श्यामसुन्दर यादव ‘पथिक’
जनकपुर सम्झिने वितिक्कै झट्ट जनक, सीया र कलाकौशलताको धरोहर जानकी मन्दिर श्रव्यदृष्य सङ्ग्रह जस्तै देखिन थाल्छ । ममात्र होइन मजस्ता करोडौंको आस्था स्थल हो जनकपुरधाम । म मनुवाले आदर्शनारी सीया–जानकीको छत्रछायामा चारवर्षसम्म निरन्तर बस्ने अवसर पाएँ । यसक्रममा मैले सङ्घर्ष, व्यक्तित्व निर्माण, ज्ञान आर्जनका साथै यहाँको लोकजीवनमा केही हदसम्म घुलमिल हुने अवसर पाएँ ।
अग्रजहरुको स्नेह, समकक्षीहरुको आत्मियता तथा नयाँ पुस्ताबाट पाएको आदरभावकालागि मिथिलाको पावनभूमिप्रति म सदैव ऋणी रहनेछु । सङ्घर्ष तथा पीडादायी क्षणहरुमा पनि अगाडि बढ्न म सदैव हौसला पाइरहेँ । कतिपय यस्ता सम्बन्धका आत्मिय मनहरु पाएँ, मेरो दुःखमा चिन्तित हुने तथा सहजतामा सुखद् अनुभूति गर्ने । त्यही भएर जन्मभूमि र कर्मभूमिमा मैले खासै अन्तर महसुुस गरिनँ । मैथिली अभियान र पत्रकारिताको अन्तरसम्बन्धले गर्दा पनि यहाँका भूमिपुत्रहरुसँग म अन्जान थिइनँ ।
कर्मभूमिमा रहँदा मैले गरेका प्रयासहरुको समिक्षा इतिहासले गर्ने नै छ । मधेश प्रदेश सरकारको आमसञ्चार प्राधिकरणको अध्यक्षीय कार्यकाल पूरा भएपछि पुनः जन्मभूमि सप्तरी नै फर्किने मन बनाएँ । आफन्तजनको सल्लाह पनि त्यहीँ भयो । तर यहाँको आत्मिय सम्बन्धका बलिया घेराहरु तोड्ने प्रयास त गरेँ तर सकिनँ । अन्ततः यही भूमिमा बालबच्चाहरुको शिक्षादिक्षासँगै मैले पनि ज्ञान आर्जनको थलो बनाउन बाध्य भएँ । ‘सङ्घर्ष नै जीवन हो’ भन्ने यथार्थलाई आत्मसात् गर्दै जनकपुरधाममा सङ्घर्षयात्रालाई नयाँ शिराबाट शुरुवात गरेँ ।
तत्कालीन मुख्यमन्त्री मा. लालबाबु राउत नेतृत्वको सरकारका भौतिक पूर्वाधार विकास मन्त्री मा. जितेन्द्र सोनललाई सम्झिएँ । राजधानी जनकपुरधामसँग सर्वसाधारणको सहज र सुलभ पहुँच बढाउनका लागि पाँच ओटा सुविधा सम्पन्न ठूला बसहरु खरिद गर्नुभएको थियो । उक्त बस जनकपुर–वीरगञ्ज, जनकपुर–राजविराज, र राजविराज–वीरगञ्ज रुटमा सञ्चालन गर्ने योजना बनाएको थियो ।
आज २०८१ चैत ३० गते । जुडशीतल अर्थात सिरुवा मनाउन गाउँबाट मैडमको बोलाहट थियो । त्यस बीच दलित पत्रकार संघको प्रदेश अधिवेशनको उद्घाटनमा आउन आयोजक मित्र कैलाश दासले आउनै पर्ने भनी निम्तो दिएका थिए । मैले आग्रहलाई टार्न सकिन । कार्यक्रममा सहभागी भएर राजविराज हुँदै गाउँ छपकी–भथौल जसरी भए पनि जाने योजना थियो । उक्त कार्यक्रममा सप्तरीबाट मेरा मित्र भोला पासवानसहितका साथीहरु स्कार्पिओमा आउँदै गरेको फेसबुक पोस्टबाट थाहा भयो । उनीहरुसँगै जाउँला भनी मन बनाएर कार्यक्रममा पुगें । तर कार्यक्रम ढिलो शुरु भएकोले साँझ पर्ने अवस्था देखेर सम्बोधन हुँदै गर्दा निस्किएँ ।
