‘लोकतन्त्र जोगियो, भोकतन्त्र जहाँको तहीँ छ’

सिताराम अग्रहरी

ओलीलाई ओलीवादी चापलुसहरुले राजनेता भन्ने गर्दछन् तर उनी नेतासम्म भाका छैनन् । उदाहरणकालागि उनको पार्टीभित्रको बेहाल अवस्था नै काफी छ । उनी साझेदारी र सहकार्यमा विश्वास राख्ने मानिस नै हैनन् । छुच्चोपन र संकीर्णता उनको स्वभावमा छ । त्यसर्थ उनका तावेदारहरु पनि अलग हुने कुरा भएन । आफ्नो पार्टीले पाएको अभूतपूर्व बहुमत उनले आफ्नो अहंकारलाई तुष्ट गर्न भेटी चढाइदिए ।

राष्ट्र के हो उनले बुझ्नै चाहेनन् वा सकेनन् । लगभग दुई तिहाई बहुमत उनले New nation building, new national reconciliation, national unity, लोकतंत्रको रक्षा र राष्ट्रको समृद्धिमा समर्पित हुन लगाउनुपर्थ्यो । तर आउनासाथ उनले लोकतंत्रको प्रहरी मिडियाको स्वतंत्रता खोस्न र ढाड भाँच्न मिडिया काउन्सिल विधेयक ल्याउनदेखि संसद मारेर अध्यादेश–राज स्थापित गर्न खोजे । संवैधानिक निकायलाई आफू अनुकूल भर्ना केन्द्र बनाए ।

संवैधानिक परिषदलाई पङ्गु बनाउन कुत्सित अध्यादेश ल्याए । ताल न तुकको पानी जहाज थ्योरी लिएर आए । तर मधेशका नागरिक, जनजाति आदिवासी नेपाली जनताले चाहेको संवैधानिक त्रुटि करेक्सन गर्न, संविधान संशोधनको, नागरिकता समस्या समाधान, दारु वेदनाको औचित्य कहिल्यै देखेनन् । आफ्नो सत्ता जान लागेको देखेर कुकुरलाई हड्डी फाले झैं नागरिकता अध्यादेश फाले ।

मधेश आन्दोलन, जनजाति आन्दोलनको केही अर्थ उनले बुझेको भा शुरुमै नागरिकता संशोधन बिल लिएर आउंथे र भन्थे, जसले यो मातृभूमि र यसको सुख दःुखलाई सर्वस्व मानिसकेका छन् । अब तिनका सुख दुःख राष्ट्रको सुख दुःख भैसकेको छ । तर उनले जानाजानी बेवास्ता गरे, हलो अडकाए । रेशम चौधरी, लक्ष्मण थारुकादेखिका समस्या रुपमा अपराधी झैं देखिए पनि सारमा राजनीतिक हुन, रुट कज थारुहरुप्रतिको अन्याय हो । लौ यसको समाधान गरौं भनी दृढता देखाको भए उनी राजनेता हुनसक्थे ।

आज पनि यदि उनकी फेरिएका हुन् भने नागरिकता संशोधनको विधेयक ल्याउने पहल गर्न उनलाई केले रोकेको छ ? तर उनलाई तो तपसिलका कुरा नै बढी मनपर्छ ! उनकी राजनेता बन्न चाहेको भए हरेक कुराको विरोध हैन कि कुलमान विरुद्ध मुद्दा गर्न नलाई आफूले गरेको गल्ती सच्चाउंदै कुलमान नियुक्तिको तत्काल स्वागत गर्नुपर्थ्यो । यद्यपि उनीबाट यो अपेक्षा गर्न भूल हुनेछ । उनको वृति नै यस्तो छ । उनके जुन खाले महेश, गोकुल, सूर्यहरु रोजेका छन् । तीबाट सल्लाह पनि थी खाले पाने नै भए । उनको पतन भैसकेको छ तैपनि अहंकार मेटिएको छैन ।

मधेशका महन्थहरुमा चेत आको छैन कि मलेठमा निर्दोष नागरिकहरुको बर्बर हत्याका दोषी ओली अहिलेपनि सारमा उही छन् अपरिवर्तित र अमानुषिक । उही दृष्टि, उही सोच । उनी सांच्चिकै फेरिएका हुन भने थारुहरुबारे देखाको सौहाद्र्र अझ अगाडि बढेर हल निकाल्न प्रयासमा परिणत गर्थे न कि सांसद निलम्वन जस्ता नन इस्यूलाई मेन इस्यू बनाउथें। यसको अर्थ के पनि छ भने उनी अहिलेसम्म प्रतिशोध र ईखको चक्रमै छन् ।

प्रसंगवश, कांग्रेस र देउवा पनि सही ट्रयाकमा छैन । संविधान संशोधन, थारु समस्या, नागरिकता जस्ता विषयसँग कांग्रेस जनको कुनै सरोकार देखिदैंन । कांग्रेसमा चरम गुटबंदी, सतही सत्ता सिद्धान्त, जोड़तोड़ र जड गणित नै आजको सत्य हो । सरकारले अहिलेसम्म केही ठोस त गरिसक्नुपर्थ्यो तर सरकार सरकार झैं छैन, एक्सनमै देखिदैन, देखिएन । यो रुपान्तरणकारी सरकार झैं देखिदैन । कांग्रेसजनले जे भने, जे देखे पनि यो भोलीकालागि सोच्ने भविष्यद्रष्टा बीपी कोईरालाको सरकार को लिगेसी सरकार हैन यो ।

माधव नेपालसँग यसपाली मेरो सहानुभूति छ, यो कारणले हैन कि मौका पाए उनले पहाड़ उठाइदिनेछन् । यसकारणले कि जनताको नासो लोकतन्त्रमाथि गम्भीर संकट पर्दा कठोर समयमा ठूलो तनावका बीच पनि झुक्न मानेनन् । तर उनी पनि भीमहरुजस्ता झुर पटासलाई बोक्न विवश छन्। समग्रमा, नेपाली जनताले के पाउने भए ? लोकतन्त्र जोगियो बस यही ! भोकतंत्र जहाँको तहीं छ, रहिरहने छ ! लक्षण धेरै उत्साहप्रद छैन ।
(गोरखापत्र राष्ट्रिय दैनिकका पूर्व प्रधान सम्पादक सिताराम अग्रहरीको फेसबुक वालबाट साभार )

Author:

क्याटोगरी छान्‍नुहोस