भोजभतेरको आडम्बर त्याग्नु जरुरी

 

सामाजिक संस्कारका रुपमा लिने गरिएको भोजभतेरलाई प्रतिष्ठाको विषय बनाउन थालेपछि अहिले हाम्रो समाजमा कतिकालागि यो बोझ बन्न पुगेको छ । जन्म, मृत्यु,ब्रतबन्ध,विवाह लगायतमा भोज गर्ने सामाजिक परम्परा रहेको छ । यसरी एक जनाले यस्ता कार्यमा गरेको भोजलाई उछिनेर अर्कोले त्यो भन्दा बढी मानिस सहभागी गराएर बढी खर्च गर्ने होडबाजी चल्न थालेका कारण अहिले यसलाई विकृति मान्नेहरु पनि नरहेका होईनन् ।

संस्कारका नाममा गरिने अत्यधिक खर्च तथा आडम्बरका कारणले यो विकृतिको रुप धारण गर्दैछ भन्ने उनीहरुको तर्क छ । सामाजिक व्यवहार सुधार ऐनले विगतमा भोज भतेरमा खर्चको सीमा तोकेर त्यसभन्दा बढी खर्चमा रोक समेत लगाएको थियो । यसै गरी विवाहमा जन्ति लैजाँदा ५१ जनाभन्दा बढी नहुने गरी लैजानु पर्ने व्यवस्था थियो ।

अत्यधिक फजुल खर्च रोक्नकालागि नै ऐनमै यस्तो व्यवस्था त गरियो । तर,व्यवहारमा चाहिँ त्यसको उल्लंघन हुने गरेको कारणले अहिले पनि यस्तो फजुल खर्चको परम्परा कायमै देखिन्छ । रबाफ तथा आडम्बरका रुपमा गरिने यस प्रकारको अनावश्यक खर्चको प्रबृत्तिले विस्तारै समाजमा विकृतिको रुप लिने हुन्छ ।

क्षमताले नभ्याउँदा पनि प्रतिष्ठाका नाममा गरिने यस्ता भोजभतेरका कारण कतिको जग्गाजमिनै बेच्नु पर्ने अवस्था समेत आएको छ । यस प्रकारका खर्चमाथि नियन्त्रणका साथै बरु भोजमा गरिने खर्च लोककल्याणमा लगाउन सकियो भने त्यसले समाजमा परिवर्तन ल्याउनमा पनि उदाहरणीय बन्न सक्दछ ।

हामी कसैकसैले आफ्नो जन्म दिन वा विवाहका अवसरमा भोजभतेर नगरी त्यसमा लगाउने खर्चको रकम बाट विपन्न समूदायमा कपडा वितरण गरेको, विपन्न वालवालिकालाई शैक्षिक सामग्री प्रदान गरेका समाचार पनि बेलाबखत सुन्न पाउँछौं । यसरी भोजमा गरिने खर्चलाई सामाजिक हितमा लगाउन सकियो भने त्यसको उपादेयता तथा महत्व पनि बढ्नेमा आशंका रहन्न ।

एक जनाले गरेको खर्चलाई उछिनेर अर्कोले त्यो भन्दा ठूलो भोजभतेर गरेर देखाउने सोच पलाउन थाल्यो भने चाहिँ त्यसलाई घातक मान्नु पर्ने हुन्छ । अहिले पनि हाम्रो समाजमा दुई छाक गतिलो खाना खान सक्ने हैसियत नभएका,जाडोमा न्यानो कपडा अभावका कारण ज्यान जोगाउन समस्या भएका,विरामी पर्दा उपचार गर्न नसकेका विपन्नहरुको संख्या पर्याप्त छ । उनीहरुकालागि सरकारले पनि यथोचित व्यवस्था गर्न नसकिरहेको अवस्थामा मानवीय सेवाका हिसाबले भोजभतेरको रकमलाई उनीहरुका निम्ति खर्च गर्न सकियो भने थोरै भए पनि राहत पुग्न सक्दछ ।

फजुल खर्चलाई रोकेर सामाजिक कार्यमा गरिएको लगानीको सार्थकता पनि हुने निश्चित छ । भोजभतेरको आडम्बरभन्दा थोरै सहयोगले पनि कसैको ज्यान जोगाउन सकिन्छ अथवा समस्यामा परेकाहरुलाई उकास्न सकिन्छ भने त्यो नै पवित्र कार्य हुने भएका कारणले पनि यसतर्फ विचार पुर्याउनु जरुरी छ ।

समाजमा मानवीय सेवाकालागि यस्ता उदाहरणीय कामको सुरुवात हुन थालेपछि क्रमशः अरुले पनि यस कार्यमा सहयोगी हात जुटाउने सम्भावना समेत बढेर जाने हुन्छ । यस प्रकारका काममा प्रोत्साहनकालागि समाज परिवर्तनको पहरेदार युवा वर्ग अघि आउन सके यो काम अझै प्रभावकारी बन्नेछ । तस्विरः टुडेपाटी

Author:



क्याटोगरी छान्‍नुहोस