सिंहदरबारले आफ्नो अतीतलाई त्याग्नुपर्छ

ऐतिहासिक सिंहदरबारको नागरिकीकरण

-अजय कुमार झा

नेपालको भौगोलिक विविधताका कारणले गर्दा यहाँको वनसम्पदा उल्लेखनीय रहेको छ । नेपालको वनसम्पदाअन्तर्गत यहाँका वनस्पतिहरू तथा वन्यजन्तुहरू पर्दछन् । नेपालको वनसम्पदाले यहाँको पर्यटनमा महत्त्वपूर्ण भूमिका खेलेको छ । नेपालमा एकसिङ्गे गैंडालगायतका दुर्लभ वन्यजन्तु पाइन्छ तर सिंहहरू छन् जस्तो मलाई लाग्दैन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको वेबसाइट हेर्दा वन्यजन्तुको सूचीमा त्यहाँ कुनै सिंह पनि रहेको जानकारी छैन, तर सिंहको नाममा स्थापित दरबारको चर्चा देशभर हुने गरेको चाहीँ छ ।

अजय कुमार झा

‘सिंह’ भनेको एक शक्तिशाली जीव हो । जंगलराज्यमा शक्तिशाली जीवहरूको रूपमा सिंह, हात्ती, गैंडा देखिन्छन् । यी जीवहरूको शक्ति अतुलनीय हुन्छ । एक अर्काबीच संघर्ष परिहालेछ भने कसले जित्ला भन्न कठिन हुन्छ । यसो भए पनि सिंहलाई नै जंगलको राजा मानिन्छ । सिंह संस्कृत, नेपाली, मैथिली, हिन्दी भाषाका शब्द हुन् । उर्दूमा शेर र अंग्रेजीमा लायन, चिनीयामा शिज्जै भनिन्छ ।
‘सिंह’ पेन्थेरा वंशका ठूला बिरालामध्येको एक फेलिडे परिवारको सदस्य हो । ठूलो बिरालो शब्द सामान्यतया पेन्थेरा प्रजातिका पाँच जीवित सदस्यहरू, जस्तै बाघ, सिंह, जगुआर, चितुवा र हिउँ चितुवा, साथै गैर–प्यान्थेरिन चित्ता र कुगरका लागि प्रयोग गरिन्छ । आकारमा ठूलो भिन्नताको बावजुद, यी प्रजाति संरचना र व्यवहारमा समान हुन्छन् । सबै मांसाहारी र कुशल शिकारी । तर सिंह प्रायः विलुप्त हुँदै गएको प्राणीमा गनिन्छ । सिंह वर्तमान समयमा उप सहारा अफ्रीका र एशियामा मात्र पाइन्छ । एसियामा यसको बचेखुचेको संख्या उत्तर पश्चिमी भारतमा पाइन्छ । सिंहलाई पौराणिक प्राणी मानिन्छ । पौराणिक प्राणी भनेको एक अलौकिक प्राणी वा असाधारण अस्तित्व हो, जसको अस्तित्व प्रमाणित गर्न सकिँदैन र जुन लोककथामा वर्णन गरिएको छ, तर आधुनिकता अघिका ऐतिहासिक विवरणहरूमा चित्रित गर्न सकिन्छ ।
सिंह नेपाल र भारतका मानिसहरूले थरको रूपमा प्रयोग गर्ने चलन छ । थरको रूपमा बाघ, हात्ती, गैंडाको प्रयोग नगर्नुको कारण कदाचित सिंह सर्वाधिक बलशाली भएको कारणले हो । पशुले मानिसको नामादि ग्रहण गर्दैन, तर मानिसले पशुको नामबाट आफ्नो पहिचान दिन खोज्छ, यो वास्तवमा अनौठो कुरा पनि छ । सिंहलाई शक्ति, भव्यता र विजयको प्रतीक पनि मानिन्छ, त्यसैले भारतीय दर्शनमा सिंहलाई शक्ति (देवी) को वाहन मानिएको छ । पराक्रम; वीरता, पुरुषार्थ, सामथ्र्यजस्ता शब्द सिंहको