हतार–हतार कोठा पुगेर ब्याग बोकी भानुचौकबाट सिटी रिक्सा चढेर रामानन्द ओर्लिएँ । त्यहाँ बस तथा माइक्रोहरु लामवद्ध थियो । मोबाइलतिर नजर दौडाएँ, दिउँसोको दुई बज्दै थियो । कन्टेक्टरहरु यात्रु बटुल्न व्यस्त थिए । चर्को घाममा म राजविराजबाला बस खोज्दै हैरान थिएँ । राजविराज…राजविराज… भन्दै एक जना ठिट्टो कराइरहेका थिए । ‘कत’ जेबै ?’ मैले ‘राजविराज’ भने । बोरामा तरकारी कोचें झैं कोचाकोच गर्दै नव दुर्गा ट्राभल्स बसमा यात्रु छिराउने क्रम जारी थियो । सबै सिट भरिसकेका थिए, सात–आठ यात्रु उभिरहेका थिए । ‘सिट खाली नइँ छै, हम नइँ जाएब’ मैले भने । ‘महेन्द्रनगरमे खाली हो जेतइ सर, अहाँके सिट मिलेबै’ भन्दै हात समातेर अन्य यात्रु जस्तै ऊ मलाई कोच्न सफल भए । एक हातमा ब्याग र अर्को हातले छड समातेर बसमा ठिङ्ग उभिएँ ।
बस कछुवा गतिमा प्रस्थान गर्यो । मुजलेलियामा फेरी रोकियो, यात्रु कोच्दै अगाडि बढ्यो । यात्रु थपिएसँगै म पछाडि सर्दै गएँ । महेन्द्रनगरमा सिट पाउँला भनी आश गरेको मनुवा ढल्केवर पुग्दा त बसमा खुट्टा राख्ने ठाउँसम्म थिएन । मैले मौनता तोड्दै कन्टेक्टरलाई सिट मागे । मिर्चैयामा खाली हुने आश्वासन पाएँ । ढल्केबरमा यात्रु कोच्न गाडी रोक्नै लागेको थियो । त्यतिकैमा एक प्रौढ यात्रु ‘गाडी रोकू, हम ठाढ भ्याके नइँ जेबै’ भन्दै गर्दा कन्टेक्टर रोक्न खोज्दा उम्किएर ओर्लिन सफल भए । म पनि ओर्लिन अगाडि सर्दै थिएँ । झरेको टिप्न लाग्दा पोल्टाको पनि झर्ने अवस्था देखेपछि कन्टेक्टरले तत्कालै ‘जाउँजाउँ’ भनेपछि गाडी बिस्तारै अगाडि बढ्यो ।
बाटोमा छोटो दूरीका यात्रुहरु कोच्ने–ओराल्ने क्रम जारी थियो । म मनुवा उकुस–मुकुस भइरहेको थिएँ । सार्वजनिक बसको यात्रा मेरो पहिलो थिएन । यस अघि पनि कैयो पटक गएको थिएँ । तर अघिल्लोपटकका यात्राहरुमा सिटको बसाइले गर्दा यति बिघ्न थिएन । केही चिनेका यात्रु पनि थिए तर नचिने झैं गरी सिटमा बसिरहेका थिए । यता कन्टेक्टर भाडा असुल्नमा व्यस्त थिए । ट्र«ाफिक प्रहरीको ईसारासँगै सिरहाको बन्दीपुर प्रहरी चेकपोष्टमा बस अचानक रोकियो । चालकसँगै कन्टेक्टर पनि ओर्लिंदै प्रहरी नजिक पुगे । सिटभन्दा बढी यात्रु बोकेको भन्दै प्रहरीले जरिवाना रसिद थमाईदियो । यता उभिएको झण्डै डेढ घण्टा भन्दा बढी भइसकेको थियो । त्यसमाथि बस रोक्किदा उखरमाउलो गर्मीले उत्पातै मच्चाएको थियो । जिऊमा खलखली पसिना आउनै लागेको थियो । जरिवाना तिरेपछि बल्ल गाडी अगाडि बढ्यो ।
‘सर, भाडा दियौ त’ झिल्के कन्टेक्टरले ताकेदा गर्यो । मलाई रिस उठेको देखेर उसले सबभन्दा पछाडिको सिटमा बसेकी एक महिलातर्फ ईसारा गर्दै ‘सर, मिर्चैयामे ऊ सिट खाली हो जेतइ, तुरन्ते बैठ जाएब’ भने । ‘हेतै’ मैले मौन समर्थन जनाएँ ।
महेन्द्रराजमार्गमा बस गति लिनै लाग्दा फेरी कछुवा गतिमा आउँथ्यो । निर्माणका क्रममा तोडफोड भएको राजमार्गको बाटोले गर्दा उबडखाबडमा ट्रयाक्टरको डालामा बसेको झैं महसुस भइरहेको थियो । कुनबेला गाडीको ब्रेकसँगै हुत्तिन पुग्थें ? थाहै हुदैनथ्यो । मेरो अगाडि बच्चा बोकेकी महिला यात्री उभिएकी थिइन । जस्तोसुकै अवस्थामा पनि नहुत्तिने गरी जीउलाई नियन्त्रणमा लिन जोडले बीचको पाइप समातेको थिएँ ।
सिटमा बसेका अधिकांश यात्रीहरु निद्राको आनन्द लिई रहेका थिए भने केही गफिदै यात्रामा थिए । मिर्चैया कटिसकेको थियो । ती महिला यात्रु संस्था चौकमा ओर्लिए लगत्तै म थचक्क सबभन्दा पछाडिको सिटमा बस्दै राहतको सांस लिएँ । त्यतिकैमा हातमा लौरो टेक्दै वृद्ध महिला मतिर हेर्दै बर्बराउँदै थिइन् । ‘ई बसबाला ठेलठाइलके चढा देलकै, कतौ न सिट खाली देखै चियै ।’ म चुपचाप सुनिरहेँ । बसमा त महिला, अशक्त, ज्येष्ठ नागरिकको आरक्षित सिट पनि हुन्छ नि सोच्दै नजर दौडाएँ । अशक्तको सिटमा त भर्खरकी एक सुन्दरी महिला मस्त निदाईरहेको देखेँ । झ्यालबाट प्रवेश गरेको हावाले कपाल फर्रर उडिरहेको थियो । ती आमाले यात्रुहरुको अनुहार चियाउँदै थिइन् । तर उनलाई सबैले नदेखै झैं गरिरहेका थिए । यतिकैमा उबडखाबड बाटोको खाल्टोमा उनी खसे झै भइन् । ‘मार बाढैन, हाड पाँजर तोइड देत ई बसबाला ।’ ती यात्रुको हात थाम्दै ‘अहाँ बैठू त मैयाँ’ खुशी हुँदै बसिन् । म फेरी झोला हातमा लिएर पूर्ववत अवस्थामा ठिङ्ग उभिएँ । ‘बाबु, जा’ तोरा निके हेत’ भन्दै प्रसन्न भावमा धन्यवाद् दिइन् ।
गोलबजारमा बल्ल पछाडिको सिट खाली भयो । म आमा नजिकै झ्यालतर्फ थचक्क बसेँ । तीन युवती र एक बालक छेउँको सिटमा बसे । पछाडिको सिट त्यसमा पनि निर्माणधीन फोर लेन सडक । भुइँमा बजारिए जस्तो अनुभूति पटक–पटक गरिरहेँ । ‘गै, खौम मचकी लगै छै’ अर्कीले ‘हाँस्दै जवाफ दिइन् ‘हँ, खौमके झुल न ।’ म नसुने झैं झ्यालबाट चुरेतर्फ हेर्दै थिएँ, बीचबीचमा बस्ती र चौकहरुले गर्दा छेकिन्थ्यो ।
बस लहानमा रोकियो । उनीहरुसँगै आमा पनि त्यही झरिन् । लगभग बस आधा जति खाली भयो । छेउको पसलबाट एक बोतल पानी र ठेलावालाबाट २० रुपैयँको मकैको लाबा किनेँ । सिटमा बसेर खान थालेँ । बस राजविराज जादैन कि भनी अलिअलि चिन्ता लागिरहेको थियो । किनभने जनकपुरबाट लहान पुगेर राजविराज जाने अर्को गाडि वा माइक्रोमा यात्रु बेचिन्छ भनी गृहजिल्लाकै पत्रकार दाइ धीरेन्द्र साहले सुनाएका थिए । कुन गाडिमा कतिबेला बेचिने हो कि भनी मनमा चिन्ता लागिरहेको थियो । सिरहाको रेडियो वेलकममा काम गर्ने गृहजिल्ला अर्थात सप्तरी हनुमाननगर निवासी भाइ विनोद ठाकुर पनि चढे । साथमा थिइन् सात आठ वर्षकी छोरी ।
मेरो अनुमान फेल भयो । १५ मिनेट पछि चालक पुनः बस कुदाउन थाले । रेडियोकर्मी भाइसँग बात मार्दै यात्रा अलि सहज भएको अनुभूति गरेँ । मोबाइलमा मैडमले बीचमा फोन गरेर कहाँ पुगेको भनी सोधनी गरिरहेकी थिइन् । उनकै भनाइ अनुसार म चार किलो अर्थात पौंवा चौकमा ओर्लिनु पर्ने भयो । साँझको पौने सात बज्नै लागेको थियो । गौंधुली साँझमा खोरियाबाट गाईबाख्रा चराएर फर्किदै गरेको दृष्य देखिन्थ्यो । रुपनी पुगेपछि आफ्नो झोला तयारी अवस्थामा राख्दै बसबाट ओर्लिन ब्याकुल थिएँ । दुई किलोमिटर अगाडि नै गेटमा ओर्लिनका लागि तयारी अवस्थामा थिएँ । युनिक हस्पिटल कटेपछि चौकमा गाडी रोकियो । बिनोद भाइलाई धन्यवाद् भन्दै ओर्लिए । त्यहाँबाट बसको गन्तब्य अर्थात राजविराज पुग्न लगभग ६ किलोमिटर अझैं बाँकी थियो । मोबाइलमा हेर्दा त ६.५० बजिसकेको थियो ।
दुई बजे बसमा चढेको यात्रुलाई करिब १२० किलोमिटर यात्रा गर्न झण्डै पाँच घण्टा लागिसकेको थियो । त्यसमा असहज एवम् अत्यासलाग्दो यात्रा । भाइ विनोदलाई राजविराजबाट गाउँ योगिनियाँ जान हनुमाननगर कङ्कालिनी पुग्नुपर्ने थियो । त्यहाँबाट म्याजिक वा ई रिक्सा नपाउने हो कि भनी चिन्ता व्यक्त गरिरहेको मैले सम्झे ।
प्रदेश सरकार गठन भएको लगभग नौ वर्ष पुग्नै लागेको थियो । जनकपुरधामबाट राजविराज पुग्न पाँच घण्टा लाग्नु भनेको सार्वजनिक यातायातमा राजधानी जनकपुरधाममा काम सकाएर एकदिनमै सर्वसाधारणलाई फर्किन गाह्रै हुँदो रहेछ ।
लोकमार्ग विस्तारका क्रममा निर्माण कम्पनीको ढिलासुस्ती एवम् लापर्वाही तथा बसवालाहरुको बदमासी पनि एक कारण हो । राजविराजबाट बिहानै पाँच बजेदेखि ६.३० बजेसम्म माइक्रो तथा बसहरु बिराटनगर रुटमा चल्ने गरेका छन् । लगभग ७५ किलोमिटरको सहज बाटो तय गर्न बढीमा दुई घण्टा लाग्छ । शिक्षादिक्षा तथा व्यापार–व्यसायका लागि बिराटनगर पहिलो रोजाइमा पर्ने गरेको छ ।
मधेश प्रदेशको राजधानी पुग्न राजविराजबाट धनलक्ष्मी, नवदुर्गा, रियाज र एक अन्य मिनी बस चल्ने गर्दछ । माइक्रो बस त एउटा पनि छैन । विवाहको लगनका दिन त बसहरु रिजर्वमा गएपछि सर्वसाधारणले सास्ती झेल्नुपर्ने हुन्छ । कुनै बेलाको राजविराज सगरमाथा अञ्चलको सदरमुकाम थियो राजविराज । नेपालमा सबभन्दा पहिला मोटर चल्ने सहरहरुमध्ये राजविराज अग्रणी थियो । त्यतिबेला मैले पुरानो इतिहास अर्थात अनुप दास मुसाई दासको दास बस सम्झें त्यसो त देशकै पुरानो ऐतिहासिक मार्ग हुलाकी सडक नबनाएर राजा महेन्द्रको पालामा जङ्गल फँडानी गरेर बनाइएको थियो । राजमार्गलाई मोडेर राजविराज छुन नदिनु पनि त्यतिबेलाको षड्यन्त्रै भएको हो । बीचमै माउसुलीले कहाँबाट मनको कुरा सुन्दै थियो कुन्नी । ‘ठिक ठिक’ भनी मेरो कुरालाई समर्थन जनाएको रहेछ ।
