आफ्नो बाँसुरी आफ्नै ताल

लामो समयदेखि मुलुकमा सरकार बन्ने र खस्ने खेल चलेका कारण राजनीतिक अस्थिरता हावी थियो । धेरै समयपछि मुलुकमा स्पष्ट बहुमतको सरकार बनेका कारण अब त विगतको जस्तो सरकार बन्ने र नौ नौ महिनामा परिवर्तन हुने खेल बन्द होला अनि राजनीतिक स्थिरता आउला भन्ने जनतामा ठूलो भरोशा थियो । तर, यस पटक पनि फेरि उस्तै भयो ।

पाँच वर्षकालागि जनताले बहुमतका साथ नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई सरकारको नेतृत्वमा पठाए । तर, सोही दलभित्र अहिले उत्पन्न विग्रहका कारण समय अगाबै मुलुकलाई फेरि निर्वाचनमा धकेल्ने नाममा प्रतिनिधिसभा विघटन गरिएको छ ।

प्रधानमन्त्रीले संविधानमा व्यवस्था नरहेपनि प्रतिनिधिसभा बिघटन गरेको भन्दै नेकपाकै एक पक्ष यति बेला आन्दोलनमा होमिएको छ । यस कदमका विरुद्ध केही अन्य दलहरु पनि अहिले बिरोधका कार्यक्रमका साथ अघि आउन थालेका छन् ।

उता प्रधानमन्त्रीले भने आफ्नै दलभित्रका केही नेताले बारम्बार समस्या खडा गरी सरकारलाई काम गर्न नदिएको बताउँदै आएका छन् । उनले फलानोलाई नियुक्त गर्नु पर्ने भन्दै जायज–नाजायज दवाव दिएको तर आफूले त्यसो नगर्न चाहेपछि अनेक थरिका बखेडा झिकेर काममा बाधा दिने गरेको आरोप समेत लगाएका छन् ।

आफ्नै पार्टीभित्रकै केही नेताले काममा पुर्याएको अवरोधका कारण काम गर्न सक्ने अवस्था नरहेपछि बाध्य भएर ताजा जनादेशमा जानु परेको उनको स्पष्टोक्ति छ । आफूले अन्य विकल्प नरहेपछि जनता जनार्दनको जनादेशकालागि जाने निर्णय गरेका कारण आगामी निर्वाचनको तयारीमा लाग्नु नै सान्दर्भिक हुने प्रधानमन्त्रीको कथन आउन थालेको छ ।

पाँच वर्षकालागि जनताले सरकार चलाउन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) लाई म्याण्डेट दिएर सत्तामा पठाए । धेरै लामो समयको अन्तरालपछि यसरी बहुमतका साथ सरकार गठन भएपछि सरकारले पनि जनसरोकारका सबालमा काम गर्ला भन्ने जनतामा विश्वास बढेको थियो ।

सरकार गठनको दुई वर्ष मात्र बितेपछि आफ्नै पार्टीभित्र किचलो बढ्न थाल्यो । पदको भागबण्डादेखि नियुक्तिका सबालमा समेत विवाद बढ्न थालेपछि सरकार जनताका समस्या समाधानकालागि काम गर्नेतिर भन्दा पनि आफूभित्रकै झगडामा बढी समय बिताउन थाल्यो, जसका कारणले जनतामा निराशा बढ्दै गएको कुरा जगजाहेर छ ।

अहिले पार्टीमा देखा परेको विग्रहका कारण अघोषित रुपले सत्तारुढ नेकपा करिब–करिब विभाजनको चरणमै पुगिसकेको छ । यसै गरी सरकारले पनि कोरोनाको कहर लगायत अन्य समस्याका वीच पनि काम गर्न नसकेको अवस्था विद्यमान छ ।

सरकारले काम गर्न नसकेको सत्ताधारीकै एक पक्ष नै अहिले टिकाटिप्पणीमा उत्रेको छ भने सरकार पक्षले चाहिँ आरोप लगाउने साथीहरुकै कारणले सरकारले काम गर्न नसकिरहेको बताएर आफ्नो टाउको जोगाउने ध्याउन्नमा छन् ।

जनताले निर्वाचनका समयमा यिनै नेताहरुका आश्वासन तथा प्रतिवद्धताका आधारमा बहुमतका साथ नेकपालाई सत्तामा पठाएका कारण सरकारले किन काम गर्न नसकेको हो भन्ने तर्क सुन्ने मुडमा छैनन् ।

यदि काम गर्न सकेको भए सिंगो नेकपालाई त्यसको जस जाने थियो । अहिले काम गर्न नसकेको तथा अन्य कमी कमजोरीको भागिदारी पनि यही पार्टीका नेता तथा सरकारमा सहभागीहरुले नै लिनु पर्नेमा विमति नहोला । काम गर्न नसकेको कारण जेसुकै भए पनि जनताले त परिणाम चाहेका हुन् । एक अर्कामाथिको आरोप लगाएर जनतालाई सुनाउनु भनेको उनीहरुकालागि बेतुकको तर्क मात्र नहोला भन्न सकिन्न ।

Author:



क्याटोगरी छान्‍नुहोस