मिटरब्याजी भगत परिवारमाथि सम्पत्ति शुद्धीकरणले थाल्यो छानबिन (फलोअप)

राजविराज–ऋणीको जग्गा हडप्ने धन्दा नै फैलाएको आरोप खेपिरहेका मिटरब्याजी परमानन्दसहित भगत परिवारमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको छ ।

जिल्लाको खडक नगरपालिका–७ का परमानन्दका भाई बोदे बरसाईन नगरपालिका–५ का राधेश्याम भगत ‘राधा’, भतिजो रामचन्द्र भगत र भान्जा अजय भगत लगायतकामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेको हो ।

परमानन्द लगायतकामाथि अनुसन्धान भइरहेको विभागका एक कर्मचारीले बताए । ‘सम्पत्ति, लेनदेन, कारोबारसहितका आवश्यक विषयहरुबारे अनुसन्धान हुँदैछ’ उनले भने ।

भगत परिवारले जग्गा हडप्ने धन्दा नै फैलाएको ऋणीहरुले आरोप लगाइरहदा ‘मधेशलाइभ’लाई प्राप्त प्रमाणअनुसार परमानन्दका रामचन्द्र भगतको नाममा मात्रै ६३ ठाउँमा गरी ७ विघा ११ कठ्ठाभन्दा बढी जग्गा फेला परेको थियो ।

उक्त जग्गामध्ये ०७६ साउन २० गते यता मात्रै विभिन्न व्यक्तिहरुबाट २६ ठाउँका ३ विघा २ कठ्ठा जग्गा रामचन्द्रको नाममा आएको छ भने अन्य जग्गा त्यसअघि नै उनको नाममा आएको देखिन्छ । मोरङ्गको विराटनगर, सप्तरीको बोदे बरसाईन, बेल्ही चपेना, इनर्वा फुलबरिया, बनौली, फुलकाही, भंगहा, खोजपुर, मानराजा, नेंगडा, खडकपुर, कल्याणपुर र मैनासहश्रवाहुको जग्गा गरी कुल ७ विघा ११ कठ्ठा साढे २ धुर रामचन्द्रको नाममा देखिएको हो ।

त्यस्तै, परमानन्दका भान्जा अजय भगतको नाममा पनि ५१ ठाउँमा ५ विघाभन्दा बढी जग्गा रहेको देखिन्छ । जिल्लाको तत्कालिन सारस्वर, खोजपुर, बोदेबरसाइन, कुशहा, इनर्वा फुलबरिया, मानराजा, पत्थरगाढा, कल्याणपुर, कविलासा, नेगङ्गा, देउरी, भंगहा, देउरी भरुवा र मैनासहश्रवाहु गाविसमा उनको नाममा ५ विघा ५ कठ्ठा साढे १२ धुर रहेको छ । उक्त जग्गामध्ये अधिकांश जग्गा २०७३ सालयता खरिद गरेको देखिन्छ ।

अजयले पनि आफु थोरथार मात्रै ब्याजको कारोबार गर्ने गरेपनि अधिकांश मामा (परमानन्द)ले नै कारोबार गरेको जग्गा आफ्नो नाममा राखेको तथा लालपूर्जा पनि मामासँगै रहेको बताउँदै आएका छन् ।

सो धन्दामा परमानन्दका भाइ राधेश्याम भगत ‘राधा’ले सघाउँदै आएको यसअघि मधेशलाइभको सम्पर्कमा आएका ऋणीहरु जिल्लाको बोदे बरसाईन नगरपालिका–१० खडकपुरका ६५ वर्षीय काशिलाल चौधरी र ५३ वर्षीय रामकुमार पंडित लगायतले दावी गर्दै आएका छन् ।

यसअघि उच्च अदालत जनकपुर, राजविराज इजलासबाट परमादेश जारी भएपछि ठगी तथा आपराधिक विश्वासघात मुद्दमा ०८० फागुन २५ गते परमानन्द पक्राउ परेका थिए । उक्त मुद्दामा परमानन्द पक्राउ परेका थिए भने पछि उक्त मुद्दा मिलापत्र भएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780