तराई–मधेशका २० जिल्ला जोड्ने एक हजार किलोमिटर लामो (सहायक मार्ग समेत १७९२ कि.मि.) हुलाकी सडकले ग्रामीण बस्ती, बजार र सीमावर्ती क्षेत्रलाई जोडेको छ । वि.सं. २०१३ सालमा निर्माण योजना शुरु भएको हुलाकी सडकलाई मैले सम्झे । पत्रकारिता, प्राध्यापन, राजनीति र सामाजिक अभियानका अगुवा सिरहाका रामरिझन यादवसरलाई सम्झिन पुगेँ । हुलाकी सडक र कमला पुल निर्माणका लागि उहाँको सङ्घर्ष र अगुवाइलाई स्मरण गरेँ ।
मधेश प्रदेशको सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा ३३५ किलोमिटर सडक निर्माण सम्पन्न भइसकेको छ । बर्खामा हिलाम्य र सुखा याममा धुलाम्मय रहने सडकमा कालोपत्रे भएको देख्दा मन गदगद हुन्छ । तर कमला नदीमा पुल हुन्थ्यो भने जम्मा ८४ किलोमिटरको यात्रा मात्र हुनेथियो । सप्तरीमा सिरहा रोड भनेर चिनिने उक्त सडकको भएर जनकपुरधामबाट राजविराज पुग्न बढीमा डेढदेखि दुई घण्टाको यात्रा हुनेथियो । तर दुर्भाग्य, सञ्चालनमा नआउँदै भत्किएको उक्त पुलको निर्माण अझैं अलपत्र छ । कहिले निर्माण सम्पन्न होला ! र सप्तरी सुदूरबाट सुगम होला भन्न सकिन्न ।
तत्कालीन मुख्यमन्त्री मा. लालबाबु राउत नेतृत्वको सरकारका भौतिक पूर्वाधार विकास मन्त्री मा. जितेन्द्र सोनललाई सम्झिएँ । राजधानी जनकपुरधामसँग सर्वसाधारणको सहज र सुलभ पहुँच बढाउनका लागि पाँच ओटा सुविधा सम्पन्न ठूला बसहरु खरिद गर्नुभएको थियो । उक्त बस जनकपुर–वीरगञ्ज, जनकपुर–राजविराज, र राजविराज–वीरगञ्ज रुटमा सञ्चालन गर्ने योजना बनाएको थियो ।
सस्तो भाडादर र ससमय सेवा दिने उद्देश्यका साथ खरिद गरिएको उक्त बसहरु प्रदेश परिवहन गठन गरेर सञ्चालन हुनुपर्ने थियो । तर महिनौंसम्म बसहरु थन्किरह्यो । पछि प्रदेशका विभिन्न निकायहरुलाई हस्तान्तरण गरियो । प्रदेश परिवहन मार्फत सरकारी बस सञ्चालन भएको भए अवश्य नै जनताले प्रदेश सरकारको उपस्थितिको अनुभूति गर्न पाउने थियो ।
म जस्ता मनुवाहरुका कुरा कसले पो सुन्छ र ? जहाँ हरेक थोकमा साम, दाम दण्ड र भेद नै काम लाग्छ । हो रैछ, त्यै भएर त वैज्ञानिक डा. महाबिर पुन, प्रा.डा. गोबिन्द केसी जस्ता देशभक्तहरुलाई पाखा लगाइएको छ । कठै मेरो देश ! यतिकैमा छोरी खुश्बु चढेको स्कुटी मेरै छेउँमा हुइँकियो । झोला स्कुलको बीचमा राख्दै पछाडि बसेँ ।
घर पुगेको केही मिनेटमै त्यही बसका सहयात्री भाइ बिनोदको फोन आयो । ‘दाजु, म्याजिक भेट गेलै, एक घण्टामे घर पहुँच जेबै’ भन्दै फोन काटियो । पर्खालमा झुण्डिएको घडीको सुईले साढे साते बजेको शङ्केत गर्दैथियो । मैडमले कागती चिया हातमा थमाउँदै प्रश्न गरिन् ‘हरदम कथी सोचैत रहै चियै, सौंसे दुनियाँके ठिक्का ल्याके अहीँ बैठल चियै ।’ ‘नइँ सोचै छियै’ टाउँको हल्लाउँदै साङ्केतिक जवाफ दिएँ । यद्यपी दिनभरीको यात्रा र त्यससँग जोडिएका विषयहरु मेरो मस्तिष्कमा छतको पंखासँगै नाचिरहेको थियो । लेखक, साहित्यकार एवम् पत्रकार हुन् । सं.