काठमाण्डौ, २० असोज । काठमाडौं स्थित आँगन पार्टी प्यालेसमा शनिबार थारु राष्ट्रिय जितिया पर्वका वक्ताहरूले सार्वजनिक बिदाको माँग गरेका छन् ।
थारु महिला समाजको आयोजनामा आयोजित थारु राष्ट्रिय जितिया पर्व २०८० का वक्ताहरूले थारु र मधेशीले मनाउने जितिया पर्वमा राज्यपक्षबाट बिभेद गरेकोले सार्वजनिक बिदाको माग गरेका हुन् । जितिया पर्व नेपालमा मात्र नभई बिश्वभरी मनाउने गरेको वक्ताहरुले बताए ।
सँस्कृतिलाई संकुचित गरेर नराखी पुराना पुस्तादेखि हस्तान्तरण हँुदै आएकोले नयाँ पुस्तासम्ममा हस्तान्तरण गर्र्दै जानुपर्ने र यसलाई संरक्षण गरी जीवन्त राख्न वक्ताहरूले जोड दिएका छन । थारु जाति नेपालको प्राचीन जातिमध्येका एक जाति भएकोले जितिया पर्वको मौलिकता र बिशेषता रहेको छ ।
थारु महिला समाजकी अध्यक्ष सुशिला चौधरीको अध्यक्षता तथा सँस्कृती तथा पर्यटन मन्त्री सुदन किराँतीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको थियो । सोही कार्यक्रममा सांसद रामप्रकाश चौधरी, आदिवासी जनजाति न्याय परिषद्का अध्यक्ष महेश चौधरी, थारु बुद्धिजीवी बिरेन्द्र चौधरी, अधिवक्ता बुद्वसेन चौधरी, आदिवासी जनजाति पत्रकार महासंघ मधेश प्रदेशकी उपाध्यक्ष प्रिया सिंह थारु लगायतकाले जितिया पर्वमा राज्यपक्षबाट सार्वजनिक बिदा हुनुपर्नेमा जोड दिएका छन् ।
एनएन टिभीका कार्यक्रम प्रस्तोता प्रतिमा चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत मन्तव्य थारु महिला समाजकी सचिव मन्दिरा चौधरीले गरेकी थिइन् ।
जितिया पर्व गर्ने आमाको सन्तानलाई कुनै आपत् विपत् आएको खण्डमा पनि जिमुतवाहनले बचाउने गरेको धार्मिक मान्यता रहेको छ । कसैको दुर्घटनामा परेर ज्यान जोगिएको खण्डमा अहिले पनि समाजमा तेरो आमाले खरजितिया गरेको बाचिस भन्ने चलन रहेको छ ।
थारु समुदायमा ब्रत बस्नु अघिल्लो दिन महिलाहरू माइती पुग्ने गर्छन् । थारु समुदायमा जितिया पर्वमा माइतबाट दाजुभाइ लिन आउदा परेवाको मासु खुवाउने चलन छ । थारु र मधेसी समुदायका सबै दिदीबहिनी एक ठाउँमा जम्मा भई सुखदुख साट्दै यो पर्व मनाउने चलन छ । ब्रत बस्ने दिन बिहान खोला, नदी, तलाउमा नुहाउने चलन रहेको छ। दिनभरी पानी समेत नखाई नाचगान गर्दै मनाइने यो पर्व साथीत्व, मेलमिलाप गर्ने पर्व पनि हो ।
सन्तानको दीर्घायुका लागि बिशेषतः महिलाले बस्ने ब्रतको रुपमा चिनिने पर्व जितिया हो । जितिया व्रत आशिन कृष्णपक्षको सत्मी अष्टमी र नवमी तिथिका दिन यो ब्रत गरिन्छ । सत्मीको दिन नुहाइ खाइ , अष्टमीको दिन उपवास र नवमीदिन पारन गर्दै समाप्त हुन्छ ।