यस्ता छन् पूर्वका ठूला खानेपानी आयोजनाहरु

खानेपानी परियोजनाका विभिन्न मोडलहरुमध्ये उपभोक्ता समितिको व्यवस्थापनमा पानी आपूर्ती गर्ने प्रचलन पूर्वि तराईमा बढी प्रचलित छ । २०५० को दशकपछि पूर्वी नेपालमा खानेपानी आयोजनाहरु सञ्चालन हुन थालेका हुन् ।

यी खानेपानी आयोजनाहरुले स्वच्छ खानेपानी वितरण गर्नुका साथै स्वच्छ खानेपानी खानुपर्छ भनेर उपभोक्ताहरुमा सचेतनासमेत विस्तार गरे । जनसंख्या, शहरीकरणसँगै ती खानेपानी आयोजनाको संस्थागत विकास भएको छ । त्यसमा पनि व्यवस्थापन समितिको व्यवस्थापकीय क्षमताका कारण केही आयोजनाहरु देशमै उदाहरणीय बनेका छन् । ती सबै मध्ये इटहरी खानेपानी अगाडी छ ।

ठूलो ग्राहक संख्या, नियमित खानेपानी आपूर्ती, चौबिसै घण्टा, ३६५ दिन कार्यालय सञ्चालन, सुशासन तथा पारदर्शीताको लागि आधुनिक प्रविधिको प्रयोग तथा नियमित सुपरिवेक्षण, नयाँ प्रविधिको आविष्कार र प्रयोग जस्ता विशेषताहरुको कारण इटहरी खानेपानी पूर्वकै सबैभन्दा ठूलो र व्यवस्थित खानेपानी आयोजना बनेको छ ।

त्यसैले यहाँ देशभरका खानेपानी आयोजनाहरुबाट प्रतिनिधिहरु अवलोकन भ्रमणमा समेत आउने गर्छन् । पूर्वका छ वटा खानेपानी उपभोक्ता संस्थाको सुरुवातदेखि हालसम्मको अवस्थालाई अध्ययन गरी यहाँ प्रस्तुत गरिएको छ:

मानगढ खानेपानी आयोजना, मोरङ

मोरङको विराटनगरस्थित उपभोक्ता समितिबाट सञ्चालित खानेपानी संस्था हो, विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था मानगढ खानेपानी आयोजना । वि.सं. २०५६ सालमा स्थानीयकै अगुवाईमा ६९ हजार लागतबाट सुरु भएको यो आयोजनाले ६२ सालदेखि पानी वितरण सुरु गर्याे ।

विराटनगर महानगरपालिकाको वडा नम्बर १,३,४ उत्तरी क्षेत्र र वडा नम्बर १९ त्यस्तै बुढीगंगा गाउँपालिकाको वडा नम्बर १ का उपभोक्तालाई पानी वितरण गर्दै आएको छ । यस खानेपानी समितिले ८ हजार ६ सय ७९ घर धुरीका ७७ हजार ७ सय ६८ जनसंख्यालाई पानी वितरण गर्दै आएको छ ।

५ ओटा ओभरहेड ट्याकींबाट दैनिक ३८ लाख लिटर पानी उत्पादन भइ ३५ लाख लिटर पानी वितरण भइरहेको छ । उपभोक्ता समितिका अध्यक्ष रामबहादुर घिमिरे स्थापना कालदेखि नै अध्यक्षको रुपमा छन् । उनका अनुसार सन् २०१४ सम्मको जनसंख्यालाई पुग्ने गरि निर्माण गरिएको भएपनि जनसंख्या तिब्र गतीमा बढेपछि सन् २००८ मा आयोजना विस्तारको आवश्यकता महसुस गरिएको थियो । त्यसपछि सन् २०४० सम्मको जनसंख्यालाई ध्यानमा राखेर २४ सैं घण्टा पानी वितरण गर्ने गरी कार्य भईरहेको अध्यक्ष घिमिरेको दाबी छ ।

सेवा सुबिधा कुनै कमी भए तत्कालै सम्बोधन गर्ने गरी कार्य सम्पादन अहिलेको चुनौती रहेकाले सो सम्बन्धमा पनि विभिन्न टोलीबाट सेवा सुविधामा कमि नहुने गरी कार्य गर्ने उनले बताए । प्रतिदिन प्रतिब्यक्ति १२० लिटर पानी वितरण गर्ने लक्ष्य राखिएको साथै नेपाल सरकार सँग मिलेर आयोजनाको काम बढाउने विषयमा पनि काम भईरहेको अध्यक्ष घिमिरेले जानकारी दिए ।

बिर्तामोड साना सहरी खानेपानी संस्था, झापा

झापाको बिर्तामोड साना सहरी .खानेपानी आयोजना वि.सं. २०५१ सालमा स्थापना भएको थियो । करिब ७ हजार ५ सय घरलाई २४ सैं घण्टा पानी वितरण गर्दै आएको आयोजनाअन्तर्गत ३ वटा ट्याङ्गकी छन् ।

विर्तामोड नगरपालिकाका २ वटा वडा बाहेक ८ ओटा र अजुर्नधारा नगरपालिकाको ३ वटा वडाका उपभोक्तालाई पानी वितरण गर्दै आएको संस्थाको मासिक आम्दानी ४० लाख रहेको छ । अध्यक्ष जलकुमार गुरुङका अनुसार अहिलेको सेवालाई नै टिकाउने, पर्याप्त, शुद्ध खानेपानी वितरण गर्ने योजना रहेको छ । बिर्तामोडका सबै वडा र ग्राहकलाई पानी पुर्याउन संस्था लागिपरेको बताए ।

सुरुङ्गा खानेपानी संस्था, झापा

छोटो समयमा छिटो प्रगति गर्ने खानेपानी संस्थाको रुपमा झापाको कनकाई नगरपालिकामा रहेको सुरुङ्गा खानेपानी आयोजना चिनिन्छ । वि.सं. २०५८ सालदेखि काम सुरु गरी २०६४ सालदेखि पानी बितरण गरेको संस्थाले चार हजार धारा जडान गरिसकेको छ ।

४ लाख ५० हजार लिटर पानीले कन्काई नगरपालिकाका २,३,४ वडाका उपभोक्तालाई २४ सैं घण्टा पानी वितरण गर्दै आएको छ । स्थापना कालमा सहयोगी संस्थाहरुबाट ऋण लिएर काम गरेपनि अहिले संस्थाले सबै ऋण चुक्ता गरिसकेको छ । मासिक आाम्दानी हाल १५ लाख रुपैया रहेको छ भने करिब ५० प्रतिशत बचत हुने गरेको संस्थाका कर्मचारी नारायण प्रसाद नेपालको दाबी छ ।

यस संस्थाले वार्षिक १ करोड रुपैया बचत गर्दै आएको छ, जुन रकम जम्मा गर्दै गएर खानेपानी विस्तारको लागि प्रयोग गर्ने योजना छ । उक्त संस्थाको महशुल उपभोक्ताहरुले इ सेवाबाट तिर्न सक्छन् । केही वर्ष भित्रमा एक ओभर हेड ट्याङकी राख्ने साथै अहिलेको सेवालाई तिब्र विस्तार गरि सफा, शुद्ध पानी सबै घरधुरीमा पुर्याउने योजना संस्थाले बनाएको छ ।

दमक खानेपानी संस्था, झापा

२०५१ सालमा स्थापना भएको दमक खानेपानी संस्थाले १० हजार बढी घरधुरीलाई पानी वितरण गर्दै आएको छ । २२ हजार ४ सय ४२ घरधुरी र ८६ हजार ८ सय ९० कुल जनसंख्या रहेको दमकमा आफ्नो कार्यक्षेत्रका करिब ६६ प्रतिशत जनसंख्यालाई आयोजनाले पानी वितरण गर्न सकेको छ ।

चार लाख ५० हजार लिटर क्षमताका ३ ओटा ट्याङ्कीले दैनिक १३ लाख ५० हजार लिटर पानी २४ सैं घण्टा वितरण गर्दै आएको कार्यालयका व्यवस्थापक (इन्जिनियर) कृष्ण थापा बताउँछन् ।
आर्थिक वर्ष २०७६/७७ मा झण्डै साढे ६ करोड आम्दानी गरेको संस्थाको मासिक आम्दानी २० देखि २५ लाखसम्म छ । जससमा ४० प्रतिशत बचत हुने गरेको छ ।

उपभोक्ताले महशुल तिर्नका लागि इसेवाको सहयोग लिन सक्छन् । संस्थाले आगामी दिनमा उपभोक्तालाई सहज, सरल रुपमा खानेपानीको अझ ब्यबस्थापन गर्ने जनाएको छ । त्यस्तै अन्य ग्राहक पनि बढाउँदै सेवा विस्तारलाई तिब्रता दिने योजना रहेको छ ।

इन्द्रपुर साना शहरी खानेपानी संस्था, मोरङ

मोरङको विराटचोकमा रहेको इन्द्रपुर साना शहरी खानेपानी संस्थाले ७२ सालदेखि खानेपानी वितरण गर्न थालेको हो । स्थापना कालदेखि नै सफल योजनाको रुपमा रहेको संस्थाले हाल सुन्दरहरैंचा नगरपालिकाका ९,१०,११,१२ वडाका ६ हजार बढी घरधुरीमा पानी पुर्याउदैं आएको छ ।

एउटा ओभर हेड ट्याङ्की र अन्य दुई वटा रिजर्भ ट्याङ्की निर्माण गरिएको छ । उपभोक्तालाई सहज होस् भन्ने उद्देश्यले दैनिक ४ लाख ५० हजार लिटर पानी उत्पादन गरी २४ सैं घण्टा वितरण गर्दै आएको संस्थाकी ब्यबस्थापक सुजता चौंलागाईले जानकारी दिइन् ।

मासिक १५ लाख रुपैया आम्दानी र ८ लाख रुपैया बचत हुने गरेको छ । स्थापना कालमा नगर विकास कोष १२ करोड रुपैंया ऋण लिएकोमा अबको १० वर्षमा सबै ऋण चुक्ता गर्ने लक्ष्य लिएको छ ।

इटहरी खानेपानी उपभोक्ता संस्था, सुनसरी

प्रदेश १ कै नमुना, सफल तथा धेरै जनसंख्यालाई खानेपानी वितरण गर्दै आएको खानेपानी संस्था हो, इटहरी खानेपानी उपभोक्ता संस्था । वि.सं. २०५० सालबाट काम सुरु गरेको संस्थाले २०५३ साल देखि खानेपानी वितरण सुरु गरेको थियो । सुरुवातमा १२ सय घरधुरीका करिब २० हजार जनसंख्यालाई पानी वितरण गर्ने लक्ष्य राखेको भएपछि जनसंख्या वृद्धिका कारण छिटो छिटो विस्तार गर्नुपरेको थियो ।

२०६१ सालदेखि संस्थाको अध्यक्षको जिम्मेवारी रामप्रसाद चौलागाईले सम्हालेपछि खानेपानी आयोजना विस्तार र व्यवस्थापनले तीव्रता पाएको हो । त्यसमा पनि दक्ष कर्मचारी तथा व्यवस्थापन समितिका सदस्यहरुको कुशल नेतृत्वका कारण यो आयोजना पूर्वकै ठूलो र व्यवस्थित आयोजना बनेको छ ।

चार लाख ५० हजार लिटर क्षमताका २ वटा ओभर हेड ट्याङ्की लगायत भौतिक संरचना निर्माणबाट हालको अबस्थामा १८ हजार ४ सय ३० निजी धाराबाट करिब १ लाख जनसंख्याले पानी पिउँदै आएका छन् । यस संस्थाले इटहरी उपमहानगरपालिका भित्रका २ नम्बर वडा देखि ९ सम्म सबै उपभोक्ता त्यस्तै १,१०,१४,१६,१७ र २० का केही भागमा पानी वितरण गर्दै आएको छ ।

संस्थाले चालु आार्थिक वर्ष देखि माघ महिना सम्मको मासिक महशुल शुल्क, मर्मत शुल्क लगायत अन्य गरेर ५ करोड ७८ लाख रुपैया आम्दानी गरेको छ भने ३ करोड ४५ लाख रुपैया खर्च गरेको छ । उपभोक्तालाई सहज हुने उद्धेश्यले इसेवा, खल्ती एप लगायत विद्युतिय माध्यमबाट महशुल तिर्ने ब्यबस्था छ । संस्थाको वार्षिक आय ९ करोड रुपैयाभन्दा बढी छ ।

संस्थाले आगामी दिनमा उपभोक्ताको मागलाई सम्बोधन गर्ने उद्धेश्यले इटहरीका सबै वडामा पानी पुर्याउने लक्ष्य राखेको छ । साथै २४ सैं घण्टा पानी वितरण गर्ने गरी कार्ययोजना समेत अघि सारिसकेको संस्थाका अध्यक्ष चौलागाईले जानकारी दिए ।

धेरै धारा, न्युन शुल्क


माथिको आकँडालाई हेर्दा कर्मचारी संख्यामा इटहरी खानेपानी औसत स्थानमा छ । १० हजार बढी उपभोक्ता रहेको दमक खानेपानी योजनामा काम गर्ने कर्मचारी २० जना मात्रै छन् । यो भनेको प्रति ५०९ धारा बराबर एक जना कर्मचारी हो । यता इटहरी खानेपानी संस्थाको भने १८ हजार उपभोक्ता हुँदा ५० जना रहेको तथ्याङ्कले जनाउँछ । यो भनेको ३६० धारा बराबर एक जना कर्मचारी हो । तुलनात्मक रुपमा बढी कर्मचारी विराटनगरको खानेपानी आयोजनामा रहेको देखिन्छ । यहाँ १७२ धारा बराबर एक जना कर्मचारी छन् ।

यस्तै यीमध्ये सबैभन्दा सस्तो खानेपानी इटहरी खानेपानीले उपलब्ध गराएको देखिन्छ । इटहरी खानेपानीमा न्युनतम १० युनिट पानीको लागि १०० रुपैया तिर्नुपर्छ । यो भनेको १० रुपैया प्रति युनिट हो । जबकी अन्य खानेपानी आयोजनाहरुले आफ्ना उपभोक्तासँग न्युनतम युनिटको लागि १५ देखि ३२ रुपैयासम्म शुल्क लिइरहेका छन् ।

नयाँ धारा जडान गर्दा इन्द्रपुर खानेपानीले सबैभन्दा थोरै शुल्क लिएको देखिन्छ । जबकी विराटनगरवासीले बढी शुल्क तिर्नुपरेको छ । इटहरी खानेपानीको भने तुलनात्मक रुपमा औसत मूल्यमा धारा जडान हुने गरेको पाइएको छ । धारा संख्यामा इटहरी सबैभन्दा अगाडि देखिएको छ । इटहरीमा १८ हजार बढि धाराहरु छन् भने अन्यमा इटहरीभन्दा निकै कम धारा संख्या छन् । प्रविधि प्रयोग देखी चुस्ततामा भने इटहरी सबैभन्दा अब्बल देखिएको छ । डिजिटल पेमेन्ट देखी पाइलाइनको मर्मत तथा पुनप्रयोगमा इटहरी अरु आयोजना भन्दा राम्रो देखिन्छ ।

Author:



क्याटोगरी छान्‍नुहोस