पर्यायको रूपमा प्रयुक्त हुन्छन् । यी शब्दहरूले पनि सिंहको व्यक्तित्व झल्काउँछ । हिन्दु सनातन वर्णाश्रमका क्षत्रीयले (र अरू पनि केही जातिले) सिंह थर भिर्नुको तात्पर्य पनि पुरुषार्थको प्रदर्शन हुन सक्छ । सायद त्यस्तै पुरुषार्थको अर्थमा राणा प्रधानमन्त्री चन्द्र समसेरले आफ्नै निवासका लागि निर्माण गरेको भव्य दरबारको नाम ‘सिंहदरबार’ भनेर राखेका थिए, जसको सार्थकता आज पनि नेपालको मुख्य शक्तिस्थलको रूपमा देखिन्छ ।
दरबार फारसी शब्द हो । संस्कृतमा राजप्रासाद भनिएको फारसीको दरबार हो । अर्थात् राजामहाराजाहरूको भवन; राजभवन, जसमा राज्यका प्रधान शासक निवास गर्दछन् । हरेक देशको इतिहासमा धेरै धेरै दरबार वा राज दरबारको अस्तित्व भेटिन्छ । इतिहास फेरिएको फेरिए छन् तर दरबारको महत्वमा अन्तर आएको छैन ।
कहाँ जंगलका शक्तिशाली जीव ‘सिंह’ र कहाँ राज्यका शासकको निवास भनिने दरबार, महल ! सर्वश्रेष्ठ पशुको नामबाट महलको नामकरण गर्दा यि शब्दहरूबीच के कस्तो सम्बन्ध हुन सक्छ भन्ने चासोको विषय बन्दछ । सामान्यतया यी दुई शब्दबीचको अन्तरसम्बन्ध केही देखिँदैन । तर इतिहासको कुनै खास कालखण्डमा जब यी दुबै शब्दलाई पटलमा राखेर महल बनाइयो, तब त्यतिखेर यसले जे अर्थ दिएको थियो, आज पनि त्यसले त्यस्तै अर्थ बोकेको छ प्रतीत हुन्छ । राणा प्रधानमन्त्री चन्द्र समसेरले काठमाडौंको मध्य भागमा, एशियाकै भव्य, युरोपेली शैलीको, नेपालको ऐतिहासिक सिंहदरवारको निर्माण सन् १९०३ मा गराएका थिए । उनको अवसानपछिका चार जना राणा प्रधानमन्त्रीले पनि त्यही सिंहदरबारमा बसेर देशको बागडोर सञ्चालन गरे । सिंहदरवार नेपालका प्रधानमन्त्रीको कार्यालय तथा नेपाल सरकारको सबैभन्दा महत्वपूर्ण उपल्लो निकायहरु भएको परिसर हो । राणा शासनको समाप्तियताको ७२ वर्षदेखि नेपाल सरकारको सचिवालय, मन्त्रालय, विभाग रही आएका छन् ।
वर्तमान गणतन्त्र नेपालमा गोपाल, महिषपाल, किराँत, लिच्छवी, मल्ल, शाह र राणा वंशका शासकहरूले शासन गरेको इतिहास छ । यी शासकहरूले देवीदेवताका लागि भव्य मन्दिर र आफ्ना लागि भव्य एवं विशाल महलहरू बनाए । प्रसिद्ध पशुपतिनाथको मन्दिर लिच्छवी शासक सुपुष्पले बनाए । ऐतिहासिक तथ्यको उपलब्धताको आधारमा मानदेव नेपालका पहिला शासक मानिन्छन् । मानदेवले चाँगुनारायणको मन्दिर बनाए । भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवस्थित चाँगुनारायण मन्दिरका आराध्य भगवान विष्णु हुन् । नेपालमा मानदेव पालादेखिको दरबारहरूको इतिहास र अस्तित्व रहेको पाइन्छ । मानदेवले बनाएका महल ‘मानगृह’ नेपालका सर्वाधिक ऐतिहासिक राजदरबार हो । अंशुवर्माले बनाएको कैलाशकूट भवन एवं नरेन्द्रदेवले बनाएको भद्राधिवास दरबार चर्चित दरबार मानिन्छ ।
नेपालमा दर्जनौ ऐतिहासिक दरबारहरू छन्, बागदरबार, लालदरबार, फोहरादरबार, केशरमहल, बबरमहल आदि । तर कुनै पशु विशेषको नामबाट नामकरण गरिएको सिंहदरबार एकमात्र हो । आफ्नो महलको नाम सिंहदरबार भनेर राख्दाखेरि राणा प्रधानमन्त्री चन्द्र समसेरले ऐतिहासिक दरबारहरूको तुलनामा बढी शक्तिशाली भएको भान दिन खोजेको हुनुपर्छ । किनभने चन्द्र समसेरले सत्ता र शक्ति सहजै प्राप्त गरेका थिएनन् भने आफ्नो सत्तालाई अक्षुण्ण बनाउन पनि उनले विरोधीहरूलाई आफ्नो रौद्र रूप देखाउन आवश्यक थियो, जुन प्रवृति आजका राजनेताहरूमा पनि विद्यमान नै देखिन्छन् ।
जीसीबी जीसीएसआई जीसीएमजी जीसीवीओ एफआरजीएस फील्ड–मार्शल महाराजा श्री ३ चन्द्र समसेर जंग बहादुर राणा आफ्ना उदार तथा सुधारवादी भाइ देव समसेरलाई अपदस्थ गरेर सत्तामा काबिज भएका थिए । चन्द्र समसेरलाई निरंकुश र रूढीवादी शासक मानिन्छ तथापि दासता एवं सतिप्रथाको उन्मूलन र नेपाल–ब्रिटेन सन्धिलगायत कतिपय सुधारको श्रेय पनि दिइन्छ, जसबाट नेपाललाई एक स्वतन्त्र राष्ट्र र ब्रिटेनको सहयोगीको रूपमा मान्यता दियो । उनी जंग बहादुर राणापछि बेलायत यात्रा गर्ने दोस्रो प्रधानमन्त्री थिए । चन्द्र समसेरले २८ वर्ष शासन गरे र उनले आफ्नो सन्तानका लागि अपार सम्पत्ति र भव्य महल निर्माण गरे ।
चन्द्र समसेरले निजी निवासको रूपमा इ.सं. १९०३ मा सिंहदरबारको निर्माण गरे, जसको निर्माण कार्य सुरू भएको एक वर्षभित्रै पूरा भएको थियो । निर्माण कार्य पूरा हुँदा यसमा १,७०० वटा कोठाहरू थिए जुन त्यस बेलाको एसियाको सबैभन्दा ठूलो एवं भव्य दरवार थियो । यसको निर्माणमा त्यस बेलाको पचास लाख रूपैयाँ खर्च भएको थियो । वि.सं. २००७ सालमा राणा शासनको अन्त्य भएपछि सिंहदरवारमा नेपाल सरकारका सबै उपल्लो निकायहरू राखिए । वि.सं. २०३० साल असार २५ गतेको ठूलो आगलागी तथा वि.सं. १९९० साल माघ २ गते, वि.सं. १९४५ साल भदौं ५ गते र वि.सं. २०७२ साल बैशाख १२ गतेको भूकम्पबाट सिंहदरबारको धेरैजसो भाग क्षतिग्रस्त भयो, जसको पुनर्निर्माण पनि हुँदै गयो । ठीक त्यसैगरी यहाँ बस्ने शासकहरू पनि जनआन्दोलनहरूको सामना गर्दै एक पछि अर्को ढल्दै गए । आज त्यहाँ जननिर्वाचित शासक विराजमान छन् तर तिनको शासकीय प्रवृतिमा निरंकुशता उस्तै उस्तै देखिन छाडेको छैन । शासन र शासकको परिवर्तन भयो तर शासन र शासकको प्रवृत्ति, सोच, चरित्र र आचरणमा परिवर्तन देखिएको छैन । तर समयको माग भनेको सम्पूर्णतामा रूपान्तरण हो ।
