शिवरात्रि : उपासना र उत्सव

सन्तोष कुमार चौधरी
आज शिवरात्रि, शिव र सतीको विवाहको रात्रि । शिव र पार्वतीको विवाहको रात्रि । दुईटा विवाह सर्वथा अस्वीकार्य हुन्छ तर शिवरात्रिमा अन्तर्निहित ती दुई विवाहका दुखान्त र सुखान्त घटनाहरू जीवनको महान उत्सव बनेको छ, शिवरात्रिको रूपमा । शिवरात्रि अर्थात् यो महान पर्व पूजीत छ, आराध्य छ, उपास्य छ ।

शिव समग्र हो र सती त्यसभित्रको क्रिया, प्रतिक्रिया । त्यस्तै शिव पुरुषार्थ हो र पार्वती सौन्दर्य । अर्धनारीश्वर, अर्धाङ्ग । पदार्थ र चेतना । आध्यात्म र भौतिकी । गोचर–अगोचर । अणु पनि, पूर्णत्व पनि । ॐ पूर्णमद् पूर्णमिंद…..। भौतिकी वा भूत । भूतभित्रको भौतिकी नै आध्यात्म हो । एक सिक्का दो पाट । शिव कोरा आध्यात्मिक तर्क होइन । शिवपुराणको भाष्य तर्क होइन । द्वादश ज्योर्तिलिङ्ग ब्रह्माण्डीय र मानवीय गाथाहरू हुन् । शिव महातत्व हो, जो मानवीय जीवनको चारवटै युगमा पथप्रदर्शकको रूपमा देखा पर्दछ ।

त्रेतामा शिव हनुमानको अवतारमा पनि देखिन्छन् । शिवको महिमा साँच्चिकै सार्वभौम, विशाल र महान छ । शिव संहारतत्व हो । सृष्टि संहारको रूपान्तरण हो, संहार सृष्टिको रूपान्तरण होइन । त्यसैले शिव परब्रह्म हो, ‘गुरुर्ब्रह्मा, गुरुर्विष्णु, गुरुर्देवो महेश्वर…. ।’

सामाजिक जीवनमा पनि यो सूत्र चरितार्थ छ । शिवमा व्यक्तित्व छ । चर, अचर सबैमा शिवांश (जीवांश) छ । गति छ, दुर्गति छ । जीवनका क्षण क्षण पैदा हुने गति र दुर्गतिका अनुभूतिहरू नै प्रकारान्तरमा आस्था, निष्ठा र विश्वास हो । शिव–सती विवाहमा मिलन र बिछोडको अनुभूति छ । योग र वियोगका परिदृश्यहरू छन् ।

मध्यदेशीय संस्कृतिमा विवाहको विशिष्ट परम्परा छ । मध्यदेशीय वैवाहिक संस्कृति अनुपम र अद्वितीय छ । यो संसारको सबै वैवाहिक संस्कृति, रिति, परम्परा, प्रथाहरूको तुलनामा सबैभन्दा ठूलो आकारको छ । अतुलनीय छ । रात्रिमा विवाहको मुहुर्त शिवरात्रिकै अनुकरण हो । शिवरात्रि द्वन्द्व र प्रेमको समुच्य हो ।

दक्ष र शिवबीचको द्वन्द्वको अन्त्य कसरी हुन्छ ? सतीको आत्मसंहार, दक्षवध, शिवको युगान्तकारी मुर्छा अर्थात् सत्यानाशबाट हुन्छ । तर शिव र पार्वतीको विवाह आफैंमा युगस्रष्टा हो । आमा, बाबु, छोरा, बुहारी, छोरी, ज्वाइँ सारा सांसारिक व्यवहार हो । मूल रूपमा शिवरात्रि मानिसको सांसारिक चरित्र र सन्देश हो ।

शिव चरित्र अवर्णनीय गाथा हो । यो एकैपटक तीन सय साठी डिग्रीमा उदीयमान छ । उज्जैनका काल भैरव मदिरापान गर्छन् । विषपानको प्रतीकको रूपमा यहाँ कालभैरवलाई भक्तजनले मदिरा पिलाउँछन् । सखडा शक्तिपीठमा पनि मदिरा अर्पित गरिन्छ । तर उज्जैनको कालभैरव साँच्चिकै मदिरा पान गर्दछन् । कालभैरवले मदिरापान गरेको दृश्य मानिसमा अन्त्यसमयसम्म उत्कण्ठाको रूपमा रहिरहन्छ । पाषाणले घटाघट मदिरा कसरी पिउन सक्दछ ? पिउँछ, तर त्यो बगेर जान्छ कता ? कुरा रहस्यमय छ, पत्ता लगाउन सकिएको छैन । यसलाई तिलस्मी नै मान्नु पर्छ । तर मानो तो देव नहीं तो पत्थर । यो चमत्कार हो भने यो कुन चाहीँ ठूलो चमत्कार हो । किनभने ब्रह्माण्डीय चमत्कारिक चक्रमा यो त के हो ?

शिवरात्रिको मूल्य यसको सांस्कृतिक चर्या हो । भक्तजनले भगवतीको विशेष आराधनाका लागि वर्षको चार नवरात्रा आहुत छन् तर शिवरात्रि एक प्रकारले शिव दिवस हो । शिव विवाह अर्थात शिव पार्वती विवाह मध्यदेशीय विवाह संस्कृतिको केन्द्र हो । संरक्षित सांस्कृतिक ग्रन्थ र काव्य हो । शिवरात्रिको मूल्य प्रेम हो । दाम्पत्य प्रेम । शिव पार्वतीको विवाह गाथामा पार्वतीको जन्म र शिवलाई प्राप्त गर्न उनले गरेको तपस्या महत्वपूर्ण छ । परिवारको निर्माणको धुरी नारी हो । त्यसैले मध्यदेशीय संस्कृतिमा छोरा र छोरीका लागि पारिवारिक शिक्षा परिवारले पारम्परिक रूपमा प्रदान गर्दै आएको छ । शिव–पार्वतीका अन्यान्य रोचक प्रसंगहरूले निश्चय नै मानिसको जीवनलाई पूर्ण रोमाञ्चित बनाई दिने गर्दछ । शिवरात्रि उत्सव पनि हो र उपासना पनि हो ।

Author:



क्याटोगरी छान्‍नुहोस