बरामदित गाँजा तस्करले खोस्न खोज्दा गोबरगाढामा गोली चल्यो

राजविराज– प्रहरीले सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ गोबरगाढाबाट १८४ किलो गाँजा बरामद गरेको छ ।

बिशेष सुराकीको आधारमा शनिवार साँझ खटिएको प्रहरी टोलीले गोबरगाढास्थित छतौनी एरियाबाट सो गाँजा बरामद गरेको हो । घोडामा लोड गरेर भारततर्फ सो गाँजा लाँदै गर्दा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

उनका अनुसार तस्करीमा संलग्न व्यक्तिहरु प्रहरी टोलीलाई देख्नासाथ घोडा र गाँजा छोडि फरार भएका थिए । सो गाँजा प्रहरीले ल्याउन खोज्दा तस्करहरुको अज्ञात समूहले गाँजा खोस्ने प्रयास गरेका थिए ।

सोही क्रममा प्रहरीले एक राउण्ड गोली फायर गरेपछि ती समूह त्यहाँबाट भागेको प्रहरी नायव उपरीक्षक सिंहले बताए ।

सो स्थानमा प्रहरी नायव उपरीक्षकको नेतृत्वमा टोली खटाएर तस्करहरुको खोजी कार्य भइरहेको छ भने घटनाबारे थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस