अत्यधिक प्रदूषणले भारतीयको आयु नौ वर्षसम्म घटायो

जनकपुरधाम । वायु प्रदूषणका कारण छिमेकी मुलुक भारतमा मानिसको आयु नौ वर्ष घट्न सक्ने एक अध्ययनले देखाएको छ।अमेरिकाको सिकागो विश्वविद्यालयअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युट (इपिआइसी) ले गरेको एक अध्ययन प्रतिवेदनले त्यस्तो देखाएको बिबिसीले जनाएको छ। उत्तरी भारतका ४८ करोड मानिस विश्वकै सबैभन्दा बढी प्रदूषणमा बाँच्न बाध्य रहेको र समयसँगै यो प्रदूषण भारतका अन्य भागमा पनि फैलिँदै गएको अध्ययनले देखाएको छ।

स्वच्छ हावाका लागि आवश्यक नीतिगत व्यवस्था हुँदा मानिसका आयु पाँच वर्ष थपिने अध्ययनले उल्लेख गरेको छ। विश्वका सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा भारतीय सहरहरूको अधिपत्य छ भने भारतमा प्रदूषित हावाका कारण लाखौं मानिसको मृत्युसमेत हुने गर्छ।

उक्त प्रतिवेदनले विश्वका अन्य स्थानको तुलनामा भारतको उत्तरी क्षेत्रका बासिन्दाले १० गुणा बढी प्रदूषित हावामा सास फेर्न बाध्य छन्। भारतको उत्तरी क्षेत्रबाट प्रदूषण महाराष्ट्र तथा मध्यप्रदेशजस्ता पश्चिम तथा मध्य भागमा रहेका राज्यमा विस्तार भएको प्रतिवेदनमा भनिएको छ। ‘मध्यप्रदेश तथा महाराष्ट्रका स्थानीयको सरदर आयु दुईदेखि तीन वर्ष घटेको छ,’ प्रतिवेदन भन्छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार वायुमा पिएम २.५ को स्तर १० माइक्रोग्राम प्रतिघनमिटर कायम हुन सके भारतका राजधानी नयाँ दिल्लीका बासिन्दाको आयु १० वर्ष थपिन सक्ने इपिआइसीको उक्त समीक्षात्मक अध्ययनले दाबी गरेको छ। सन् २०१९ मा भारतमा पिएम २.५ को सरदर स्तर ७०.३ माइक्रोग्राम प्रतिघनमिटर रहेको थियो। यो विश्वका अन्य देशको तुलनामा सबैभन्दा बढी सरदर प्रदूषण हो।

यसैगरी विश्वको एक चौथाइ जनसंख्या बसोबास गर्ने बंगलादेश, भारत, नेपाल र पाकिस्तान विश्वमा सबैभन्दा बढी प्रदूषित पाँच प्रमुख राष्ट्रको सूचीमा लगातार रहने गरेको प्रतिवेदनले जनाएको छ। भारत सरकारले सन् २०१९ मा लागु गरेको नेसनल क्लिन एयर प्रोग्रामले वायु प्रदूषणलाई सम्बोधन गर्न सकारात्मक सुरुवात रहेको प्रतिवेदनले भनेको छ। ‘यो नीतिगत व्यवस्थाको लक्ष्यले मानिसको सरदर आयुमा प्रभाव पार्नेछ। यसले भारतीयको समग्र सरदर आयुलाई झन्डै दुई वर्षले बढाउनेछ भने दिल्लीवासीको आयु साढे तीन वर्षले बढ्नेछ,’ प्रतिवेदनमा भनिएको छ। सही र प्रभावकारी नीति हुँदा तीव्र हिसाबले प्रदूषण नियन्त्रण गर्न सकिने उदाहरण चीनले प्रस्तुत गरेको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। सन् २०१३ यता चीनले पिएम २.५ को स्तरमा २९ प्रतिशत कटौती गरेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस