उपेन्द्र यादव
नेपालमा शाहवंशीय राजतन्त्रको उदयसँगै केन्द्रिकृत शासन प्रणाली र सामन्ति संस्कृति तथा संस्कारको विकास भएको हो । राजदरबार भित्रको आन्तरिक कलह, राजनीतिक अस्थिरता र ईष्ट इन्डिया कम्पनीको सहयोग र समर्थनमा वि.स.१९०३, २४ श्रावणमा निरंकुश पारिवारिक राणाशासनको उदय हुनु र १०४ वर्षसम्म जारी रहनु, त्यस पछि वि.स. २००७ सालको जनक्रान्तिले राणाशासन त फालियो तर शाह र राणा दुबैका सामन्ति संस्कारका अवशेषहरु फाल्न सकेन ।
राजा महेन्द्रको वि.स.२०१७ साल पुष १ गतेको कदमले यो संस्कृति र संस्कार अझ मजबुत नै भयो । निरंकुश निर्दलीय व्यवस्था सामन्ति संस्कृति र सस्कार कै जगमा उभिएको थियो । वि.स. २०४६ सालको परिवर्तन पछि पनि सामन्ति संस्कार निरन्तर जारी नै रहयो, जसले गर्दा बहुदलीय लोकतान्त्रिक व्यवस्था पनि टिक्न सकेन ।
वि.स. २०७७ सालसम्म आइपुग्दा पनि त्यसको प्रभाव यथावत नै रहेको छ । नेपालको संविधानमा संघीय लोकतान्त्रि गणतन्त्र लेखिएको छ । सत्ता र शक्तिको सन्तुलनमा केही परिवर्त पनि भएको छ, तर शक्ति संरचना परिवर्तनले मात्र राजनीतिक संस्कार नहुने रहेछ भन्ने उदाहरण नेपालमा आज देखिएको राजनीतिक नेतृत्व वर्ग भित्रको विकृति र विसङ्गतिहरुले प्रष्ट पार्दछ ।
नेपालले सामाजिक–आर्थिक पछ्यौटेपनबाट उल्लेख्य फड्को मार्न नसक्नुका प्रमुख कारण राजाकाल, राणाकाल, निर्दलीय पञ्चायतकाल, बहुदलीय व्यवस्था या आजको लोकतान्त्रि गणतन्त्रमा पनि सामन्ती संस्कृति संस्कारका अवशेषहरु यथावत नै रहनु हो । लोकतान्त्रिक गणतन्त्र केवल कागजमा सिमित हुने भएकाले व्यापक जनआक्रोस अनि निराशाले वातावरण धमिलिन थालेको छ ।
संविधानमा समाजवाद उन्मुख शब्द लेखिए पनि सरकार, दल र प्रशासनमा समेत उच्च जातको आधिक्यता जस्ताको तस्तै छ । संघीयता, समावेशीता र लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने खतरा छ । अहिले सरकार र पुराना राजनीतिक दलहरु सिद्धान्तविहीन र दिशाविहीन भएका छन् । अहिले कांग्रेस, कम्युनिष्ट लगायतका पार्टीहरु भित्र नेतृत्व वर्गमा देखा परेका विकृती र विसंङ्गति पनि सामन्ति संस्कृति र संस्कार नै यसका मुल जड् हुन् ।
आज कमिशनखोर, भ्रष्ट र विचौलियाको बिगविगीमा देशको शासनतन्त्र चलिरहेको छ । आर्थिक र सामाजिक रुपमा सम्पन्न तथा विपन्नको दुरी बढिरहेको छ । नेताहरुले आफ्नो सामन्ति संस्कृति, संस्कार र चिन्तन एवम् व्यवहारमा परिवर्तन गरी संघीयता, लोकतन्त्र, समानता र सामाजिक न्याय, समानुपातिक समावेशीकरण, जातीय, वर्गीय र लैङ्गिक समानताको पक्षमा दरो गरी उभिन सक्नु पर्दछ ।
सताब्दियौं देखि निरन्तर रहँदै आएको राजनीतिक सामन्ती संस्कृति, संस्कार र चिन्तनका अवशेषहरुलाई परित्याग गरी लोकतान्त्रिक संस्कृति, चरित्र र व्यवहार देखाउन सक्नु पर्दछ । अनि मात्र क्रान्तिका अधुरा लक्ष्यहरु प्राप्त गर्न सकिन्छ । राजनीतिक दलका नेतृत्व वर्गले सामन्ति संस्कृति र संस्कारका अवशेषहरुलाई परित्याग गरे पछि मात्र मुलुकलाई आधुनिकिकरण गरी समाजिक –आर्थिक परिवर्तनका साथै सामाजिक – आर्थिक पछ्यौटेपनलाई अन्त्य गर्न सकिन्छ ।