मिथिलाञ्चलमा राखी बाँधेर रक्षाबन्धन पर्व मनाइँदै

ए रक्षा बन्धन सबसे बडा तौहार है
बनबालो राखी बेहनाका इसमे प्यार है…

अहिले सप्तरीसहित सम्पूर्ण मिथिलाञ्चल र मधेश क्षेत्रमा यस्तै जताततै भाइबहिनीको प्रेमको प्रतीक पर्व रक्षाबन्धनको साङ्गीतिक धुन गुञ्जायमान भएको पाइन्छ । रक्षाबन्धन पर्वलाई लिएर अहिले तराई मधेशभरि नै एउटा छुट्टै उल्लास छाएको छ ।

दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षा बन्धन पर्व धुमधामसाथ आज मनाइरहेका छन् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ ।

यस दिन दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दछन् । दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।

रक्षाबन्धनका दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई याद गर्ने र सोहीअनुरुप दाजुभाइले पनि बहिनीलाई याद गरेर अनिवार्यरूपमा उनीहरु कहाँ पुगेर आफ्ना दिदीबहिनीसँग राखी (रक्षासूत्र) बाँधेर एक अर्कालाई दीर्घायुको कामना गर्दै खुशियाली साटासाट गर्ने दिनलाई रक्षाबन्धन पर्व भनिएको छ । रक्षाबन्धन पर्वले भाइबहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।

के हो रक्षाबन्धन ?

भाइ र बहिनीबीचको अटुट प्रेमलाई दर्शाउने पर्व हो रक्षाबन्धन । खास गरेर रक्षाबन्धन हिन्दू धर्मावलम्बीले मनाउने एउटा पवित्र पर्व हो । रक्षाबन्धन शब्दमा दुई वटा शब्द जोडिएको छ ‘रक्षा र बन्धन’ रक्षाको अर्थ भाइले बहिनीको रक्षा गर्ने वाचा दिन्छ भने बन्धन जसले भाइबहिनीको सम्बन्धमा अझ बढी माया, स्नेह, सामिप्य र प्रेम ल्याउँछ ।

रक्षाबन्धन पारिवारिक मेलमिलाप बढाउने पर्व पनि हो । यो अवसरमा परिवारका हरेक मानिस एक ठाउँमा जम्मा हुन्छन् । रक्षाबन्धनका अवसरमा बजारमा पनि विशेष चहल पहल हुन्छ । रङ्गीबिरङ्गी राखीले पसल सजेको छ ।

पौराणिक कथाअनुसार देवराज इन्द्र र दैत्यराज वृत्तासुरका साथ १२ वर्षसम्म भयङ्कर युद्ध चलेको थियो । यस युद्धमा असुरले देवतामाथि विजय प्राप्त गरेका थिए । पराजित देवगण धर्म एवं संस्कारविहीन भएर जीवनयापन गर्न लागे ।

यसरी गौरवहीन जीवनदेखि देवराज इन्द्रले बाँच्नुभन्दा मर्नु नै श्रेयस्कर सम्झेर असुरसँग अन्तिम युद्ध गर्ने सङ्कल्प लिन्छन् । त्यो दिन श्रावण शुक्ल चतुर्दशीको दिन थियो । अतः देवगुरु वृहस्पतिले अघिल्लो दिन इन्द्रको कल्याण एवं विजय कामना होस् भनी श्रावणमासको पूर्णिमाको शुभमुहूर्तमा इन्द्रलाई रक्षाबन्धन बाँधेर बल प्रदान गरेका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस