सार्वजनिक यातायातको भाडादर २८ प्रतिशतसम्म वृद्धि

जनकपुर, ३० असार । जाँदाजाँदै केपी शर्मा ओलीको नेतृत्वको सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले बुधवार सूचना जारी गर्दै यात्रुवाहक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि भएको जानकारी दिएको हो ।

सार्वजनिक यातायातका सवारीहरुको भाडादर विभागको मिति २०७८÷०३÷२९ को निर्णयअनुसार सोही मितिदेखि लागू हुने गरी भाडादर समायोजन गरिएको विभागले जनाएको छ । भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि यथावत राखी इन्धनलाई मात्रा आधार मानी भाडा समायोजन गरिएको विभागले जारी गरेको सूचनामा जनाइएको छ ।

पेट्रोलियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको बताएको छ । नयाँ भाडादर असार २९ गतेबाट लागू गरिएको विभागले जनाएको छ ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, हसकट्टी र सञ्चालन मुनाफा लगायतका मूख्य सूचकहरु हेरेर भाडा बढेको बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस