सबाल नाका सुचारुको

कोरोना भाइरसको संक्रमण रोक्न भनि सरकारले भारतीय सीमा नाकालाई सिल गरेको निकै समय बिति सकेको छ । लकडाउनका समयमा नै नाका सिल गरिएको थियो । अहिले लकडाउन र निषेधाज्ञा समेत हटिसकेका छन् भने अधिकांश क्षेत्र सुचारु भईसकेका छन् ।

कोरोना संक्रमण नियन्त्रणकालागि गरिएको बन्दाबन्दी लम्ब्याएर मात्र समस्याको निकास नआउने रहेछ, बरु लामो बन्दीका कारणले आर्थिक संकट निम्त्याउने, बेरोजगारी बढाउने, लगानी डुब्ने जस्ता संकट थपिने भएका कारणले संक्रमणबाट जोगिनकालागि सुरक्षा साबधानीका साथ आफ्ना गतिबिधि सुचारु बनाउँदै लैजानु उत्तम भन्दै अहिले धेरै क्षेत्र खुला भईसकेका छन् ।

यति बेला कोरोना संक्रमणको जोखिम त कायमै छ । तथापि बन्दाबन्दीको बेला जस्तो आर्थिक गतिबिधि ठप्प चाहिँ छैन । सरकारले भारतीय सीमा नाका बन्दाबन्दीकै बेलामा सिल गरेको भए पनि अहिलेसम्म त्यसलाई खुला गरेको घोषणा चाहिँ भएको छैन ।

नाकामा सिल गरेको भनिए पनि वारीपारीबाट आवतजावत चालु नै छ । सिल गरिएको कारणले रोकिएको चाहिँ सवारी साधनको आवागमन मात्रै हो । नेपाल भारतमा भन्सार तिरेर एक अर्का मुलुकमा गाडीको आवतजावत गर्ने परम्परा नयाँ होईन । तर, सिल गरिएको नाममा ती सवारी साधन रोकिन पुगेका कारण एकातिर मानिसले हैरानी उठाउनु परेको छ भने अर्कोतिर राजस्व संकलनमा पनि यसले प्रतिकूलता ल्याएको छ ।

कोरोना संक्रमण नियन्त्रणकालागि नाका सिल गरिएको हो भने त मानिसको आवागमन रोक्न जरुरी थियो । तर, अचेल मानिसको आवागमन चालु नै छ भने रोकिएका छन् त केवल सवारी साधन । कोरोना व्यक्ति व्यक्तिको सम्पर्कबाट सर्ने हो गाडीबाट होईन ।

जब मानिस आवागमन गरि नै रहेका छन् भने गाडीलाई मात्र प्रबेश रोकेर कोरोना कसरी नियन्त्रण होला ? प्रश्न उठ्नुलाई अस्वाभाविक भन्न मिल्दैन । बरु सवारी साधन आउन रोकेका कारण भन्सार नतिरीकन मालसामान ओसारपसार बढेको र यसले राजस्व संकलनमा घाटा पुगिरहेको सरोकारवालाहरुको भनाई छ ।

यति बेला गहुँ बाली लगाउने सिजन भएका कारण धेरै किसानले भारतबाट रसायनिक मल ल्याएर नेपाल तर्फ खेति गर्ने गरेका छन् । सरकारले रसायनिक मलको आयात अहिलेसम्म नगरेका कारण यसपालि पनि गहुँबालीकालागि भारतबाटै मल ल्याउनुको विकल्प नहोला ।

यस्तो बेलामा नाकामा सिल कायमै राख्ने हो भने यसले परोक्ष रुपमा नेपाली किसानलाई नै थप समस्या निम्तिने अवस्था छ । मंसीर महिना भएका कारणले भारत नेपालका बरबधु पक्षका वीच हुने गरेको बिहेबारी पनि अहिले कायम रहेको नाका सिलका कारणबाट प्रभावित नहोला भन्न सकिन्न ।

सवारी साधन रोकेर समग्रमा सर्वसाधारणले कष्ट उठाउनु पर्ने अवस्था नै विद्यमान देखिन्छ । अत्यावश्यक कामकालागि नेपाल तथा भारत दुबै देशका जनताले आआफ्नो सवारी साधन लिएर पनि आवतजावत गर्ने गरेको अवस्थामा अहिले त्यसमा रोक लगाइँदा थप झण्झट आउनु स्वाभाविकै हो । जनताका यस्ता समस्याका विषयमा सरकारले समयसापेक्ष नीति तय गर्न जरुरी छ ।

Author:



क्याटोगरी छान्‍नुहोस