छन् ।

के भन्छन् राय ?

रायले प्रमुख प्रशासकीय अधिकृतबाट नै कार्याआदेश पाएर कार्य गरेको र निकासा लिएको प्रतिक्रिया दिएका छन् । ‘ती योजनाहरुमध्ये अधिकांश आफ्नै लगानीमा साउनदेखि सुरु भएको हो । तर भुक्तानी वैशाख, जेष्ठ र असारमा पाए’ उनले मधेशलाइभलाई भने–‘नियमअनुसार नै भुक्तानी लिएको हो, यद्यपी बेरुजु देखिए फछ्र्यौट गर्नेछु ।’

के भन्छन् गाउँपालिका अध्यक्ष ?

गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल ‘कुरुड’ले गाउँपालिकामा अनियमितता भएको स्वीकार गरे । ‘अनियमितता भएकै हो, तर कसले कति गरेको छ? ती कुरा पनि केही समयभित्रै बाहिर आउनेछ’ उनले भने–‘तर त्यस्ता क्रियाकलापमा मेरो संलग्ता छैन् ।’

यो पनिः

छिन्नमस्ता गाउँपालिका: इन्धन र सवारी साधन मर्मत सम्भारमै ३७ लाखबढी खर्चियो (विवरणसहित)

Author:



क्याटोगरी छान्‍नुहोस