महासंघको बन्द शत्रमा महासचिव झामाथि दुर्व्यवहार भएको भन्दै प्रेस मञ्चद्वारा भर्त्सना

राजविराज–प्रेस मञ्च नेपालले नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनको बन्द शत्रमा आफना महासचिव अवधेशकुमार झामाथि दुर्व्यवहार भएको भन्दै निन्दा र भर्त्सना गरेको छ ।

शनिवार मञ्चका अध्यक्ष कमन देवानले विज्ञप्ति जारी गर्दै महासंघका पूर्व केन्द्रीय कार्य समिति सदस्य तथा केन्द्रीय पार्षद्का रूपमा सहभागी भएका महासचिव झामाथि दुर्व्यवहार भएको जनाइएको छ ।

‘३१ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर मिति २०८१ बैशाख २१ गते नेपाल पत्रकार महासंघले आफ्नो २७औँ केन्द्रीय महाधिवेशनको उद्घाटन गरेको विदितै छ । सो कार्यक्रमको बन्दशत्रमा महासंघका पूर्व केन्द्रीय कार्य समिति सदस्य र केन्द्रीय पार्षद्का रूपमा सहभागी यस प्रेस मञ्च नेपालका महासचिव अवधेश झामाथि भएको दुव्यवहारप्रति प्रेस मञ्च नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिमा भनिएको छ, ‘आफ्ना विषय राख्न समय माग गर्दै सम्मानित बन्दशत्रको हलमा शिष्टचारपूर्वक उभिँदा समेत बेवास्ता गर्ने र अध्यक्ष मण्डलको हवला दिँदै निरंकुश शैलीमा ‘एक मिनेटमा विषयवस्तु राख्नु होला’ भन्ने जस्ता हेपाहा र अमर्यादित आदेश गर्ने महासंघको ठालु प्रवृत्तिको हामी घोर निन्दा र भत्र्सना गर्दछौँ ।’

विज्ञप्तिमा उक्त दुर्व्यवहारले समग्रमा नेपालमा भइरहेको जातीय, नश्लीय, लैङ्गिक र क्षेत्रीय विभेद्कै निरन्तरता रहेको ठहर गरिएको छ । ‘आवाजविहीनहरुको आवाज बन्नु पर्ने पत्रकारिता र पत्रकारका साझा र छाता संगठनले यस किसिमको रवैया प्रस्तुत गरिनुबाट ‘कतै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको वकालत गरेर नथाक्ने संगठनबाटै उत्पीडित र दमितका आवाजहरु बन्द गर्ने काम त भइरहेको छैन ?’, गम्भीर प्रश्न खडा भएको छ’ विज्ञप्तिमा भनिएको छ ।

महासंघलाई त्यस किसिमको विभेदकारी कार्यशैली सुधार गर्न र यो देशमा बसोबास गर्ने आदिवासी जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अल्पसंख्यक र पिछडिएको क्षेत्रका सवालहरुलाई समेत सुन्न र महत्व दिन विज्ञप्तिमार्फत ध्यानाकर्षण समेत गराइएको छ ।

कुरा राख्नै कसरत

२७ औं महाधिवेशनमा मधेशी, आदिवासी, जनजाति लगायतका वर्ग समुहलाई उपेक्षा गरिएको भन्दै प्रेस मंच नेपालका महासचिव झाले बन्द सत्रमा झण्डै ४० मिनेट बढी उभेर सांकेतिक विरोध जनाएका थिए ।

महासचिव रोशन पुरीद्वारा सांगठनिक प्रतिवेदन प्रस्तुत भईरहदा पत्रकार झा महासंघको साझा चरित्र विपरित एउटा खास वर्ग समुहलाई अझै पनि उपेक्षाका दृष्टिले हेर्ने काम भईरहेको भन्दै सभा समक्ष उभिराखे ।

‘महाधिवेशनको बन्द सत्र समक्ष उभिनु परेको अवस्था आफैमा दुखदायी थियो यद्यपि त्यसको विकल्प थिएन, झाले भने महाधिवेशनको उदघाटन सत्रमा एक जना पनि मधेशी अनुहार वक्ता सुचिमा थिएन, बन्द सत्रको शुरुमै आफ्नो कुरा राख्न पाउने अनुमति मागे, त्यो पनि पाइएन ।’

महाधिवेशनको उदघाटन सत्रमा कांग्रेस निकट प्रेस युनियन, एमाले निकट प्रेस चौतारी, माओवादी निकट प्रेस संगठन तथा नेकपा एस निकट संगठनका प्रतिनिधिहरुलाई वक्ता सुचिमा राखिएपनि प्रेस मंच वा मधेश केन्द्रित कुनै पनि संगठनका प्रतिनिधिलाई शुभकामना मन्तव्यसम्म राख्न नदिएको प्रति आफ्नो गुनासो रहेको झाको भनाई छ ।

‘उदघाटन सत्रमा झण्डै ५ दर्जन बढी पत्रकारलाई प्रेस स्वतंत्रता सेनानी घोषणा गरिएकोमा त्यसमा तीन जना मधेशी अनुहार मात्रै देखिनु लगायतका तथ्यहरु महासंघको साझा चरित्र विपरित कार्य हो’ महासचिव झाले भने, ‘झण्डै ४० मिनेट आफु सभा समक्ष शान्ति पूर्ण रुपमा उभिएर विरोध जनाएपछि वल्ल सम्मानित सभाले सभा समक्ष आफ्नो कुरा राख्ने अवसर मिल्यो ।’

लोकतन्त्र र प्रेस स्वतंत्रताका निम्ति त्याग र बलिदान दिने मधेशी, आदिवासी, जनजाति, दलित लगायत सवै वर्ग समुदायका पत्रकारहरुलाई समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने ठाउँमा झन उपेक्षा गरिनुलाई कदापि जायज नरहेको उनले बताए ।

सुनियोजित तरिकाले हरेक क्षेत्रमा प्रहार भइरहेको छ : पूर्वमन्त्री यादव

पूर्व सिंचाई मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता उमेशकुमार यादवले समानुपातिक/समावेशीविरुद्ध सुनियोजित तरिकाले हरेक क्षेत्रमा प्रहार भइरहेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल पत्रकार महासंघको बन्द सत्रमा सप्तरीको स्थापित पत्रकार श्री अबधेश झाले पत्रकार महासंघमा देखिएको शासकीय अहंकार एवम् उत्पीडित जाति विरुद्धको षड्यन्त्रमाथि धावा बोल्नु भएकोमा उहाँलाई हार्दिक धन्यवाद, बधाई र सलाम । समानुपातिक÷समावेशी विरुद्ध सुनियोजित तरिकाले हरेक क्षेत्रमा प्रहार भइरहेको, उत्पीडितहरुको बिच बाट ठिमाहा बनाइरहेको, उत्पीडन विरुद्धमा आवाज उठाउनेहरुलाइ निरुत्साहित गर्ने, आत्मसमर्पण गराउने काम हरेक क्षेत्रमा भइरहेको परिप्रेक्ष्यमा तपाईंको आवाजलाई सम्मान गर्दछु ।’

Author:



क्याटोगरी छान्‍नुहोस