सिंहदरबारजस्ता महल स्वेच्छाचारी, अधिनायकवादी, एकतन्त्री शासकहरूले मात्र बनाउन सक्छन् । जसको हातमा देशको सर्वोच्च शक्ति रहेको हुन्छ । जसको निर्णय नत बाह्य शक्तिको अंकुशमा रहन्छ नत लोकतान्त्रिक विधिबाट नियन्त्रित हुन्छ । लोकतान्त्रिक शासकहरूले निजी निवास र भोगविलासमा राज्यको ढुकुटी सखाप पार्न सक्दैनन् । सिंहदरबार राज्यको सम्पूर्ण अधिकार निहित रहने तानाशाह, निरङ्कुश, स्वेच्छाचारी जहानियां, शासन र शासकको प्रतीक हो । महललाई सिंहदरबारको नाम दिनुको कारण ठम्याउन गाह्रो छैन । राजा बस्ने स्थानलाई राजसिंहासन भन्ने त चलनै थियो । दुवैतिर सिंहका मूर्ति उठाई तिनका पीठमा बनाइएको हुनाले सिंहासन र राजाले बस्ने हुनाले राजसिंहासन भनिन्थ्यो । सिंह भन्नाले गर्दनमा लामालामा जगर हुने, बलियो, हिंस्रक जङ्गली प्राणी बुझिन्छ । जंगलमा सर्वाधिक शक्तिशाली सिहंलाई जंगलकै राजा मानिन्छ । मानिसले आफ्नो नामका साथ सिंह शब्द जोडेर आफ्नो श्रेष्ठता दर्शाउने चलन थियो र आज पनि कुनै न कुनै रूपमा विद्यमान छ । सिंह भन्ने शब्द चन्द्र समसेरको नाममा जोडिएको थिएन, तर पनि उनले निर्माण गरेको आफ्नो दरबारको नाम सिंहदरबार राख्नुको पछाडि तत्कालीन शासनमा आफ्नो सर्वोच्चता, अनियन्त्रित सौर्य, अहंकारको प्रदर्शन गर्नु रहेको थियो । जंग बहादुर र उनका उत्तराधिकारीहरूले राजालाई शासन गर्न दिएनन् । नेपाली जनताले क्रान्तिका माध्यमले राणा शासकबाट शासन छिनेर वि.सं. २००७ सालमा राजालाई जिम्मा लगाएपछि राजा शक्तिशाली भए । वि.सं. १९०३ देखि १०४ वर्षसम्म शासनको केन्द्र राणा प्रधानमन्त्रीहरू नै थिए । चन्द्र समसेरले सिंहदरबार बनाएपछि देशको शासन सत्ता त्यहींबाट सञ्चालन हुन थाल्यो । सिंहदरबारमा राणा भाइभारदारकै जगजगी र हालीमुहाली थियो । खस, क्षत्री, बाहुनहरू जुनसुकै ओहोदा र तहमा भए पनि उनीहरू राणा शासकका हजुरिया नै हुन्थे । सिंहदरबारमा राणा भारदारका साथमा रहने र बाहिरको उजुर वा पिरमर्का जाहेर गर्ने अधिकारीहरूलाई हजुरिया भनिन्थ्यो । त्यहाँबाट जनतामाथि शासन बहाल गर्ने काम त हुन्थ्यो तर त्यहाँ जनताको प्रवेश वा पहुँचको भने कुनै गुन्जायस थिएन । मधेशी वा मोफसलवाला त काठमाण्डू प्रवेश पनि राहदानीबेगर प्रतिबन्धित थिए । देशको केन्द्रीय प्रशासनिक निकाय रहेको सिंहदरबार परिसरभित्र सर्वसाधारण नेपाली नागरिकको सहज प्रवेश र पहुँचको अवस्था अमैत्री थियो भन्ने कुरा २०७३ सालमा सर्वोच्च अदालतमा डायर गरिएको यससम्बन्धी एक रिट निवेदनबाट थाहा हुन्छ ।
वि.सं. २००७ सालको परिवर्तनपछि राणाका महलहरू सरकारले आफ्नो अधीनमा लियो । बालुवाटारमा रहेको नेपाल राष्ट्र बैंकको केन्द्रीय भवन, वागदरबारमा अर्थ मन्त्रालय, हरिहर भवन, श्रीमहल आदिमा अन्य उपल्लो निकायहरू राखिए । नयाँ संरचनामा वीर समसेरले बनाएको नारायणहिटी र चन्द्र समसेरले बनाएको सिंहदरबारले बढी महत्व पाएको देखियो । राजाले नारायणहिटीलाई राजदरबार र सिंहदरबारलाई राजकाज सञ्चालन गर्ने मुख्य अडडा बनाएका थिए ।
नेपाल औपचारिक रूपमा वि.सं. २०६५ जेठ १५ गते गणतन्त्रात्मक मुलुक घोषित भयो । शाहवंशका अन्तिम राजा ज्ञानेन्द्रले वि.सं. २०६५ साल जेठ २९ गते राजगद्दी र राजमुकुट त्यागेर नागार्जुनतिर लागे । गणतन्त्रानुसार राजाको स्थान राष्ट्रपतिले लिए तर उनी नारायणहिटीमा नबसी शीतल निवासमा बसे । नारायणहिटीलाई संग्रहालय बनाइयो र राजसिंहासन र राजमुकुट सजाएर राखियो । संग्रहालय जनताले अवलोकन गर्न पाउने गरी खुला गरियो । यता सिंहदरबार देशको मुख्य केन्द्रीय प्रशासनिक भवन भने भई नै रह्यो । गएको दशक देशमा सुरक्षा समस्या बढेको भन्दै एकआध बाहेक सबै मन्त्रालय सिंहदरबारमा सारिएका छन् । तर सिंहदरबारमा आम जनताको पहुँच र प्रवेश सहज बनाइएन ।
सिंहदरबारमा फलानालाई छिर्न देऊ भनेर भित्रबाट नामै आएपछि मात्र सिंहदरबारमा प्रवेश दिने व्यवस्थालाई तोड्न वि.सं. २०७३ सालमा सर्वोच्च अदालतमा रिट पर्‍यो । उक्त व्यवस्थालाई भेदभावपूर्ण भन्दै अधिवक्ता तोयनाथ ढुंगानाले वि.सं. २०७३ भदौ १९ गते रिट दायर गरे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्रालयसहित सिंहदरबारभित्रका ३३ निकायलाई विपक्षी बनाई दायर गरिएको उक्त रिटमा सुरक्षा व्यवस्था यथाशक्य तन्दुरुस्त राखी सिंहदरबार परिसरको सुरक्षाका साथै निवेदकजस्ता सर्वसाधारण सम्पूर्ण सेवाग्राही नेपाली जनतालाई सिंहदरबार एवम् सिंहदरबारजस्ता सार्वजनिक सरोकारका प्रशासनिक निकायहरूमा सहज पहुँचको व्यवस्था गर्न रिट निवेदनमा अन्तरिम आदेशको माग समेत गरियो । रिट निवेदनमा नेपालको संविधानको हवाला दिँदै जसमा नेपाली जनतालाई संविधानले राष्ट्र भनी परिभाषित गरेको छ भनी दाबीसमेत गरिएको थियो ।
नेपालको संविधानले जनतालाई नै सर्वोपरी मानेको छ । संविधानमा भनिएको छ— नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको छ । संविधानतः राष्ट्र भन्नाले पनि जनता नै बुझिन्छ । संविधानमा भनिएको छ— बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकाँक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । यस प्रकार संविधानले सार्वभौमसत्ता सम्पन्न नेपाली जनतालाई जुन सम्मान दिएको छ त्यो सम्मान सिंहदरबारमा पहुँच र प्रवेशको मामिलामा धरायशी भएर गयो । सिंहदरबार प्रवेशको औचित्य र चेकजाँच सजगताको सामान्य विषयलाई पनि जटिल, गम्भीर र संवेदनशील बनाएर सिंहदरबारभित्र आफ्नो मान्छे हुनेलाई स्वागत गर्न नहुनेलाई धक्का दिने कुराले नेपाली जनतालाई राष्ट्र भनिएको ओठेकुरा मात्र देखियो । रूप, रंग, हैसियत, सम्बन्ध आदि आधारमा जनता भनिने विभेदकारी व्यवस्था यथावत रहेको देखियो । जनताबाट निर्वाचित प्रतिनिधि पनि सिंहदरबार छिरेपछि जंगलकै सिंह जस्तो भई दिने अवस्था अझै पनि विद्यमान छ । होइन भने गणतन्त्र आएको दशक बितिसक्दा पनि सिंहदरबार प्रवेश र पहुँचमा विद्यमान विभेदको विरुद्ध लड्नुपर्ने र न्यायपालिकाको ढोका ढकढकाउनुपर्ने अवस्था रहने थिएन ।
वस्तुतः जहानियाँ शासनको अन्त्य भएको दशकौं भइसकेको छ । तर त्यो कुरा सिंहदरबारले थाहा पाइसकेको जस्तो लाग्दैन । राजतन्त्रलाई खेदेर गणतन्त्र आएको र राजाको छोराले नभई जनताको छोरा छोरीले शासन गर्न थालेको कुरा पनि सिंहदरबारले महसुस गर्न सकेको देखिंदैन । राजाले अर्जेको मुलुक होइन यो, यो देश विविध संस्कृतिमा आधारित नेपाली जनताको संघ हो भन्ने कुरा पनि सिंहदरबारले मनन गरिसकेको देखिदैन । सिंहदरबारलाई जनतामा शासन गर्ने कुरा मात्र थाहा छ, जनताप्रतिको समर्पण के हो भन्ने कुरा थाहा हुन सकेको छैन । सिंहदरबारले नै जनतालाई बुझ्न नसकेपछि जनताले पनि मुलुकमा आएका परिवर्तनहरूको अनुभूति पाउन नसकेको अवस्था छ ।
जनताको नजरमा सिंहदरबारको छवि अझै पनि के छ भने सिंहदरबार भनेको जनता जनतामा विभेद गर्ने, जनताको अपमान, भेदभाव, तिरस्कार, उपेक्षा र उपहास गर्ने, शोषण र दमन गर्ने स्थान हो । सिंहदरबार पहिल्यै पनि पहुँचवालाहरूको र आज पनि उनीहरूकै हो । “मै खाउँ, मै लाउँ, सुख सयल वा मौज मै गरुँ । मै बाँचु मै नाचुँ, अरु सब मरुन दुर्बलहरू” भन्ने पंक्ति कवि लेखनाथ पौड्यालले सिंहदरबारहरूकै चरित्र चित्रण गर्ना निम्ति कोरेका थिए । वास्तवमा सिंहदरबार आफैंले आफू विरुद्ध लेखनाथ पौडयाल, शुक्रराज शास्त्री, वीपी कोईराला, पुष्पलाल श्रेष्ठ, रामराजा प्रसाद सिंह, गजेन्द्र नारायण सिंह, पुष्पकमल दाहाल ‘प्रचण्ड’ आदि जन्माएको हो ।
१९ सौं शताब्दिमा नेपाल राज्य खडा गर्दा पृथ्वी नारायण शाहले कस्तो किसिमले राज्य र राज्य व्यवस्था चलाउँला भन्ने सोचेका थिए, त्यो उनको दिव्यदृष्टिमा स्पष्ट छ । पृथ्वी नारायण शाहको शालिक सामु ठडिएको सिंहदरबार त्यही दिव्यदृष्टिको प्रदक्षिणा गरी रह्यो । सिंहदरबारले नेपाली जनता २१ औं शताब्दिमा प्रवेश गरिसकेको भेउ पाउन सकेन । जनताले शक्तिकेन्द्र र शक्तिकेन्द्रका पर्याय मानिने सम्पूर्ण दरबार ध्वस्त पारिसक्दा पनि सिंहदरबार ब्युँझिसकेको पाइँदैन । जनताले आत्माहूति दिएर सिंहदरबारको वि.सं. २००७, २०१५, २०३६, २०४६, २०६२/०६३ साल गरी पटक पटक संस्कार गर्दा पनि सिंहदरबार हौसिएन । अन्ततः वि.सं. २०७२ मा आएको संविधानले यसलाई सर्वाङ्गमा लोकतान्त्रिकरण गरेपछि यसको भयावह स्वरूप त समाप्त भएको छ तर अन्तस्करणमा अझै पनि हैकमी स्पन्दन सकिएको छैन ।
वि.सं. २०७२ को वर्तमान संविधानले सिंहदरबारको शासनाधिकारलाई सातवटा स्थानमा मात्र होइन, ७५३ वटा स्थानमा समेत विभाजित गरेको छ । जनताको सबभन्दा नजिकको शासनाधिकरण स्थानीय तह हो, त्यसपछि प्रदेश र त्यसपछि संघ । सिंहदरबारले प्रयोग गर्दै आएको अधिकार गाउँ गाउँमा हस्तान्तरणको प्रक्रिया अगाडि बढेको छ । यसले सिंहदरबार र आम जनताबीचको दूरीलाई नजिक्याउनेछ । यो त यसको संरचनात्मक पक्ष हो । संरचनात्मक पक्षको निर्माणले मात्र पुग्दैन । यसको भावात्मक पक्ष पनि प्रकट हुनुपर्छ । अर्थात गाउँ गाउँमा पुगेका सिंहदरबारहरूले हैकमी प्रवृत्तिले होइन, जनसेवाको भावले मुसकानका साथ जनताको काम गर्नुपर्छ । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको खुसी नै सरकारहरूको सफलता हो भनेर आफ्नो कार्य गर्नुपर्छ । सिंहदरबारले आफ्नो अतीतलाई त्याग्नुपर्छ । बाँच र बाँच्न देऊको नीति, सहअस्तित्वको नीति, सर्वे भवन्तु सुखिनः, सर्वजन हिताय सर्वजन सुखायको नीति लिनुपर्छ । सिंहदरबार इतिहास हो । यसको वर्तमान जनता दरबार हुनुपर्छ । हाम्रा राजनेता, जनप्रतिनिधि, सरकार र सेवा प्रदायक क्षेत्रहरूले म हिजो थिइनँ, भोलि म रहदिनँ, हिजोभन्दा अगाडि र भोलिभन्दा पछाडिको कडी भएर काम गर्नुपर्छ । तब मात्र सिंहदरबार र जनताको बीचको वास्तविक दूरी समाप्त हुन्छ ।
माओवादी युद्धलाई युद्धकारी पक्षले जनयुद्धको संज्ञा दिएको थियो । राजाको शासनकालमा राज्यका सबै अवयवमा शाही शब्द जोडिए झैं माओवादीले पनि हरेक अवयवलाई जनतासँग जोड्न वा जनताप्रति समर्पित गराउन सेनालाई जनसेना, अदालतलाई जनअदालत आदि आदि भन्ने गरेको थियो । जनयुद्ध सफल भयो, शाही सत्ता ढल्यो र जनसत्ता कायम भयो । उप्रान्त, अबको बेला भनेको हरेक अवयव साँच्चिकै जनतासँग जोडिनुपर्ने थियो । तर त्यसरी जनतासँग जोडिएको अनुभूति भएको छैन । नाममात्रको अर्थ हुँदैन; नामसँगै चरित्रको महत्व हुन्छ ।
(लेखक निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् ।)

साभारः न्यूज अफ नेपाल डटकमबाट

Author:

क्याटोगरी छान्‍नुहोस