तराई–मधेशमा जुडशितल र सिरुवा पर्वको उल्लास

जनकपुर, १ वैशाख । नयाँ वर्षसँगै तराई–मधेशमा जुडशितल र सिरुवा पर्व उल्लास वढेको छ । सिरुवा पर्व नयाँ वर्षको पहिलो तीन दिन मनाईन्छ । पहिलो दिनलाई थारुहरुले जुडी शितल भन्ने गरेका छन् ।
खास गरी पूर्वी तराईका आदिवासीहरुमा सिरुवा पर्व मनाउँने प्रचलन छ । झापा, मोरङ, सुनसरी, सप्तरी लगायतका जिल्लामा बसोबास गर्ने राजवंशी, थारु, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा पर्व मनाउँछन् । वैशाख १ गतेको विधिलाई सतुवाईन भनिन्छ । घरका देवी देवतालाई सातु, गुँड (सख्खर) चढाएर आफु तथा आफना साथीभाई–ईष्टमित्रलाइ खान दिइन्छ ।

यसैगरी पानी सिरुवा, काद सिरुवा र रंग सिरुवा गरी विभिन्न विधि पुरा गरी सिरुवा पर्व मनाउने गरिन्छ । पर्व अनुसार शुक्रबार पानी सिरुवा मनाइँदैछ । घरका जेठा व्यक्तिले आफ्ना गृहदेवता, ग्रामदेवता र अन्य देवताहरूमा पवित्र जल चढाइ अन्य कुटुम्वहरूलाई पनि जलले टाउकोमा थप्थपाई आर्शीवाद दिने र सानाले ठूलालाई खुट्टामा जल चढाई ढोग्ने चलन छ ।

वर्षभरिका दुःख कष्टलाई धोई पखाली नयाँ वर्षको शुरुवातसँगै तन–मन शीतल रहोस् भनी कामना समेत गर्ने गरिन्छ । यसलाई आफ्नो भाषामा जुडशितल भन्ने गर्छन् । सिरुवा प्रकृतिसँग जोडिएको लोकपर्व भएकोले घर वरीपरी रहेका रुखका जराहरुमा पानी हाल्ने, सडक र घर आसपासमा पानी छर्कने, कुवा र पोखरीहरु सफा गर्ने लगायतका प्रचलन पनि छन् ।

पर्वको अर्को दिन हिलो खेल्ने चलन छ, जसलाई काद सिरुवा भनिन्छ । वर्षभरिका दुःख कष्ट, पीडा र थकानलाई मेटाउन कादो सिरुवा खेल्ने गरिएको बताइन्छ । यसो गर्नाले शरीरलाई कुनै रोगव्याधी नलाग्ने विश्वास गरिन्छ । अन्तिम दिन रंग र अबिर दलेर रंग सिरुवा मनाइने छ । रङ्ग सिरुवामा एक अर्काबीच रङ्ग छ्यापेर शुभकामना आदानप्रदान गरिन्छ । रिस तथा मनमुटावलाई बिर्सेर रङ्ग खेली यो पर्व हर्ष उल्लासका साथ मनाउने गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस