मधेसमा जसपाले आज मुख्यमन्त्रीकाे दाबी पेस गर्ने, प्रमुख दललाई दुई–दुई मन्त्रालय

जनकपुरधाम । मधेस प्रदेश सरकार गठनको लागि सत्ता गठबन्धन दलले आज (बुधबार) प्रदेश प्रमुखसमक्ष दाबी गर्ने भएका छन् ।जनता समाजवादी पार्टी(जसपा)ले आफ्नो नेतृत्वमा सरकार गठनका लागि विभिन्न सत्ता साझेदार दलका बढीभन्दा बढी सांसदहरूको समर्थन लिएर बुधबार बिहानै प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष दाबी पेस गर्ने तयारी भइरहेको छ ।

प्रदेश प्रमुख मिश्रले २८ गते ४ बजेसम्म दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार निर्माण गर्न आह्वान गरेका थिए । केन्द्रमा सत्ता गठबन्धन दलहरू नेकपा एमाले, माओवादी केन्द्र, जसपा, जनमत पार्टी र राप्रपाबीच भएको सहमति अनुसार जसपाले मधेस प्रदेशको नेतृत्व लिने सहमति भएकाे थियाे ।

सोमबार जसपाको संसदीय दलको नेता चयन भएका सरोजकुमार यादवले भोलिपल्ट नै सत्ता गठबन्धन दलका नेताहरूसँग सरकार गठनको विषयमा छलफल गरेका थिए । मंगलबार सांसदहरू जनकपुरभन्दा बाहिर रहेकोले बुधबार १२ बजेसम्म सरकार गठनको लागि दाबी पेस गर्ने तयारी भएरहेको जसपाका प्रदेश अध्यक्ष रामबाबु यादवले बताए ।

१०७ प्रदेशसभा सदस्य रहेको मधेस प्रदेशमा सरकार गठनको लागि ५४ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक हुन्छ । अहिले सत्ता गठबन्धनसँग रहेका नेकपा एमाले २३, जसपा १६, जनमत १३, माओवादी ८ र राप्रपा १ गरी ६१ सांसद छन् ।

केन्द्रमा सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व जसपाले गर्ने, प्रदेश सभामुख एमाले र उपसभामुख जनमतले पाउने सहमति भए पनि कुन पार्टीले कति मन्त्रालय पाउने टुंगो लागेको छैन ।

मंगलबार सरकार गठनको विषयमा भएको छलफलमा तत्काल प्रदेशका ठूला पार्टीहरू एमाले, जसपा, जनमत र माओवादी केन्द्रले दुई–दुई मन्त्रालय लिने गरी छलफल भएको बैठकमा सहभागी एक नेताले बताए । प्रदेशमा १० मन्त्रालय छन्  । यता, जसपाका प्रदेश अध्यक्ष यादवले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि मात्रै दलहरूबीच मन्त्रालय बाँडफाँटको विषयमा सहमति हुने बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस