अस्पतालको ताल, चिकित्सक बेताल !

ताल र बेताल शब्द मूलतः सांगीतिक क्षेत्रको पारिभाषिक शब्द हो । संगीत तालमा लयबद्ध हुन्छ । ताल र लय मिलेन भने गीत संगीत बन्न सक्दैन । भन्नुको अर्थ कि कुनै पनि टिमले सामान्य काम गर्न वा परिणाममुखी काम गर्न त्यस टिममा सहभागी भएका जति सबै व्यक्ति वा पक्षहरूबीच समन्वय हुनुपर्छ । समन्वय भनेको परस्परमा ताल र लय मिल्नु हो ।

जसरी संगीतमा बेताल र बेसुर भयो भने प्रयास अर्थहीन हुन्छ, त्यस्तै कुनै खास जिम्मेवारी बोकेका राष्ट्रसेवकहरूले आफ्नो सामूहिक जिम्मेवारी पूरा गर्न टिम स्प्रिट आवश्यक पर्छ । त्यसमा उनीहरूले व्यक्तिगत र सामूहिक भूमिका खेल्नुपर्छ । अन्यथा उनीहरूको काम निरर्थक हुन्छ । परिणाम अनुत्पादक हुनसक्छ वा कुनै बेला प्रत्युत्पादकसम्म भईदिन्छ । यसैलाई अर्को वैज्ञानिक अर्थमा ‘टिम स्प्रिट’ भनिन्छ । टिम स्प्रिट भएन भने के यो गजेन्द्र नारायण सिंह अस्पताल चल्न सक्छ ?

गजेन्द्र नारायण सिंह अस्पतालमा चिकित्सकहरूबीच भएको अवाञ्छित घटनाले त्यहाँ कार्यरत चिकित्सकहरूबीच समन्वय नरहेको देखाएको छ । चिकित्सकहरूबीच त्यहाँको उपचारसेवाको कुरालाई लिएर अस्ती राति एउटा फरक घटना देखापर्यो । यसअघि यस अस्पतालका चिकित्सकहरू यदाकदा अस्पतालको अनुशासन भङ्ग गर्ने सेवाग्राहीहरूका खिलाप उत्रेको देखिन्थे, तर बुधबारको मध्यरातमा अस्पतालका चिकित्सकहरूले एकअर्कामाथि सांघातिक हमला गरेको, तोडफोड मच्चाएको असामाजिक गतिविधि गरेको पाइनु दुःखद् छ ।

यसमा पछिल्लो जानकारी अनुसार एक पक्षबाट विधिवत जाहेरी दर्ता र अर्को पक्षले आफैंमा मिलाउने कुरा गर्दै आएको बताइएको छ । चिकित्सकहरू आफूमा मिल्नेसम्म मिलाएर अस्पताललाई ताल र लयमा तत्कालै ल्याउनु आवश्यक छ । तर यसको मतलब मिलापत्रको नाममा कानूनको प्रयोग र विवादका वास्तविक समाधान कार्यलाई बेअन्जाम छाड्न हुँदैन ।

अस्पतालले गर्ने रिफरको कुरा, प्याथोलोजिकल जाँच शुल्कको कुरा, अस्पतालको ड्यूटीलाई छोडेर निजी क्लिनिकमा समय दिएको कुरा र सबैभन्दा एकअर्काको हितमा असर परेको कुरामा कुरा नमिलेर चिकित्सकहरूको बीचको लामो समयदेखिको असहमति प्रकाशमा आएको छ । अस्पतालमा यसअघि पनि चिकित्सकहरूबीच परस्पर विवाद भएको बताइन्छ । यी कुराहरूलाई त्यत्तिकै नजरअन्दाज गरिनु हुँदैन । पारदर्शी तरिकाबाट यसको हल हुनु आवश्यक छ ।

अस्पतालको काम जीवनदान हो । सरकारी सबै सेवाप्रदायकहरूको तुलनामा यो क्षेत्र सबैभन्दा बढी संवेदनशील छ । स्थानीय स्तरमै निजी अस्पतालहरू पनि छन् । निजी र सार्वजनिक अस्पतालहरूबीच सहकार्य र समन्वय हुनुपर्छ वा पर्दैन ? स्थानीय स्तरमै उपचार हुन सक्नेमा धरान वा विराटनगर रिफर गर्दा सेवाग्राहीको खर्च बढ्न सक्छ । चासोहरूबीचको लडाइँमा उपभोक्तालाई लाभ वा हानी दुबै हुन सक्छ ।

गजेन्द्र नारायण सिंह अस्पतालको काम यहाँका चिकित्सक, स्वास्थ्यकर्मी, अन्य राष्ट्रसेवक र जनप्रतिनिधिहरूको समूहले मात्र फत्ते गर्ने हो । यस अस्पतालले केही राम्रो गरेर गजेन्द्र नारायण सिंहको नाम कमाउनुपर्नेमा बदनामीको कुरासँग जोड्ने भूल गरेको छ । यहाँ रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्दै गरेको छ । निर्माणाधीन सरकारी संरचनालाई यस सरकारी अस्पतालले यसो गरेर के सन्देश दिन दिन खोजेको हो ?

गजेन्द्र नारायण सिंह अस्पतालले अन्तरयुद्धलाई झेलिरहँदा अस्पतालको नियमन गर्ने निकाय भने मौन बसिरहेको प्रतीत हुन्छ । प्रमुख जिल्ला अधिकारीबाट अस्पताल समितिका एक सदस्यको रूपमा समेत तत्काल पहल हुनु अपेक्षित हुन्छ । नागरिक समाज यतिबेलै हो काम गरेर देखाउने । चिकित्सकहरूको संगठन नेपाल मेडिकल एसोसिएशनको पनि समन्वकारी अभ्यास नभएको देखिन्छ । सबैभन्दा महत्वपूर्ण कुरा अस्पतालका मेसुको प्रशासकीय क्षमतामाथि उठेको प्रश्न हो ।

अस्पताल व्यवस्थापनमा मेसुको भूमिका के छ भन्ने कुरा आएन तर उनी आफैं अगुवाई गरेर अर्का चिकित्सकमाथि हमला गरेको भनी मेसु विरुद्ध नै जाहेरी परेको बताइरहँदा उनीमाथि उठेको प्रश्न स्वाभाविक नजर आउँछ । अस्पतालमा बहालवाला मेसु अनुपस्थित छन् । निमित्तले काम चलाइरहेको छ । यो सबैभन्दा गैरजिम्मेवारी कुरा देखिएको छ । तत्काल योग्य र सक्षम मेसुको बहाली आवश्यक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस